• १३ साउन २०८१, आइतबार

तोकिएको समयमा नै निर्वाचन हुन्छ : प्रचण्ड

blog

अविनाश चौधरी

धनगढी, वैशाख ८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । 

प्रेस सेन्टर कैलालीले आज (बिहीबार) धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको हो । गठबन्धनले चुनाव सार्छन् कि भनेर कतिपयले हल्ला चलाएको उल्लेख गर्दै उहाँले चुनाव नसर्ने र तोकिएको मितिमै हुने बताउनुभयो । 

‘हिजोमात्रै देशभरिकै सबै नगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ’, प्रचण्डले भन्नुभयो । ‘अब त केही कन्फ्युजन छैन नि ?’ स्थानीय तहको निर्वाचनबाट लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउन आवश्यक रहेको उहाँको भनाइ थियो । प्रचण्डले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाइने बताउनुभयो । 

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने वा नदिने विषयमा वैशाख १३ पछिमात्रै टुङ्गो लाग्ने बताउनुभयो । गभर्नर हटाइएको विषयमा अदालतले दुवै पक्षलाई १३ गते बोलाएको प्रचण्डको भनाइ थियो । 

कैलालीको गौरीगङ्गा नगरपालिकामा माओवादीले आज आयोजना गरेको सभालाई सम्बोधन गर्न प्रचण्ड कैलाली पुग्नुभएको हो ।