• २५ जेठ २०८२, आइतबार

मजदुर सञ्चित कोष कार्यान्वयनमा

blog

मजदुर सञ्चयकोषमा आबद्ध भएकाहरू प्रमाणपत्र देखाउँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २४ गते । तनहुँको एक गाउँपालिकाले मजदुर सञ्चयकोष कार्यान्वयमा ल्याएको छ । म्याग्दे गाउँपालिकाले पालिकाभित्र काम गर्ने श्रमिकलाई कोषमा आबद्ध गराउँँदै कार्यान्वयनमा ल्याएको हो । मजदुरको बचत गर्ने बानीको विकाससँगै सामाजिक सुरक्षाको प्रत्याभुती गर्न कोष कार्यान्वयनमा ल्याईएको ६६ जनालाई आबद्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

कोषमा आबद्ध श्रमिकलाई गाउँपालिकाले प्रमाणपत्र वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले शुक्रबार सयुक्तमा कोषमा आबद्ध मजदुरलाई शुक्रबार प्रमाणपत्र प्रदान गर्नुभयो ।  

मजदुरका परिवारको शिक्षा, स्वास्थ्य, आवास, पोषण, मर्यादित रोजगारी , सम्मानपुर्वक जीवनयापनका लागि कोष स्थापना गरिएको म्याग्दे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

कोषका लागि गाउँपालिकाले १५ लाख रुपियाँ व्यवस्था गरेको अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार बचतको परिचालन, श्रमको सम्मान, उत्पादनकत्व अभिवृद्धि, सामाजिक आर्थिक विभेद अन्त्य, विपन्न मजदुर तथ्याङ्क सङ्कलनसँगै विकास निर्माणमा स्थानीय मजदुरलाई प्राथमिकता दिने उद्देश्यले स्थापना गरिएको हो ।  मजदुर सञ्चितकोष सञ्चालन कार्यविधि २०८१ बमोजिम पालिका भित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्षित गरी कोष स्थापना गरिएको अधिकारीले बताउनुभयो । 

अधिकारीले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर हुने मजदुर वर्गलाई लक्ष्य गरी  मजदुर सञ्चित कोष स्थापना गरेका छौं ।’ सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको १५ प्रतिशत पालिकाले र मजदुरको १५ प्रतिशत गरी ३० प्रतिशत सामाजिक सुरक्षाकोषमा योगदान गरिने भएको छ । 

भुक्तानीको क्रममा रकम ज्यालाबाट १५ प्रतिशत कट्टा गरे पश्चात पालिकाको तर्फबाट १५ प्रतिशत रकम मजदुरको बैँक खातामा बचत गर्ने व्यवस्था गरिएको छ । उक्त मजदुरले पालिकाबाट थप हुने १५ प्रतिशत रकम बाहेक स्वास्थ्य बिमा लगायतका अन्य सुविधा समेत पाउने व्यवस्था गरिएको अधिकारीले बताउनुभयो ।

मजदुरका परिवारको आर्थीक अवस्था मजबुत बनाउन तथा उनीहरूको शिक्षा, स्वास्थ्य, आवास निर्माण, पोषण जस्ता आधारभूत आवश्यकताको सुनिश्चित गर्न कोष स्थापना गरिएको गाउँपलिकाले जनाएको छ । गाउँपालिकाका अनुसार शिक्षा, स्वास्थ्य, आवास लगायतका मानवीय र सामाजिक विकासको अवस्था कमजोर भएका मजदुरका लागि ‘मजदुर सञ्चितकोष सञ्चालन कार्यविधि २०८१’ कोषको स्थापना गरिएको उहाँले बताउनुभयो । 

वडा स्तरीय विपन्न मजदुर सिफारिस समितिले वडामा प्राप्त भएका निवेदनहरू  मुल्याङ्कन गरि वास्तविक विपन्न मजदुर छनाेट गरिएको गाउँपालिकाले जनाएको छ । सूचीकृत हुनेले दिर्घकालिन रूपमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्त सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना लगायतका  सुरक्षा तथा सुविधा प्रदान हुन्छ ।

गाउँपालिका अनुसार उक्त कोष कार्यान्वयनमा ल्याउने म्याग्दे गाउँपालिका गण्डकी प्रदेशको दोश्रो र तनहुँको पहिलो स्थानीय तह हो । यस अघि स्याङजा जिल्लाको फेदीखोला गाउँपालिकाले उक्त कोष कार्यान्वयनमा ल्याएको थियो ।