• १३ साउन २०८१, आइतबार

निर्वाचनमा हवाई गस्ती पनि हुन्छ : गृहमन्त्री खाण

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै गृहमन्त्री बालकृष्ण खाण । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख ७ गते । गृहमन्त्री बालकृष्ण खाणले पाँच दलीय गठबन्धन कायमै रहने बताउनुभएको छ । अहिलेको सरकार गठबन्धनबाट नै निर्माण भएको स्मरण गर्दै उहाँले नेपाली कांग्रेस गठबन्धनकै पक्षमा रहने उल्लेख गर्नुभयो ।  बुधबार गृह जिल्ला रुपन्देही आउनुभएका मन्त्री खाणले निवासमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन समयमै हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘‘अब पनि निर्वाचन हँुदैन भन्ने कुनै सवाल नै रहेन, निर्वाचन समयमै हुन्छ, हामी स्वच्छ, निष्पक्ष निर्वाचन गराउँछौं, यसमा सरकार प्रतिबद्ध छ ।’’

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय नेपाली कांग्रेसको केन्द्रीय समितिले पनि गरिसकेको र महाधिवेशनबाट पारित भएको भन्दै उहाँले अब यसलाई कार्यान्वयनको दिशामा लैजानुपर्ने बताउनुभयो ।  ‘‘दलहरुसँग सहमति, सहकार्य र सहयात्रा हुनेछ, हामी यसमा प्रतिबद्ध छौं’’, उहाँले भन्नुभयो, ‘‘सबै प्रतिबद्ध हुनुपर्छ यसपटक एकै दिनमा देशभर निर्वाचन हुने भएकाले शान्ति सुरक्षाका लागि सरकारले रणनीति बनाएको छ ।’’

आवश्यकताका आधारमा हवाई गस्ती गर्ने भन्दै गृहमन्त्रीले नेपाली सेनाको हेलिकप्टर, निजी क्षेत्रको हेलिकप्टर पनि प्रयोग गरेर भए पनि अनुगमन र  निरीक्षण गर्ने उहाँको भनाइ छ । यस पटकको निर्वाचनमा नयँ ंदलहरु पनि भाग लिने भन्दै उहाँले विप्लव नेतृत्वको नेकपासँग पनि चुनावमा सहभागिताबारे चरणबद्ध छलफल भइसकेको बताउनुभयो ।

गृहमन्त्रीले दल दर्ता, चुनाव चिह्न, स्वतन्त्र उम्मेदवारी कसरी सहभागिता गराउन मिल्छ, त्यसैगरी सहभाागिता गराइने र यसका लागि निर्वाचन आयोग पनि सकारात्मक रहेको जानकारी दिनुभयो । एक जिज्ञासामा गृहमन्त्री खाणले राष्ट्र बैंकको पुनः गर्भनरको जिम्मेवारी सम्हाल्नुभएका महाप्रसाद अधिकारीबारेमा टिप्पणी गर्दै न्यायपालिकाको निर्णयको स्वागत गर्ने उल्लेख गर्नुभयो । 

कांग्रेसका प्रभावशाली नेतासमेत रहनुभएका खाणले गठबन्धनको विरोध गर्नुको औचित्य नहुने भन्दै सबैलाई पार्टीको अनुशासनमा बस्न आग्रह गर्नुभयो ।