• ८ पुस २०८१, सोमबार

‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र

blog

मित्र भण्डारी 

काठमाडौँ, वैशाख ६ गते। नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता-२०७८ मा ‘सेनाको चेली’ नामक वृत्तचित्र उत्कृष्ट स्थान हासिल गरेको छ।  जनसम्पर्क तथा सूचना निर्देशनालाले ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता-२०७८’, ‘नेपाली सेना फोटो प्रतियोगिता-२०७८’, ‘सिपाही २०२२’ फोटो तथा विभिन्न प्रदर्शनी-२०७८ आयोजना गरेको थियो। 

१२ वर्षे सशस्त्र द्वन्द्वमा सैनिक भाइ र विद्रोही दिदीको मुख्य कथामा आधारित वृत्त चित्रमा  दोहोरो भिडन्तमा आफू अपाङ्ग र श्रीमान मारिएपछि विक्षिप्त बनेकी दिदी र भाइबीचको सम्बन्ध बिग्रदै जान्छ। 

वर्षौपछि दिदीको हातबाट तिहारको टीका लगाउन आएका भाइसँग दिदी रुष्ट बन्छिन्। कर्तव्य पालनको क्रममा गोली चलाउन आफू बाध्य रहेको र हरेक सिपाहीले उक्त जिम्मेवारी बहन गर्नुपर्ने भाइको बाध्यता सुनेपछि दिदी भाइबीच सम्बन्ध सुधार हुन्छ।  

त्यस्तै, कोभिड सङ्क्रमणका बेला सैनिकले खेलेको भूमिकामा आधारित ‘सेता मलामी’ लघु चलचित्र दोस्रो भएको छ। आमा गुमाएकी तथा बुवा सैनिकको जागिरमा व्यस्त रहँदा एक्लो महसुस गरेकी बालिकाको कथामा आधारित ‘डोल्मा’ वृत्त चित्रले तेस्रो स्थान हासिल गरेको छ। 

मङ्गलबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजिक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले  उत्कृष्ट प्रतियोगीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो।

समारोहमा उत्कृष्ट फोटो प्रतियोगिता अन्तर्गत सैनिक तथा गैर-सैनिकतर्फ पाँच जना र सैनिकतर्फ १० फोटोग्राफर पुरस्कृत हुनुभएको छ।  नेपाली सेनाले २०२४ सालदेखि वार्षिक रुपमा प्रकाशन गर्दै आएको सिपाही अङ्क-२०७८ र शिवपुरी- २०२२ मा उत्कृष्ट लेखनतर्फ तीन-तीन जनालाई पुरस्कार प्रदान गरिएको छ। 

सेनाले विभिन्न तालिम तथा समारोहमा सहभागी भएर उत्कृष्ट कला प्रर्दशनी गर्ने विभिन्न युनिटका प्रतिनिधि तथा फोटो उत्कृष्ट फोटो सङ्कलन गर्ने सैनिक कर्मचारीलाई पुरस्कार प्रदान गरिएको छ।  सेनाको इतिहास र महत्व उजागर गर्ने उद्देश्यले जनसम्पर्क तथा सूचना निर्देशनालयले यस्तो प्रतियोगिताको आयोजना गर्दै आएको छ।