• १२ पुस २०८१, शुक्रबार

हर्कबहादुरको भूत (कथा)

blog

धेरै युवायुवतीहरूको भिडभाड चिर्दै पार्किङ क्षेत्रमा पुगेर कार पार्क गरेर ढोका खोल्नेबित्तिकै अञ्जलीप्रसादको आँखा एक अर्धबैँसे व्यक्तिमा प-यो, जो अञ्जलीप्रसादलाई नै स्वागत गरिरहे झैँ भान हुन्थ्यो । नभन्दै त्यो अर्धबैँसे हात जोडेर नमस्कार गरिरहेको थियो । 

“महाशय ! तपाईंलाई त ठम्म्याउन सकिनँ नि ?”

“म अगिदेखि तपाईंकै पछाडि हिँडिरहेको छु । बोल्न खोजेँ तर झ्यालको सिसा बन्द हुनाले सुन्नुहुन्न कि भनेर पछ्याइ मात्र रहेँ ।” हपरिचित व्यक्तिले हात जोडिरह्यो ।

अञ्जलीप्रसादले अझै चिन्न सकेन ।

“तपाईं अञ्जलीप्रसाद होइन ?” उसले जोडिएकै हातले इसारा गर्दै सोथ्यो ।

“हो म अञ्जलीप्रसाद नै हुँ । तर मैले तपाईंलाई चिन्न सकिन नि ? हुन त उमेरसँगै स्मरणशक्ति पनि कमजोर भइहाल्दोरहेछ । तपाईं कतै मेरो ठुलो छोरा अमनको साथी हो कि...?”

“होइन होइन... । एकछिन समय छ भने ...यसो भनौँ चिया खानलाई पैसा र समय छ भने सँगै बसेर कुरा गरौँ न, हुन्न र ? मसँग चियाको अफर गर्नलाई पनि पैसा छैन । त्यसैले पैसा र समय दुवै छ कि भनेर सोधेको । पचास रुपियाँ थियो, तपाईंसँग भेट्न टिकट काटेर भित्र छिरेको,” अपरिचित व्यक्तिले भन्यो ।

“हुन्छ, त्यहाँ ब्लड बैङ्क बाहिरपट्टि चिया पसल छ, त्यहाँ गएर कुरा गरौँ न, चिया खाँदै,” अपरिचित व्यक्तिको प्रस्ताव स्वीकार ग-यो अञ्जलीप्रसादले । 

“होइन, त्यहाँ अलि भिडभाड हुन्छ, बस्नलाई पनि राम्रो व्यवस्था छैन । बरु अन्त कतै जाऊँ, बसेर कुरा गरौँला, एकान्तमा,” अपरिति व्यक्तिले भन्यो ।

दुवै जना भृकुटीमण्डपको प्रदर्शनी मूलगेटबाट बाहिर निस्केर पुलती सडकतिर लागे ।

अञ्जलीप्रसाद मनभित्र अनेक कुरा खेलाउँदै अगाडि अगाडि हिँडिरहेको थियो भने अपरिचित व्यक्ति पछाडि पछाडि । अपरिचित व्यक्ति के सोचिरहेको थियो, केही भन्न सकिन्न । टुकुचा पुलनिर आएपछि अञ्जलीप्रसाद उभिएर पश्चिमतिरको तरकारी बजारतिर हेर्न थाल्यो । बजार लगभग सुनसान थियो । अञ्जलीप्रसाद उभिए नजिकै गएर अपरिचित व्यक्ति पनि उभियो र भन्यो, “यहाँ त पहिला खसी बजार थियो होइन हजुर ?” 

“हो, पहिला यो खसी बजार नै हो । तर सहरको बीचमा भएर यहाँबाट हटाइयो । अहिले कलङ्कीमा सारिएको छ । अब आजभोलिदेखि खुला हुन्छ । त्यसैले सबै खाली गरिएको होला । दसैँ तिहारमा मात्र खसी बेचिन्छ यहाँ । हेर्नुभएन, दुई चार जना व्यापारीले पेटीमै खसी राखेर बसेका ? अब बढ्दै जान्छ । म खसी किन्न प्रायः यतै आउँछु । छोराहरू त छैनन्, छोरी ज्वाइँहरू आउँछन् । उनीहरूका लागि मात्र, हामी बुढाबुढीले त माछामासु खान छोडेको पनि दस वर्ष भइसक्यो । उमेर ढल्केपछि त्यति राम्रो हुँदो रहेनछ,” यति भनेर अञ्जलीप्रसाद अगाडि बढ्यो ।

“काठमाडौँ त पहिलाभन्दा फरक भएछ, ठुला ठुला घरहरू, बाटो पनि धेरै फराकिलो,” अपरिचित व्यक्तिले भन्यो ।

“गाडीहरू पनि त कति धेरै छन् हेर्नु भएन ? बाटो चौडा गरियो, व्यवस्थित गर्न सकेका छैनन् । धुलो धुवाँले दम घुट्छ । स्थिर सरकार आउन सकेको छैन, आए पनि सबैलाई कमाउन मात्र ठिक्क हुन्छ ।  दुवै जना कुनातिरको टेबुलमा गएर बसे । 

“कुरै कुरामा बाटो काटियो, नढाँटीकन भनौ भने तपाईंलाई मैले साँच्चै चिन्न सकिन । तर तपाईं मलाई चिन्नुहुँदो रहेछ, खुसी लाग्यो । कृपा गरेर ...।”

अञ्जलीप्रसादको कुरा सकिन नपाउँदै अपरिचित व्यक्तिले बिचैमा सोध्यो, “दुई छोरा र दुई छोरी होइनन् र हजुरका ? के गर्दै छन् ?”

“हो, दुई वटै छोरा अमेरिकामा । यहाँ बसेर पो के गर्नु ? यहाँको अवस्था त तपाईंले देख्नुभएकै छ । जेठो छोरा अमन इन्जिनियरिङ सकेर उता फर्दर स्टडी गर्न गएको उतै सेटल भयो । त्यसपछि कान्छो अमित पनि उतै गयो । दुवै जनाको उतै घरजम छ । जेठी छोरी अपेक्षा जापानमा छ ज्वाइँसँगै । कान्छी अप्रिताको यतै बिहा भएको छ । व्यापार गर्छन् ज्वाइँले, ठुलै व्यापारी हुन्, यहाँका । यहाँ बुढाबुढी र एक दुई जना काम गर्ने मान्छे । अञ्जलीप्रसादले भन्यो, “अनि तपाईंका बारेमा भन्नुस् न !”

“हजुरले चिन्नुभएन अझै मलाई ? हामीसँगै काम गथ्र्यौं, एउटै अड्डामा... ?”

अञ्जलीप्रसाद ठुलो सोचमा परेको जस्तो भयो । उसले आफ्नो विगत सिनेमाको फ्ल्यासब्याक जस्तै हे¥यो । तर उसले अझैँ ठम्याउन सकेन । अञ्जलीप्रसाद मनमनै सोचिरहेको थियो, “मसँगै काम गर्ने भए त उमेर पनि म जस्तै हुनुपर्ने हो तर यो मान्छे अर्धबैँसे देखिन्छ । तर कुरा भने सबै हुबहु गर्छ ।”

“के सोचिरहनुभएको हजुरले ? म को हो भन्ने द्विविधामा हुनुहुन्छ होला, हैन ? आज तपाईं यतै आउँदै हुनुहुन्छ भन्ने थाहा पाएर आएको । सानोतिनो सहयोग गर्नुहुन्छ कि भनेर,” अपरिचित मान्छेले भन्यो ।

“के सहयोग गरौँ त ? भन्नुस् न । छोराछोरीको पढाइमा कतै सहयोग वा भन्सुन गरिदिनु प-यो कि ? कि अरू नै केही सहयोग चाहिएको ?”

“सहयोग त धेरै चाहिएको छ तर ती सबै सहयोगका लागि अहिले नै के भनौँ । तपाईंले मलाई चिन्नै सक्नुभएन ।”

“त्यही त । स्मरण गर्ने प्रयास गरेँ तर अझै ठम्याउन सकिन । उमेरको दोष भन्छु म यसलाई ।”

“हामीसँगै समर सिंहजी हुनुहुन्थ्यो लेखापाल, अनि अनिरुद्रजी खरिदार । झमरु चौधरी त हजुरलाई सम्झना होला । पियन क्या त ? हजुरको भान्सा अनि लौन्ड्रीको कामसमेत गथ्र्यो नि ? बेलाबेलामा घरमा तयार भएको कुरा पनि टक््रयाउँथ्यो । अचेल त कार्यालय सहयोगी भन्दा रहेछन् । समर सिंहजी त पोहोर साल परलोक सिधार्नु भएछ, हर्ट अट्याक भएर । अनिरुद्रजी सहसचिवसम्म पुगेर रिटाएर हुनु भएछ । तर उहाँ काठमाडौँ बस्दिनँ भनेर उतै गाउँमै बस्नुहुँदो रहेछ । छोरा बुहारी मात्र यता ।” 

अपरिचित व्यक्तिको सविस्तार सुनेपछि अञ्जलीप्रसाद झन् ठुलो सोचमा प-यो । “कसरी यस मान्छेलाई सबै कुरा हुबहु थाहा भयो ? एक एक कुरा साँचो गर्छ,” सोच्दासोच्दै उसको मुखबाट निस्क्यो, “अन्यथा नलिनु होला, अन्यथा भए माफ पाऊँ । मलाई तपाईं जस्तो कुनै व्यक्ति मेरो सहकर्मी भएर काम गरे जस्तो लाग्दैन । अनि म अपरिचित व्यक्तिलाई कसरी सहयोग गरूँ ?”

“देख्नु भो ? तपाईं फेरि मेरो आवरण देखेर धोका खानुभयो । खैर छोड्नुस् यो कुरा । ढुङ्गामा भएको भगवान कसले पो देखेको हुन्छ र ? तैपनि मान्छेले चढाउँछन्, भेटी भनेर,” अपरिचित व्यक्तिले भन्यो ।

“त्यो भनेको विश्वास हो, विश्वासमा मान्छेले सर्वस्व त्यागिदिन्छ,” अञ्जलीप्रसादको तर्क थियो ।

“त्यही विश्वासको त म कुरा गर्दै छु । मैले गरेको विश्वास मेरै लागि अविश्वास पनि त सिद्ध हुन सक्छ ? मन्दिरको ढुङ्गाले परलोक सुधार्ने विश्वास मान्छेमा हुन्छ भने म त ज्युँदै तपाईंका अगाडि बसेको छु,” अपरिचित व्यक्तले अञ्जलीप्रसादको विश्वास जित्न खोज्यो ।

“ठिकै छ, आर्थिक सहयोग हो भने मेरो घर ...।”

“म हजुरको घरमै आउँछु । मलाई थाहा छ हजुरको घर । महाराजगन्ज होइन निर्मल निवास पछाडिपट्टि ?” अपरिचित व्यक्तिले बिचैमा कुरा काट्दै भन्यो ।

“होइन, त्यो त मेरो पुरानो घर हो । अहिले हामी बुढानीलकण्ठ बस्छौँ । नारायणस्थान बसबाट ओर्लेर दाहिने लाग्नुभयो भने एउटा पिच बाटो आउँछ, अलि अगाडि गएर सोध्नुभयो भने जसले पनि भनिदिन्छ । बरु अहिले छुट्टिऊँ है ?,” अञ्जलीप्रसाद आफ्नो मथिङ्गल झन् शिथिल बनाउन चाहन्नथ्यो । त्यसैले छुट्टिनु नै उपयुक्त ठान्यो । 

“हुन्छ, म छिट्टै आउँछु हजुरको घरमा तर सहयोग के कति गर्ने भन्ने कुरा सोचिरहनुहोला ।”

“चिया पसलबाट बाहिर निस्केपछि दुवै जना आआफ्नो बाटो लागे । पुतलीसडकबाट आफ्नो कार पार्किङ गरेको स्थान भृकुटीमण्डप र भृकुटीमण्डपबाट बुढानीलकण्ठ पुगुन्जेल अञ्जलीप्रसादका मनमा अरू केही कुरा देखेन । मात्र आफूलाई सहकर्मी भन्ने त्यो अपरिचित व्यक्ति । घरि त्यस अपरिचित व्यक्तिका शिरदेखि पाउसम्म र घरि आफूसँगै काम गरेका सम्पूर्ण व्यक्तिका शिरदेखि पाउसम्म हेरेर ठम्याउने कोसिस गथ्र्याे । तर अन्तिम निचोडका रूपमा एउटै प्रश्न आउँथ्यो, “त्यो मान्छे को हुन सक्छ ?”

घरमा पुगिसकेपछि सोफामा थकित बस्यो । एकछिनपछि बुढीले चिया ल्याएर अगाडि डेबलमा राखिदिई । अञ्जलीप्रसाद केही नबोली सिलिङतिर हेरिरह्यो ।

“सन्चो छैन कि क्या हो ? यो उमेरमा गाडी नचलाउनुस्भन्दा मान्नु हुन्न । एउटा ड्राइभर राखे भइहाल्यो नि,” बुढीले निधार छाम्दै भनी ।

“होइन, आज एक जना मान्छेले मलाई ठुलो सोचमा डुबाइदियो । उसले आफू मसँगै काम गर्ने व्यक्ति हुँ भनेर परिचय दियो । कुरा सबै दुरुस्त गरयो तर ऊ चालिसको हाराहारीको देखिन्थ्यो,” अञ्जलीप्रसादले आफ्नो मन हल्का गर्दै भन्यो । “त्यही कुराले अहिलेसम्म मेरो मस्तिष्कमा युद्ध गरिरा’ख्या छ । जे होस्, त्यो मान्छे घरमा आउँछु भनेको छ, केही सहयोग चाहियो रे । त्यतिबेला कुरा गरौँला । हुन त कुनै कुनै मान्छे उमेरभन्दा धेरै कम र बुढो पनि देखिन्छन्,” अञ्जलीप्रसादले फेरि आफैँलाई सान्त्वना दियो ।

अञ्जलीप्रसाद रात्रि भोजन सकेर शयनकक्षमा पुग्यो । धेरै बेरसम्म आँखा नचिम्लिएरै सोचिरह्यो, “आफूलाई सहकर्मी भन्ने त्यस अपरिचित व्यक्तिका बारेमा । धेरै अबेरसम्म निद्रा नआएपछि आँखा चिम्लेर निन्द्रा पख्र्याे, अँझै निन्द्रा लागेन । आफ्ना विगतका दिन सबै नियालेर हेर्ने निधो ग-यो र फेरि आँखा चिम्लियो ।


वर्षाको समय थियो, दुई तीन दिनदेखिको अविरल वर्षाले जताततै हिलाम्मे बनाएको थियो तराई । रातको दस बजेको हुँदो हो, अचानक कसैले अञ्जलीप्रसादको क्वार्टरको ढोका ढक्ढक्यायो । केही समयपछि झमरुले ढोका खोल्यो । यति रातको समयमा सुब्बा सा’ब अचानक आएको देखेर कुनै जरुरी काम प-यो होला भन्ने कुरा छुट्याउन झमरुलाई केही अप्ठ्यारो परेन । “हाकिम सा’ब भर्खर सुत्नुभा’छ, खाना खाएर । केही जरुरी काम आयो कि क्या हो सुब्बा सा’ब ?,” झमरुले ढोकाबाट भित्र आउन सङ्केत गर्दै सोध्यो । भित्र आएर बत्ती बाल्यो । सुब्बा सा’बको अनुहार निन्याउरो र चिन्तित देखिन्थ्यो । 

अञ्जलीप्रसाद निदाइसकेको रहेनछ । ढोका खुलेको आवाज अनि झमरु र सुब्बा सा’बका बिचको कुरा सुनेपछि अञ्जलीप्रसाद लुङ्गी मिलाउँदै बाहिर आयो ।

“किन यतिबेला आउनुपरेको सुब्बा सा’ब ? पानी परिरा’छ, रात धेरै भइसक्यो ।” 

“भोलिको कुरा कसले जानेको छ र हाकिम सा’ब ? भोलि केन्द्रबाट मान्छे आउने रे ! जाली तमसुक बनाएर लिएको त्यो पैसा कि सरकारी ढुकुटीमा राखिदिनुप¥यो, कि त्यही मान्छेलाई बोलाएर जे भो भइगो, हामीलई थाहा भएन, यो तपाईंको पैसा लिनुस् भनेर दिनु बुद्धिमानी हुन्छ कि जस्तो लायो । 

खाना पनि खाएको छैन, निन्द्रा पनि लागेन र त्यसैले आएको म त । हजुरलाई आफ्नो मर्यादाप्रति आँच आउने डर छ भने मलाई भन्नुहोस्, म बैङ्कबाट झिकेर बुझाइदिन्छु । पीडित व्यक्तिले महाराजधिराजका स्वकीय सचिवकोमा सरकारमा बिन्ति टक््याइदिनुप-यो भनेको छ रे ! नत्र भने हामी सबै फस्ने कुरा मैले झलझली देखिराख्या’छु हजुर । हजुरको के विचार छ ?,” सुब्बाले आफू यहाँ आउनुको करण एकै सासमा बेलिबिस्तार लगायो ।

“चिन्ता मान्नुपर्ने केही छैन । केन्द्रबाट आउनेहरूलाई पनि यसो चटाइदिएपछि पुग्छ । तपाईं निश्चिन्त भएर जानुस्, म हुँदाहुँदै तपाईंहरू किन चिन्ता मान्नुहुन्छ ?,” अञ्जलीप्रसादले भन्यो ।

“सबै डरले मलाई मात्र खाइरहेको छ । कतै सबैबाट म मात्र प्रयोग भएको हुँ कि जस्तो लाग्छ । सपना जस्तै आउँछ हिँड्दा हिँड्दै र झस्याङ्ग हुन्छु आफैँ । बिन्ति हजुर ! यसपालि यो धेरै महँगो पर्ला जस्तो छ । मैले भनेको मान्नुस्,” सुब्बा धेरै डराएको थियो ।

“त्यस्तो केही पर्दैन, सबै म मिलाइहाल्छु । यदि उस्तै प¥यो भने मेरो टाउकोमा हालिदिनु । तपाईंको बैङ्क खाताबाट सबै पैसा झिकेर मलाई दिइदिनुस्, त्यस्तै डर लाग्छ भने । म तपाईंहरूलाई फसाएर आफू बच्न कदापि सक्दिनँ । बरु निश्चिन्त भएर जानुहोस्, रात धेरै भइसक्यो ।”

अञ्जलीप्रसादले यति भनेपछि सुब्बा निश्चिन्त भएर बाहिरियो ।

नभन्दै भोलिपल्ट निरीक्षण टोली आयो । कार्यालय साबिकमा झैँ चलिरहेको थियो । सबै आआफ्नो काममा व्यस्त थिए । कार्यालय प्रमुखको कक्षभित्र धेरै समयसम्म चल्यो कुराकानी । त्यसपछि टोली अञ्जलीप्रसादको कक्षबाट निस्किएर सिधै सुब्बा सा’बको कोठामा प्रवेश ग-यो । सुब्बा काममा व्यस्त देखिन्थ्यो । ऊ हाकिमका कुराप्रति पूर्ण विश्वस्त थियो । उसले टाउको उठाएर हेर्ने बेलासम्म टोली कोठाभित्र प्रवेश गरिसकेको थियो ।

भोलिपल्ट खबर आयो, हर्कबहादुर सुब्बा सा’बले प्रहरी हिरासतमै आत्महत्या गरे भन्ने ।

अञ्जलीप्रसाद निद्राबाट झस्याङ्ग ब्युँझियो । जुरुक्क उठेर बस्यो र आँखा मिच्दै अगाडि हे¥यो । अगाडि त्यही अपरिचित व्यक्ति बसिरहेको थियो, ओछ्यानकै छेउमा ।

“हो म त्यही सुब्बा हर्कबहादुर हुँ । अहिले त चिन्नु भयो ? मेरो घर खेत सबै लग्यो, त्यो काण्डले । मेरी ठुली छोरीले बिचैमा पढाइ छोडेर बिहे गरी, एक गाडीका खलासीसँग । ऊ कहाँ छ, केही थाहा छैन । छोरो घर चलाउन सकिन्छ कि भनेर मुग्लान लाग्यो । अर्की छोरी पनि गाउँमै बिहे गरेर बसेकी छ । आफ्नो परिवार भएपछि कसले पो हेर्छ र बुवाआमालाई ? तुलना गरेर हेर्नुस् त तपाईं र मेरा सन्तानमा ? तपाईंका छोराहरू अमेरिकामा सुखमय जीवन बिताएर बसेका छन् । एउटा छोरी जापानमा, अर्की देशका गुनेचुनेका व्यापारीसँग । तर मेरो... ।? तपाईं र तपाईंकी पत्नी कस्तो महँगो ओछ्यानमा सुतिरहनुभएको छ तर मेरी श्रीमती ...।? सबैलाई वर्षा सुरु भएन भनेर चिन्ता हुन्छ, मेरी श्रीमतीलाई वर्षा सुरु भयो भनेर चिन्ताले सताउँछ, किन होला ? उसले दुई छाक खान पाउँदिनँ, बिरामी भएपछि सिटामोल खानलाई अर्काको भाँडा माझ्नु पर्छ । छोराछोरीहरूको भविष्य डामाडोल भयो । तपाईं आफूलाई मेरो बर्बादीको जिम्मेवार ठान्नु हुन्छ कि ठान्नु हुन्न ?

अञ्जलीप्रसादका अनुहारमा आत्मग्लानिका भावहरू स्पष्ट देखिन्थे । ऊ पश्चात्तापको आगोमा पिरोलिइरहेको थियो । अचानक उसका मुखबाट आवाज आयो, “मलाई माफ गरिदेऊ हर्कबहादुर !”

अञ्जलीप्रसादको चर्काे रुग्ण आवाज सुनेपछि उसकी श्रीमती हठात् उठी । “के भो तपाईंलाई ?” निधार छाम्दै फेरि भनी, “ज्वरो हनहन्ती आइरा’ख्या छ । नचाहिने कुरा मनमा खेलाएपछि चाहिने–नचाहिने सपना आउँछन् । सुत्नुस्, म फ्यामिली डाक्टर बोलाउँछु ।”

बुढी बैठक कोठातिर लागी, अञ्जलीप्रसाद पश्चात्ताप र आत्मग्लानिको तातो खरानीमा पल्टिए झैँ पल्टियो । 

बाफल, काठमाडौँ