• १२ साउन २०८१, शनिबार

विश्व सम्पदा क्षेत्रलाई गिज्याइरहेको प्रहरी भवन

blog

काठमाडौं, वैशाख ३० गते । काठमाडौंको हनुमानढोकास्थित वर्षौ पुरानो एवम् जीर्ण अवस्थामा रहेको प्रहरी भवनको भौतिक संरचना जोखिमपूर्ण समेत बन्दै गएको छ ।  सम्पदा संरक्षण अभियान्ता यादवलाल कायस्थका अनुसार प्रहरी भवन प्रवेश स्थल (दबु) मा स्थानीय एवम् श्रद्धालुहरु कुनै समय दिवंगतहरुको सम्झनामा दियो बाल्ने गर्दथे । महांकाल नाच, गाइजात्रा जस्ता जात्रा पर्वमा भक्तपुरलगायत टाढाबाट आएकाहरु नाचगानको तयारी तथा बसोबास गर्ने स्थान हो यो । 

उहाँले यस क्षेत्रमा अवस्थित प्रहरी भवन कुरुप र जीर्ण अवस्थामा रहेकाले यो भूत बङ्गला जस्तै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विश्व सम्पदा क्षेत्र हो । ऐतिहासिक पुरातात्विक सांस्कृतिक महत्व भएको स्थल दबु हो । लिच्छिवीकालमा यहाँ दिवंगतहरुको सम्झनामा भक्तालुजनले दियो बाल्ने ठाउँ हो । विश्वभरबाट पर्यटक आउने ठाउँमा जुन प्रहरी भवन छ नि, यो भूत बंगला जस्तै भएको छ ।” विश्व सम्पदा क्षेत्रमा अवस्थित प्रहरी भवन मापदण्ड विपरीत रहेको उहाँको भनाइ छ । 

२०७२ को भूकम्पपश्चात् सो प्रहरी कार्यालय टेकुमा स्थानान्तरण भएको थियो । भग्नावशेष भवनमा केही प्रहरी जवान बसोबास गर्दै आएका छन् । 

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर त्यस क्षेत्रमा डीएसपी कार्यालय रहँदा नै विश्व सम्पदा क्षेत्र घोषणा गरिएको बताउनुहुन्छ । 

 उहाँले भन्नुभयो, “विश्व सम्पदा क्षेत्र घोषणा गर्दा नै त्यो प्रहरी भवन थियो । अहिले आएर विश्व सम्पदामा यो कार्यालय रहीरहँदा कतै अन्यौलमा प र्‍य ाे कि भन्ने कुरा पनि छ । २०७२ सालको भूकम्पपछि भग्नावशेषको रुपमा त्यो रह्यो । कानुनी सेवा र सुरक्षाका सेवा त्यहाँ बन्द अवस्थामा छ ।” 

उहाँले सो प्रहरी भवन गृह मन्त्रालयको नाममा दर्ता रहेको उल्लेख गर्नुहुँदै यस विषयमा मन्त्रालयसँग पनि छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले गृह सचिवसँग कुरा गर्दा २१, २२ जना प्रहरी जवान बस्ने वातावरण बनाऔं भन्ने कुरा छ । यसबाहेकका अरु भाग सम्पदामैत्री बनाउनुपर्ने भन्नेछ । सम्पदा प्रेमीहरुले कुनै पनि हालतमा प्रहरी भवन बस्नु हुँदैन भन्छ । विश्व सम्पदा क्षेत्र भएकोले त्यो क्षेत्र सम्पदामैत्री हुनुपर्छ भन्ने महानगरको धारणा हो ।”  गृह मन्त्रालय लगायत सम्बद्ध निकायसँगको समन्वयमा सो क्षेत्रलाई अझ सुव्यवस्थित बनाउनतर्फ महानगर अघि बढ्ने उहाँको भनाइ छ । 

अभियन्ता कायस्थले प्राचिन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम पनि प्रहरी भवन त्यहाँ राख्न नहुने धारणा राख्नुभयो ।   

कायस्थले भन्नुभयो, “विगतमा संस्कृतिमन्त्री, गृहमन्त्री लगायत सम्बन्धित पक्षलाई भन्न गयौं । सबैले यो राम्रो कुरा हो, भूकम्प आयो भने त्यहाँ जुनसुकै बेला मानवीय क्षति हुन सक्ने जोखिम छ भन्नुहुन्छ । फेसबुक लगायत सामाजिक सञ्जालमा मीठो मीठो भाषण लेख्नुहुन्छ तर काम बिर्सनुहुन्छ ।” 

उहाँले हनुमानढोका हेरचाह अड्डामा यस विषयमा लिखित निवेदन पेश गरेको र अड्डाबाट सो निवेदन पुरातत्व विभागमा पठाए पनि अरु काम हुन नसकेको बताउनुभयो ।

स्थानीय एवम् अभियन्ता विजय श्रेष्ठले दशकौं लामो समयदेखि जीर्ण प्रहरी भवनका कारण सांस्कृतिक क्षेत्रमा असर परिरहेको बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो, “विश्व सम्पदा क्षेत्र जहाँ पर्यटक घुम्न आउँदा पनि राम्रो देखिँदैन । यो चाँडोभन्दा चाँडो भत्काउनुप र्‍य ाे । स्थानीय निकायले पनि बोल्नु मात्रै हुन्छ, काम गर्नुहुन्न ।” 


भिडियो : मनोजरत्न शाही र केशव गुरुङ 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।