• ६ जेठ २०८१, आइतबार

लमी बन्न थाल्यो एआई

blog

अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग सर्वव्यापी बनिरहेको छ । हुँदा हुँदा एआईले युवकयुवतीलाई जीवनसाथी खोजिदिने काम पनि गर्न थालेको छ । एक जना २३ वर्षीय रुसी युवकले एआईको सहयोगमा जीवनसाथी फेला पारेका छन् । पेसाले सफ्टवेयर डेभलपर रहेका अलेक्जेन्डर झाडाले अनलाइन डेटिङमा सहयोग गर्ने एआईको प्रयोग गरेरै आफ्ना लागि बेहुली खोजेका हुन् ।

सोसल साइट टिन्डरमा रहेका पाँच हजारभन्दा धेरै युवतीको सूचीलाई फिल्टर गरेर आफ्ना लागि उपयुक्त र मनपर्ने युवती खोज्नका लागि उनले च्याट जिपिटी तथा अन्य एआई बोटको प्रयोग गरे । अन्ततः एआईले करिना इमरानोभा जीवनसाथी बन्नका लागि उपयुक्त पात्र भएको भनेर उनलाई सिफारिस गर्‍यो ।

अलेक्जेन्डरले सोहीबमोजिम करिनासँग बिहेको प्रस्ताव गरे र उनले स्वीकार गरिन् तर यति भइसक्दा पनि करिनालाई आफूहरूको प्रेम सम्बन्धमा एआईले निर्वाह गरेको भूमिकाका बारेमा थाहा थिएन । उनीहरूले सम्बन्धित सरकारी कार्यालयमा बिहे दर्ताका लागि निवेदन पेस गरिसकेपछि मात्रै उनलाई सो कुरा थाहा भयो ।