• ४ जेठ २०८१, शुक्रबार

नार्पाभूमिका विद्यालय खुले

blog

बालविकास केन्द्रसहित ११ जना विद्यार्थी रहेको नार आधारभूत विद्यालयका विद्यार्थीहरु

यदुप्रसाद भट्ट

मनाङ, वैशाख २० गते । बढी चिसो तथा माइनस तापक्रमका कारण काठमाडौं सारिएका घुम्ती विद्यालय नार्पाभूमि पुगेको छ । काठमाडौंमा वार्षिक परीक्षा सकेर नतिजा प्रकाशित भएपछि नार्पाभूमिका बालबालिका गाउँ फर्किएर पठनपाठन गर्न थालेका हुन् । 

नयाँ वर्ष तथा शैक्षिक सत्र सुरु भएसँगै पठनपाठन सुरु गरिएको शिक्षा समन्वय तथा एकाइ प्रमुख मतिलाल चपाईंले जानकारी दिनुभयो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले नारको नार आधारभूत विद्यालय र फूको फू आधारभूत विद्यालयका विद्यार्थी नार्पाभूमि फर्काइएको बताउनुभयो । उहाँले गत पुस ८ गतेदेखि नागार्जुन नगरपालिका–२ मा एउटा विद्यालयसँग सहकार्य गरी पठनपाठन गरेका विद्यार्थी नार्पाभूमि फर्काइएको बताउनुभयो ।

फूमा रहेको फू आधारभूत विद्यालय विद्यार्थी नभएका कारण बन्द छ भने नारमा रहेको नार आधारभूत विद्यालयमा बालविकास केन्द्रसहित जम्मा ११ जना विद्यार्थी छन् । विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक सङ्ख्या बढी देखिन्छ । २ जना स्थायी दरबन्दी र ३ बाल शिक्षिका गरी ५ जना शिक्षक रहेको नार आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या भने ११ छ । 

दुर्गममा विद्यार्थी पाउन कठिन छ । रोजगारको व्यवस्था नहुँदा यहाँका मानिसहरु बसाइँसराइ गएकाले विद्यार्थी सङ्ख्या एकदमै कम भएको निवर्तमान गाउँपालिका उपाध्यक्ष मिङ्माछिरिङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो, "हिजो पनि जङ्गल थियो, आज पनि जङ्गलै छ । काम गर्ने मानिस भएनन् ।"

त्यसैगरी बालविकास कक्षासहित यस शैक्षिक सत्रमा ११ जनाविद्यार्थी अध्ययनरत रहेको नार्पाभूमि गाउँपालिकाका शिक्षा समन्वय इकाइ प्रमुख मनिषा विकले जानकारी दिनुभयो। उहाँले जम्मा ११ जना विद्यार्थीले अध्ययन गरिरहेको बताउनुभयो । बालविकास कक्षाका लागि ३ जना बालशिक्षिका रहेका छन् । दुर्गमका बालबालिकालाई शिक्षा लिन गाह्रो भएको छ । काठमाडौंमा अध्ययन गरेका विद्यार्थीलाई वार्षिक परीक्षा सकेर नतिजा प्रकाशन गरी नयाँ शैक्षिक सत्रका लागि मात्र नार्पाभूमि लैजाने गरी पठनपाठनको व्यवस्था मिलाइएको थियो ।

यसैबिच सदरमुकाम केन्द्रित भएका सरकारी कार्यालय तथा प्रहरी चौकी पनि नार्पाभूमि फर्किएका छन् । स्थानीयहरु पनि पशुपन्छीसहित माथि लेकतिर जाँदै गरेको अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँले नार्पाभूमिमै बसेर सेवा प्रवाह गरिरहेको बताउनुभयो । चिसोका कारण ठप्प भएका पूर्वाधार निर्माणका कामहरु प्नि सञ्चालनमा आएका छन् ।