अत्तरिया समाचारदाता
अत्तरिया, जेठ २५ गते । कैलालीको धनगढीमा पहलमानसिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव २०८२ सुरु भएको छ । उक्त महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि कमलबहादुर शाहले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले पहलमानसिंह स्वाँर एक साहित्यक व्यक्तित्व मात्र नभएर नेपालको महान् व्यक्ति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको राजनीतिक परिवर्तनमा उहाँको ठुलो योगदान छ ।” मित्र राष्ट्र भारतका कला संस्कृति र विषयवस्तु आदानप्रदानको हिसाबले दुई देश जोडिन जरुरी रहेको मुख्यमन्त्री शाहले बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले पहलमानसिंह स्वाँरले साहित्यिक क्षेत्रको माध्यमबाट नेपालको राजनीतिक परिवर्तनमा ठुलो योगदान पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल–भारत खुला सीमानाका भएको देश हो हामीले एकअर्काका सिकाइ भोगाइ साहित्यका माध्यमबाट होस् या कार्यक्रमका माध्यमबाट होस् जोड्नु पर्छ ।” सम्मेलनमा नेपाल र भारतका साहित्यकारको सहभागिता रहेको छ । महोत्सवमा सांस्कृतिक झाँकी प्रदर्शन, कृति लोकार्पण तथा पहलमानसिंह स्वाँरमाथि प्राडा रामचन्द्र पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वमुख्यमन्त्री राजेन्द्रबहादुर रावल, डेउडा सम्राट् नन्दकृष्ण जोशी, प्राडा रामचन्द्र पोखरेल, प्राडा निर्मलमणि अधिकारी, प्राडा देवी नेपाल, प्राडा पीताम्बर अवस्थी, प्राडा हरिश्चन्द्र भट्ट, माधव वियोगीलगायत थुप्रै राष्ट्रिय कलाकार तथा साहित्यकार एवं विशिष्ट व्यक्तित्वहरूको सहभागिता छ । सम्मेलनको दोस्रो दिन केही विशिष्ट कविका रचना वाचन र साङ्गीतिक प्रस्तुतिसमेत रहने आयोजक सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले बताउनुभयो ।