• ४ जेठ २०८१, शुक्रबार

आश्रेयाको सफलता

blog

उमेर सानै छ । यति सानै उमेरमा पनि आश्रेया श्रेष्ठ निकै राम्रो नृत्य गर्छिन् । नाचेर कहिल्यै नथाक्ने उनी सबैलाई छक्कै पार्ने गरी नाच्छिन् । हँसिलो अनुहार, उस्तै लचिलो शारीरिक हाउभाउ र उनको नृत्य गर्ने कलाकौशल सबैलाई लोभ्याउने खालको छ । अरूभन्दा केही फरक भएकै कारण आश्रेयाले बेस्ट डान्सर नामक देशव्यापी प्रतियोगितामा बेस्ट डान्सरको उपाधि जितेर सबैलाई चकित पारिन । लाइफ ओके टेलिभिजनले गत महिना प्रसारण गरेको उक्त प्रतियोगिताबाट आश्रेयाले पुरस्कारस्वरूप एक लाख रुपियाँ नगद प्राप्त गरिन् । 

आश्रेया काठमाडौँको सामाखुसीमा रहेको ग्लोबल स्कुलमा कक्षा ५ मा पढ्छिन् । नृत्यमा मात्र होइन उनी तेक्वान्दो खेलमा पनि धेरै पटक जितेर पुरस्कार पाएकी छिन् । सानैदेखि नृत्य भनेपछि हुरुक्क हुने आश्रेया नाचेर कहिल्यै थाक्दिनन् । उनलाई गीत गाउन पनि मन पर्छ । विद्यालयमा आयोजना हुने हरेक कार्यक्रममा उनले सधैँ पुरस्कृत बन्ने अवसर पाएकी छिन् ।  प्रतिभाशाली आश्रेयाले  लाइफ ओके टेलिभिजनबाट प्रसारण भएको बालबालिका केन्द्रित बेस्ट डान्सर नामक प्रतिस्पर्धामा १३ राउन्डसम्म उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिइन् । अन्तिम विजेता बन्ने समयसम्म उनले मोर्डन डान्स, झ्याउरे, बेली, तामाङसेलो, नेवारी, मिक्स, हिपहपलागयतका दजैनौँ  गीतमा नृत्य गर्दै छानिएकी थिइन् । दर्शकबाट पनि उनको नृत्यलाई निकै रुचाइएको थियो । उनी अध्ययनरत विद्यालयबाट २५ जना विद्यार्थीले भाग लिएका थिए भने देशभरिबाट ५० औँ जना विद्यार्थी सहभागी थिए । सबैलाई पछि पार्दै आश्रेयाले नगद, ट्रफी, सम्मानपत्रलगायत धेरै कम्पनीबाट गिफ्ट पाएकी थिइन् । पहिलो राउन्डमा तिम्रो सम्झना आइरहने गीतमा नाचेर छनोट भएपछि धेरै नै हौसला बढेको बताउने आश्रेयाले निरन्तर मेहनत गर्ने बानीले विजेता बनेको अनुभव सुनाइन् । भविष्यमा राम्रो नृत्याङ्गना बनेर देशलाई चिनाउने मेरो धोको छ । कुराकानीका क्रममा आश्रेयाले भनिन, “परिवार र विद्यालयको साथ, सहयोग, हौसला र प्रेरणा भयो भने सानै उमेरमा पनि हामीले सफलता हासिल गर्न सकिन्छ ।”

प्रस्तुति : श्रद्धा अर्याल