गुल्मी समाचारदाता
गुल्मी, जेठ २५ गते । गुल्मीको सदरमुकाम तम्घासस्थित किरण पुस्तकालयद्वारा प्रकाशित हाम्रो पुरुषार्थ को सम्पूर्णाङ्क १०५ भारतीय नेपाली साहित्य र साहित्यकार विशेषाङ्क लोकार्पण गरिएको छ। भारतीय भूमिमा रहेर नेपालीहरुले नेपाली भाषा र साहित्यको लागि गरेका योगदानहरुको स्मृतिमा हाम्रो पुरुषार्थ को भारतीय नेपाली साहित्य र साहित्यकार विशेषाङ्क अङ्क प्रकाशन ल्याइएको हो।
शनिबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले एक औपचारिक कार्यक्रमका बीच सो पुस्तकको लोकार्पण गर्नुभएको हो। पुस्तकको लोकार्पण गर्नुहुँदै उहाँले किरण पुस्तकालयद्वारा प्रकाशित हाम्रो पुरुषार्थले अन्तर्राष्ट्रिय तहसम्म नेपाली भाषा, साहित्यलाई जीवन्त राख्न महत्वपूर्ण योगदान गरेको बताउनुभयो। लोकतन्त्रका लागि र सभ्य समाज निर्माणका लागि पुस्तकालयले योगदान पुर्याएको छ। उहाँले भन्नुभयो, नेपाली भाषा र साहित्यमा जस्तो आनन्द अरु केहिबाट प्राप्त गर्न सकिदैन। पछिल्लो समय समाजमा नकारात्मक भावनाको विकास बढ्दै गइरहेको अवस्थामा साहित्यबाट मन, विचार बदल्न सकिने बताउँदै यसैका माध्यमबाट समाजमा सकरात्मक सन्देश फैलाउन जरुरी रहेको बताउनुभयो। किरण पुस्तकालय गुल्मी जिल्लाकै गौरव गर्न लायक बौद्धिक सम्पत्ति भएको उहाँको भनाइ छ।
वि.सं. २०२५ सालमा स्थापना भएको यस पुस्तकालयले २०३० सालदेखि वार्षिक रुपमा प्रकाशित गर्दै आएको हाम्रो पुरुषार्थ २०३५ देखि ०६९ साल सम्म अर्धवार्षिक र त्यसपछि त्रैमासिक रुपमा प्रकाशित गर्दै आएको छ। यो पुस्तक राष्ट्रिय साहित्यिक पत्रिकामा क वर्गमा वर्गिकृत छ। यसका विभिन्न विशेषाङ्क प्रकाशित भइसकेका छन्। हाम्रो पुरुषार्थ को सम्पादक शशि पन्थी हुनुहुन्छ। यो अङ्क विशेषगरी भारतीय नेपाली साहित्यप्रति समर्पित रहेको पाइएको छ।
समालोचना विशेषाङ्क, लुम्बिनी अञ्चलको साहित्य र साहित्यकार विशेषाङ्क, पत्रकारिता विशेषाङ्क, भानु विशेषाङ्क, कथा विशेषाङ्क, पुस्तकालय विशेषाङ्क, बीपी विशेषाङ्क, डा. टिकाराम पन्थी विशेषाङ्क, स्वर्ण वर्ष विशेषाङ्क, सताङ्क विशेषाङ्क, रुरुक्षेत्र विशेषाङ्क लगायतका थुप्रै विशेषाङ्क प्रकाशित भएको सह-सम्पादक दीन पन्थीले बताउनुभयो।