• ५ जेठ २०८१, शनिबार

नेपालका सम्पदा

blog

विश्व सम्पदाको संरक्षण तथा संवर्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन हरेक वर्ष विश्वभर सम्पदा दिवस मनाइन्छ । नेपालको धेरै ठाउँ विश्व सम्पदा सूचीमा सूचीकृत छन् । ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाले गर्दा नेपालको विश्वमा छुट्टै पहिचान छ ।

ऐतिहासिक सम्पदाको कुरा गर्दा नेपालमा धेरै पुराना दरबार छन् । जस्तै पाल्पाको रानीमहल, गोरखाको दरबार, वसन्तपुर, पाटन, भक्तपुरका मल्लदेखि शाह समयका दरबार आदि । त्यसैगरी राणाकालमा बनेका युरोपेली शैलीका दरबारहरू जस्तै सिंहदरबार, शीतल निवास, सेतोदरबार, लालदरबार जस्ता इतिहास बोकेका प्रशस्तै दरबार नेपालमा छन् । उपत्यकाबाहिरका बाइसे चौबिसे राज्य समयका दरबार वा काठमाडौँकै लिच्छविकालका बेलाका दरबार पनि छन् । 

त्यस्तै नेपालमा विभिन्न धार्मिक स्थलका सम्पदा पनि धेरै छन् । मुख्यतया हिन्दु र बुद्ध धर्मसँग सम्बन्धित सम्पदा धेरै भए पनि किराँत, प्रकृति, बोन जस्ता सनातनदेखिका धार्मिक सम्पदाहरू देशभरि छरिएको छ । संसारका सबै हिन्दुको पवित्र धाम पशुपतिदेखि बुद्धको जन्मथलो लुम्बिनीले हजारौँ पर्यटकलाई नेपाल भित्र्याएको छ । स्वयम्भू, बौद्धनाथदेखि हनुमानढोकासम्म, बुढानीलकण्ठदेखि चार नारायणसम्म अनि मुक्तिनाथदेखि स्वर्गद्वारीसम्म जताततै विश्वविख्यात धार्मिक सम्पदाहरू छन् । 

नेपालका हिमाल, नदी, ठुलठुला पाटन, ताल, चराचुरुङ्गी र विविध रुख बिरूवा भएका देशभरि फैलिएका वनजङ्गल पनि आकर्षक प्राकृतिक सम्पदा नै हुन् । सम्पदा संरक्षणमा सबैले ध्यान दिनु पर्छ । प्राकृतिक सम्पदा जोगाउन आवश्यक वातावरण  बनाउनु पर्छ । विश्व सम्पदा दिवस मनाइरहँदा हामीसँग भएका बहुमूल्य प्राकृतिक सम्पदाको संरक्षण गर्नु पर्छ र आउने पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्नु पर्छ भन्ने सन्देश र शिक्षा दिनु पर्छ ।