• १३ साउन २०८१, आइतबार

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

बेलिना थापा

लमजुङ, बैशाख ८ गते । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन प्रक्रिया अघि बढाउन बिहीबार जिल्ला समन्वय समिति लमजुङको भवनमा कार्यालय स्थापना गरिएको हो ।

भवनको एउटा कोठामा कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताउनुभयो । उहाँकाअनुसार बोर्ड राखेर कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत लमजुङका जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बोर्ड पढेर कार्यालयको सुभारम्भ गर्नुभयो । अब कार्यालयबाट नियमित दैनिक रुपमा चुनावी कार्यक्रमका लागि काम थाल्ने उहाँले बताउनुभयो । 

कार्यालयमा मुख्य निर्वाचन अधिकृत एक जना, सहायक निर्वाचन अधिकृत एक जना, लेखापाल वा लेखा अधिकृत एक जना, सहायक कर्मचारी एक जना, कम्प्युटर अपरेटर एक जना, कार्यालय सहयोगी एक जना, चालक एक जना, सुरक्षाकर्मी एक जना गरी नौ जना कर्मचारी रहनेछन् । कर्मचारीलाई नियुक्तीको प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाभरको निर्वाचन क्रियाकलापको समन्वय गर्नेछ । यस्तै, बेंसीशहर नगरपालिकाको निर्वाचनलाई लक्षित गरेर काम गर्ने सो कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै अन्य ७ वटा पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 अन्य पालिकामा निर्वाचन अधिृकत एक जना, सहायक निर्वाचन अधिकृत एक जना, लेखापाल वा लेखा अधिकृत एक जना, सहायक कर्मचारी एक जना, कम्प्युटर अपरेटर एक जना, कार्यालय सहयोगी दुई जना, चालक एक जना, सुरक्षाकर्मी एक जनागरी नौ जना कर्मचारी खटिनेछन् ।

 निर्वाचन कार्यालयकाअनुसार निर्वाचन अधिकृतको कार्यालयमा बैशाख ११ गते विहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्य हुनेछ । बैशाख १२ गते बेलुका ५ बजेदेखि ६ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन गर्ने, बैशाख १३ गते विहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, बैशाख १४ गते विहान १० बजेबाट बैशाख १५ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र जाँच गर्ने र उजुरीउपर जाँचबुझ गरी निर्णय गरिने जनाएको छ ।

 बैशाख १५ गते बेलुका ५ बजेदेखि ६ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, बैशाख १६ गते विहान १० बजेदेखि बुलका ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने, बैशाख १६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

 त्यस्तै, बैशाख १७ गते विहान १० बजेदेखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । बैशाख ३० गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान कार्य हुने सो कार्यालयले जनाएको छ ।

 निर्वाचनको मौन अवधि मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि बैशाख २७ गते राति १२ बजेबाट लागू हुनेछ । प्रत्येक मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतले सुरक्षित रुपमा प्राप्त गरेपछि मतगणना कार्य सुरु गर्नु पर्नेछ । मतगणना कार्य समाप्त भएपछि निर्वाचन अधिकृतले तत्काल निर्वाचन परिणाम घोषणा गर्नुपर्नेछ ।