• १९ असार २०८१, बुधबार

मधेसी र मुस्लिम छात्राका लागि महिला कलेज

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, वैशाख ८ गते । बाँकेका मधेसी र मुस्लिम समुदायका छात्रालाई ध्यानमा राखेर नेपालगञ्जमा स्थापना गरिएको मङ्गलप्रसाद महिला कलेज सञ्चालनमा आएको छ । महिला कलेजको अभावले जिल्लाका मधेसी र मुस्लिम समुदायका सयौँ बालिका उच्च शिक्षाको अध्ययनबाट वञ्चित रहेकाले उनीहरूलाई नै लक्षित गरेर नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नै लगानीबाट सो कलेजको स्थापना गरेको नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले बताउनुभयो । 

उहाँले यहाँको सामाजिक र धार्मिक परिवेशले महिला विद्यालय र महिला कलेजको अत्यन्तै खाँचो रहेकाले उपमहानगरपालिकाले सल्यानीबाग महिला विद्यालय र मङ्गलप्रसाद महिला कलेज सञ्चालनमा ल्याएको बताउनुभयो । 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवराज कोइरालाले जिल्लाकै पहिलो उक्त महिला कलेजको बुधबार उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले यस क्षेत्रमा धेरै नै आवश्यकता रहेको महसुस गरेर खोलिएको यो कलेजले मधेसी र मुस्लिम समुदायका छात्राको पहुँच उच्च शिक्षामा पु-याउने बताउनुभयो । 

उहाँले यो कलेजलाई सम्बन्धन दिन पूर्वाञ्चल विश्वविद्यालय अति नै सकारात्मक रहेको जनाउँदै आवश्यक कागजी प्रक्रियाहरू पूूरा गर्ने कार्य भइरहेको बताउनुभयो । 

सो अवसरमा नेपालगञ्जका उपमेयर उमा थापामगर, प्रदेश सभाका सांसद आइपी खरेल, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र पौडेल र कलेज व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष मैमुना सिद्दिकी र नमस्कार शाहलगायतले पनि कलेजले शिक्षामा अत्यन्तै राम्रो काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।   

सो कलेजका प्रमुख व्यवस्थापक रवीन्द्र कर्णका अनुसार मङ्गलप्रसाद माध्यमिक विद्यालयले उपलब्ध गराएको करिब १२ कट्ठा जमिनमा चारतले भवन निर्माण गरिएको छ । उक्त भवनमा ४० वटा कक्षाकोठा, कार्यालय, हल, अपाङ्गतामैत्री शौचालयलगायत संरचना निर्माण गरिएको छ । कलेजमा अध्ययन गर्ने छात्राका लागि छात्रावासको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

विश्वविद्यालयबाट सम्बन्धनका लागि एक करोड र सञ्चालन गर्न ५० लाख रुपियाँ उपमहानगरपालिकाले कलेजलाई प्रदान गरिसकेको जनाइएको छ । कलेज सञ्चालनका लागि अझै दुई करोड रुपियाँ दिने निर्णय भइसकेको नेपालगञ्जका उपमेयर थापाले जानकारी दिनुभयो । 

भवन निर्माणका लागि आठ करोड रुपियाँको लागतमा ठेक्का स्वीकृत भए पनि संरचना निर्माणका क्रममा रकम अपुग भएपछि करिब दुई करोड रुपियाँ थप गरेर १० करोड पु¥याइएको उपमहानगरपालिकाले जनाएको छ । सो कलेजमा रोजगारसँग जोडिएका विषयमा पढाइ हुने जनाइएको छ ।