सुन्छु, आजभोलि मेरा नातेदार, इष्टमित्र र छरछिमेकमा म चर्चाको विषय बनेको छु । चर्चा पनि कस्तो चर्चा भने ती कसैसँग सम्बन्ध नै नराख्ने विषयको चर्चा तर मलाई केही अनौठो लागेको छैन र मैले मेरो कार्यलाई कुनै नौलो कुरा पनि मानेको छैन । हो, मैले विवाह गरेँ, एउटा पुरुषले कुनै नारीसँग विवाह गर्छ भने त्यो चर्चाको विषय नै होइन । विवाह सधैँ पुरुष र नारीबिचमा नै हुने हो, के नौलो कुरा हो र ? तर वर्तमानमा मेरो विवाह मेरो चरित्रसँग जोडिन पुगेको छ । कसैको सोचाइमा म छिल्लिएको मान्छे बनेको छु भने कसैको शब्दमा म स्त्रीलम्पट मान्छे भनी परिभाषित भएको छु । भित्री यथार्थ नबुझेपछि जसले जसलाई जे भनिदिए पनि हुन्छ, सोचिदिए पनि हुन्छ । तर यथार्थ बुझ्नेलाई मेरो कदम एकदम सही हो भन्ने अवश्य लाग्ने छ । त्यो मेरो विश्वास हो ।
उमेरले म गएको असोज महिनादेखि साठी वर्षमा प्रवेश गरेँ । यी साठी वर्षमा मैले धेरै आरोह अवरोहरू पार गरेको छु । म जवानीमा टेक्नै नपाई मेरो आमाबुवालाई बुहारी ल्याउने रहरले सताउन थाल्यो । तेइस वर्षको उमेरमा नै मैले बिए पनि पास गरिसकेको थिएँ । लोक सेवाबाट माग भएको अधिकृत पदमा जाँच पनि दिएको थिएँ । घरमा बुबालाई आर्थिक गाह्रो साँगुरो नहोस् भनी हुन त म आईए पढ्दादेखि नै ‘सार्क कन्सल्टेन्सी’ मा करारमा जागिरे भएको हो । तर त्यो समय मेरा लागि सम्झना र चर्चा गर्न योग्य कदापि छैन । तलबभन्दा काम गर्न जानेन भनी गाली बढी खाएको हुन्थेँ । धेरै चोटि नोकरी छोडूँ भन्ने लागे पनि घरको अवस्थाले गर्दा आँट आइरहेको थिएन । बुवामुमा भने मप्रति बढी नै आशावादी हुनुहुन्थ्यो । यो हाम्रो छोरो ज्यादै योग्य छ, पढाइमा एकदम तेजिलो छ, यसले छिट्टै नै कुलको इज्जत जोगाउँछ, हाम्रो नाम राख्छ तर यी कुरा त्यसको अगाडि भन्नु हुँदैन नत्र मात्तिन सक्छ भनी आफ्ना इष्टमित्रसँग उहाँहरूले कुरा गर्ने गरेको मैले सुनेको पनि थिएँ, सुन्नेले सुनाएका पनि थिए । बुवामुमाको यस्तो सोचाइदेखि मभित्र एउटा अद्भुत जाँगर पलाउँथ्यो र म सकभर उहाँहरूको सपनालाई मैले साकार पार्नै पर्छ भन्ने सोचाइले अभिप्रेरित पनि हुन्थेँ । म आफैँ पनि ज्यादै महìवकाङ्क्षी भएको र सानो सपना देख्न नरुचाउने स्वभावको भएको हुँदा मलाई यस्ता कुरा सुन्नमा ज्यादै नै आनन्द लाग्थ्यो अनि केही त बन्नै पर्छ र केही गरेरै यो संसारबाट जान्छु भन्ने अठोट मनमा पालउँथ्यो ।
एक दिनको कुरा हो, वर्षौं अघिको कुरा बुवा र म बिहानै ठुलीआमाको घर जाँदै थियौँ । हिँड्दै थियौँ, बाटोको एक छेउमा एउटा मरेको कुकुर देखियो । देख्यौँ, हामी बाटो लाग्यौँ र अरू देख्नेहरूले पनि हेरेँ र बाटो लागे । त्यो मृत कुकुरको वरिपरि कोही पनि झुम्मिएका थिएनन्, किन म¥यो ? कहाँ बस्थ्यो, कतै दुर्घटनामा प¥यो कि भनी भनेर सोच्ने, बुझ्ने कसैलाई चासो नै थिएन । के ठुलो कुरा भयो ? एउटा कुुकुर थियो र बाटोमै मरेको थियो । अलि घर पुगेपछि बुवाले मलाई सोध्नुभयो, त्यो कुकुर मरेको देख्दा तँलाई कस्तो लाग्यो ? मैले केही बुझिनँ र भनिदिएँ “त्यो कुकुरको म मालिक हो र कस्तो पनि लागेन ।” मेरो जवाफमा उहाले भन्नुभयो, “यो पनि एउट पाठ हो, तैँले पढ्नुपर्ने जसरी यो कुकुर मर्दा कसैले वास्ता राखेन, अपसोच पनि मनाएन नि त्यसरी मान्छे जन्मिएपछि कुकुरको मृत्यु भने मर्नु हँुदैन । मान्छेले आफ्नो मृत्युमा समाज नै देश नै रोओस् र अपशोच मनाओस् भन्ने सोच्नु पर्छ र त्यसैबमोजिम काम गर्ने कोसिस गर्नु पर्छ, ताकि “ही डाइड ए डग्स डेथ” भनेर कसैले नभनुन् । बुवाको यो परिभाषा जीनव बाँच्नका लागि मेरा लागि गीता र गायत्रीभन्दा पनि ठुलो ग्रन्थ र मन्त्र बनेको थियो । त्यसै बेलादेखि म सधैँ नै समाजमा सम्मानित भई जीवन बिताउनु पर्छ र यसका लागि म आफ्नो कर्तव्यमा सधैँ सजग हुनु पर्छ र इमानदार हुनु पर्छ र हुने छु भन्ने विचारले दृढ बन्दै गएँ । त्यस समयमा मेरो कर्तव्य भन्नु इमानदारसाथ स्कुल जानु र मेहनतले पढ्नु हो, आवारा साथीहरूको सङ्गत नगर्नु हो भन्ने मेरो सोचाइ बन्यो र म त्यही बाटोमा जान अग्रसर भएँ, त्यही बाटोमा दृढ भई हिँडिरहेँ ।
जावानी ममा पनि नआएको होइन । स्कुलमा सहशिक्षा थियो । थुप्रै केटीसाथीहरू पनि बनेका थिए । मसँग प्रायः सबै साथीहरू नजिकिन चाहन्थे । किन कि म कक्षा ६ देखि नै आफ्नो कक्षामा प्रथम आउँथेँ । प्रायः सरहरूको बोलीमा म सधैँ उदाहरणको विषय बन्थेँ । विद्यार्थी भनेको फलानो जस्तो हुनु पर्छ भनी प्रायः सबै सरहरू मेरो प्रसंशा गर्नु हुन्थ्यो । यसबाट मलाई फाइदा पनि थियो त बेफाइदा पनि कम थिएन । फाइदा यो थियो कि म होनहार विद्यार्थीको नामले चिनिएको थिएँ र प्रायः साथीहरू मेरो नजिक बन्न चाहन्थे तर बेफाइदा यस अर्थमा थियो कि मसँग दाँजिन नसक्ने दादागिरी गर्ने टाइपका विद्यार्थीको एउटा ठुलो सङ्ख्या मेरो रिस पनि गर्थे । निहुँ खोज्ने बहाना खोज्थे । मसँग नजिक हुन चाहनेहरूमा थुप्रै केटीहरू पनि थिए । नाम नलिउँ, तर तीमध्येमा मेरो मनमा कोही त कसरी आउँथे कि पढाइ नै भाँडिएला जस्तो हुन्थ्यो । अक्षर, अक्षरमा उनीहरू नै देखिन्थे । त्यसैले मलाई अब यस्तो पाराले प्रेमको नहरमा अलमलिने हो भने मेरो भविष्य छैन भन्ने सोच्न बाध्यै बनायो । त्यसपछि मैले आफ्नो बानी नै बदलिदिएँ । मैले कक्षामा कसैसँग पनि नबोल्ने, कसैसँग पनि सँगै नहिँड्ने अठोट गरेँ । मेरो यही बानीले गर्दा धेरै साथीभाइ आफैँ टाढा हुन थाले र हल्ला चलाउन थाले कि त्यो मान्छेमा आजकाल ज्यादै घमण्ड बढेको छ, आफूलाई केके न हुँ भन्ने सम्झन्छ । फाइदा के भयो भने केही महिनामै सबैको प्रिय साथी मानिने म एउटा अप्रिय साथीमा अनुवाद हुँदै गएँ । यसरी नै मेरो जवानी प्रायः अप्रिय भएर नै बित्यो । जवानीलाई त्यसपछि कहिल्यै ममाथि हाबी हुन दिइनँ ।
अघि म भन्दै थिएँ नि बुवा मुमालाई मेरो विवाह गरिदिने रहरले ज्यादै सताएको थियो भनेर हो, त्यही रहर पु-याउन मेरो विवाहका लागि उहाँहरूले व्यापक नातेदारहरूसँग चर्चा चलाउनु भयो र अन्त्यमा उहाँहरूको मनले एउटी केटीलाई रुचायो पनि । मलाई भने विवाहसँग कुनै आपत्ति पनि थिएन भने विशेष रहर पनि थिएन । कसकी छोरी हुन्, कस्ती छन्, कति पढेकी छन् भन्ने पनि सोध्न रहर थिएन । बुवामुमाले रोजेको अयोग्य भने अवश्यै हुन्नन् भने दृढ विश्वास मनमा हुँदा मलाई आपत्ति पनि थिएन । केटी हेर्न जाउँ भनियो हेर्न गएँ । अनुहारमा राम्रो पनि होइनन् भने ‘छ्या’ भन्ने पनि थिइनन् । खै कसरी जु¥यो, जु¥यो उनको र मेरो विवाह भएरै छोड्यो । विवाहको केही हप्तामा नै मेरो लोक सेवाको नतिजा पनि निस्कियो र म केही महिनाभित्रै अन्तर्वार्तामा समेत छानिई अधिकृत बन्न पुगेँ । मेरी श्रीमतीले घर परिवारभित्र मात्र होइन, छरछिमेक र इष्टमित्रका माझ पनि लक्षणकी बुहारी भनी नाम कमाइ करिब चौँतिस वर्षको हाम्रो वैवाहिक जीवन खुसी र दुःख साटासाटमै सजिलै बित्यो । यसबिच दुई छोरा र छोरीको पनि जायजन्म भयो । उमेर पुग्दै गयो, रामै्र पढेँ र विवाह पनि गरिदिएँ । बुहारीहरू पनि खोट लगाउने खालका छैनन् र ज्वाइँ पनि आँखामै नबिझाउने छन् भन्दा पनि हुन्छ । जीवन त्यति नराम्रो लागेको थिएन, रमाएरै बाँचेको थिएँ ।
तर मेरो खुसी भगवन्लाई पनि सह्य भएन छ र एक दिन राति अचनाक श्रीमतीलाई देब्रे छातीमा पिडा हुन थाल्यो । उनी छटपटाउन थालिन् । भन्नासाथ बाहिर ट्याक्सी पनि पाइएन, बल्ल एम्बुलेन्स बोलाएर हस्पिटल पु¥याइयो । केही क्षणको परीक्षणमै डाक्टरले सिमियर हार्टएट्याक भनी ढिलो ल्याएकोमा मैमाथि दोष थोपरिदिए । गहन उपचार कक्षमा लगिएकी उनी त्यसपछि फेरि फर्केर आइनन् । जिन्दगीमा एक चोटि नराम्रोसँग एक्लिएँ । बुवा मर्दा, आमा बित्दा उनीसाथ थिइन् र मलाई सम्हाल्ने उनका हात थिए । त्यसैले त्यति एक्लो महसुस गरेको थिइनँ । तर म त्यसपछि भने नितान्त एक्लो अनुभव गर्न थालेँ ।
छोराबुहारी मलाई माया अति नै गर्थे । सानो नाति पनि मभन्दा भुतुक्कै हुन्थ्यो । बिहान बेलुका केही समय उनीहरूसँग भेटघाट भई भलाकुसारी गरे पनि दिउँसो छोराबुहारी अफिस जाने र नाति स्कुल जाने हुँदा दिनभर म मन नलागे पनि पत्रपत्रिकामा र टेलिभिजनमा अलमलिएर समय बिताउन बाध्य हुन्थेँ । कहिले म झैँ अवकाश प्राप्त साथीहरूकोे फोन आउँथ्यो । मेरो धेरै साथीहरू उपसचिव र सहसचिव नै थिए । सामान्य हालखबर सोधिन्थ्यो, प्रशासनिक अस्तव्यस्ताबारे कुरा हुन्थ्ये । अनि कुरा सकिन्थ्यो । अहिले पनि अचम्मै लाग्छ सोच्दा म कसरी सहसचिवको पदमा पुगेँ, न पैसा, न पावर । तर सहसचिवसम्म भइएछ र अन्ठाउन्न वर्ष पुगी अवकाश पनि पाइएछ । जीनव चाँडै नै बितेछ ।
दुवै छोराहरू मेहनती हुनु पनि यो बुढेशकालमा मेरा लागि समस्याको विषय बन्यो । माया नगरेर, टाढा हुन खोजेर होइन । तर बुवा छोराबिच घनिष्ट माया भए पनि परिस्थितिले टाढा बस्न बाध्य बनायो । जेठो छोरा परराष्ट्र सेवामा थियो, अस्ट्रेलियाको एम्बेसीले उतै बोलाइदियो र ऊ परिवारसहित अस्ट्रेलिया जान बाध्य भयो । कान्छो छोरा प्रशासन सेवमा भएका कारण कहिले प्रमुख जिल्ला अधिकारी त कहिले क्षेत्रीय प्रशासक भई प्रायः काठमाडौँभन्दा बाहिर जिल्लामा खटाइन थाल्यो र ऊ बाध्यताले मसँग टाढा हुन बाध्य भयो । बुहारी र नाति सबै आआफ्नै श्रीमान्सँग जानै प¥यो र गइदिए । यसरी एउटा राम्रो शिक्षित परिवार भएरै पनि म निसहाय झैँ एक्लै घरमा कोचिन बाध्य हुँदै गएँ । छोरासँगै जाउँ नभन्ने होइनन् मलाई, करै पनि गर्थे तर काठमाडौँमा नै घर भएको, राम्रो पेन्सन कमाउने म, छोराहरूको पछि लागी निरिह बन्ने कल्पनाले नै ग्लानीमा पुग्थेँ । घरमा काम गर्ने मान्छे छँदै छ मेरो केही पीर गर्नु पर्दैन । अब बुढो भएँ यताउता जाने रहर छैन । घरमै आनन्दले बाँकी जीवन कटाउँछु भनी उनीहरूलाई सान्त्वना दिने गर्थे ।
एक्लो घरमा एक्लै बस्नुपर्दा विस्तारै मलाई डिप्रेसनले सताउन थाले छ । कहिले एकदम टाउको दुख्ने, कहिले हड्डीका जोर्नीहरू दुखेर मर्नु बनाउने, कहिले त्यतिकै डर लागे झैँ हुने जस्ता यावत् अकाल्पनिक रोगहरूले मलाई सताउन थाले । कसैलाई भनँु आफ्नो साथमा कोही थिएन । काम गर्ने मान्छे आउँथ्यो किनमेल गथ्र्यो, खाना बनाउँथ्यो, भान्सा सफा गथ्र्यो र फर्किन्थ्यो । लुगा धुन धोबी घरमै आएर लुगा लैजान्थ्यो । खाने र लाउनेको समस्या भने एकदमै थिएन तर रात परेपछि जिउ दुख्यो एक कप चिया बनाइदेऊ न, खुट्टा दुख्यो यसो थिचिदेऊ न भन्ने मान्छे पनि मसँग थिएनन् । मनमा गुम्सिएका यावत मानसिक तनाव र दैनिक समस्या पोख्ने मान्छे पनि कोही नहुँदा जीवन एकदम कहालीपूर्ण लाग्दै थियो ।
एक दिन मेरा अनन्य मित्र दीनवन्धु शर्मा घरमा आए, दीनवन्धु शर्मा मेरो कलेजदेखिका सहपाठी । साबिक झैँ दुःखसुखका कुरा साटासाट भए । उसले आफ्नो घरायसी कलहले गर्दा वैरागिएको कुरा बताए भने मैले पनि त्यस समय आफूले भोगिरहेको डिप्रेसनको कुरा उसलाई सुनाएँ ।
निकै लामो गफगाफपछि उनले मसँग एक्कासि मेरो कल्पनाभन्दा बाहिरको कुरा गर्दै मलाई सोधे एउटी केही जसले आफ्नो घरपरिवार, बहिनी र भाइहरूको व्यवहार सक्ने उद्देश्यले उनीहरूकै लागि जवानी बिताई, आफ्नो कर्तव्यबाट निवृत्त हुँदा ऊ बुढीकन्या भइसकेकी छ । जागिरमा थिई । अब उपसचिवबाट रिटायर्ड पनि भइसकी छ, उमेरकै कारणले, अब ऊ पनि तिमी झैँ एक्ली छ, उसले पनि अब कुनै सहारा पाए हुन्थ्यो भन्ने रहर गरेकी छ, त्यस्तै कुनै केटी पायौँ भने त तिमीले पनि विवाह गरे हुन्न र ? एक्लोपनको मर्म एक्लोले झनै राम्ररी बुझ्छ भनिन्छ । यदि तिमी सोच्छौँ भने मेरो आँखामा यस्ती एउटी केटी छ, म कुरा अगाडि बढाउँछु ।
मैले जात मिल्ने नमिल्ने, संस्कार मिल्ने नमिल्ने, जीवनस्तर मिल्ने नमिल्ने आदि इत्यादि प्रश्न सोधेपछि सायद मैले उसको कुरामा शङ्का गरेँ वा उनलार्ई दलाल पो सम्झिएँ कि भने झैँ उनले अलि झोक्किए झैँ गरी भने, “तिमीलाई ढाँटेर केही खानु छैन, म कुनै केटीको दलाल पनि होइन ।
यदि तिमीलाई विवाह गर्ने रहर छ, बुढेसकालका लागि एउटी उमेर मिल्दो सहाराको खाँचो छ भने मैले कुरा गरेको त्यो केटी तिमीले पनि चिनेकै केटी हो । मैले मधुकै विवाहको कुरा गरेको हुँ । ऊ पनि आजभोलि एक्लिएकी मैले महसुस गरेको छु ।”
उनको मुखबाट मधुको नाम सुन्दा म एक पलका लागि दिमाग शून्य झैँ भएँ । मधु त उसैकी सहोदर बहिनी हो । राम्ररी देखेको, चिनेको, बोलेको मान्छे । मेरा लागि मधु कल्पनातित विषय थिइन् । म अवाक झैँ भएँ । मेरो मानसिकता बुझेरै होला उनले भने, “मैले आफ्नो यथार्थ तिमीसामु राखिदिएको छु । सोच र बताऊ अन्यथा म अन्यत्र पनि कुरा चलाउने विचारमा छु ।” मैले एक चोटि घर सल्लाह गर्छु भन्ने भन्दा अरू केही प्रतिव्रिmया जनाउनै सकिनँ ।
म रातभरि परिस्थितिलाई दही मथे झैँ मथिरहेँ । ऊ पनि एक्ली, म पनि एक्लो, उसले पनि परिवार र भाइबहिनीको जीवन बनाइदिन र उनीहरूलाई दह्रो खुट्टा देखाइदिन मै आफ्नो आधा जीवन बिताएकी र मैले पनि सन्तानकै व्यवहार सुखका लागि आफ्नो भविष्य र बुढेसकाल सोच्न नसकेको वर्तमानमा हामी दुवैका एक्लोपनको साथी हामीभन्दा उपयुक्त अरू को नै हुन सक्ला र भन्ने सोचाइ ममा गहिरिँदै गयो । तर छोराछोरीको पनि स्वीकृति लिनु मेरो अनिवार्य दायित्व थियो । त्यसैले मैले भोलिपल्टै हिचकिचाउँदै आफ्नो वर्तमानको भोगाइ र दीनवन्धुको प्रस्तावबारे दुवै छोरासँग सल्लाह गरेँ । दुवैले विशेष आपत्ति गरेनन् र तपाईंको जीवन हो जस्तो गर्दा सुख मिल्छ गर्नुहोस् हामीलाई आपत्ति छैन भन्ने सामान्य राय सुनाए । ज्वाइँछोरीलाई पनि बोलाएर सल्लाह गरेँ । खुसी पनि देखिएनन्, आपत्ति पनि जनाएनन् । मैले बुझेँ कि मेरा छोरीहरूका लागि, मेरो ज्वाइँछोरीका लागि, मेरो जीवन र म अब बेमतलबको मान्छे भइसकेको रहेछु । उनीहरूले के कसो केही सोध्नै रुचाएनन् । भित्री मनमा आफ्नो छोराछोरीको व्यवहार चस्स बिझ्यो । अब कसैको सल्लाहको खाँचो पनि थिएन । मेरो जीवन मेरै निर्णय बन्यो ।
मैले दीनवन्धुलाई विवाहको मञ्जुरी जनाएँ । साइत, लगन केही जुराइएन । एक हप्तापछि गुह्येश्वरी मन्दिरमा गई विवाह गर्ने निश्चित गरियो । बोलाएँ तर न छोराबुहारी नै आए, न छोरीज्वाइँ नै आए । दुई तीन जना साथी र दुई तीन जना छिमेकीहरूको रोहबरमा हामीले माला साटासाट गरेर मालाबाटै दाम्पत्य जीवनको सुरुवात ग-यौँ । तर यो विवाह समाजको पेटमा पचिरहेको छैन र म समाजमा एक चोटि फेरि चर्चाको विषय बनिरहेको छु । मेरो पद, प्रतिष्ठा र त्याग सबै छायामा परेका छन् । कमाएका प्रतिष्ठामा अब बादल लागिसकेका छन् ।
आजभोलि बुवाको नराम्ररी याद आउन थालेको छ; र भन्न मन लागेको छ तपाईंले भने झैँ नभए पनि म आज चर्चाकै विषय बनेको छु, नराम्रै चर्चा किन नहोस् तर चर्चामा नै छु । अब ममरे पनि कुकुर मरे झँै मर्ने भने छैन– कुकुरको मृत्यु ।