• १३ साउन २०८१, आइतबार

विद्युत अनियमितताले सर्वसाधारण समस्यामा

blog

सिराज खान
नेपालगञ्ज, वैशाख ७ गते ।
सरकारले देशलाई लोडसेडिङ मुक्त घोषणा गरिसकेको छ । तर नेपालगञ्ज र बाँकेसहितका जिल्लामा अघोषित लोडसेडिङका कारण आमनागरिक समस्यामा पर्ने गरेका छन् ।
केहीँ दिन भएता बढेको अत्याधिक गर्मीका बीच अघोषित रुपमा भइरहेको लोडसेटिङले आमनागरिकको जीवन कष्टकर बन्दै गएको छ ।

स्थानीय अगुवा कृष्णप्रसाद श्रेष्ठले विद्युत् आपूर्ति असहज नहुँदा अधिकांश जिल्लावासीले सास्ती खेप्नुपरेको बताउनुभयाे ।

उहाँले विद्युतमा भइरहेको अघोषित लोडसेडिङका बारेमा पटक–पटक प्राधिकरणको ध्यान आकर्षण गराउँदा समेत कुनै सुधार नभएको विद्युत् अनियमितता जारी नै रहेको गुनासो गर्नुभयो ।

त्यस्तै, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरन्जीवी ओलीले बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दा विद्युत् अपूर्ति असहज नहुँदा झन् अाक्रोशित बनेको बताउनुभयो ।

उहाँले विद्युत् अनियमित हुँदा एकातिर गर्मीको बेला स्थानीयलाई समस्या भएको र अर्कोतिर उद्योग व्यवसायमा पनि प्रभाव परेको बताउनुभयो ।

विद्युत् समस्याकै कारण अधिकांश उद्योगले आवश्यक पर्ने सामान उत्पादन गर्न नसकेर घाटा व्यहोर्न बाध्य भएको गुनासा सङ्घको कार्यालयमा दैनिजसो आउने गरेको बताउनुभयो ।

यस्तै, सामाजिक अभियन्ता विवेककुमार श्रेष्ठले पनि अघोषित लोडसेडिङका कारण नेपालगञ्जवासी हैरान बनेको बताउनुभयो । 

उता, विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले नेपालको लाइनबाट विद्युत् आपूर्तिमा लोडका कारण समस्या भइरहेकोले विद्युत अनियमित हुने गरेको वितरण केन्द्र प्रमुख दिवाकर प्याकुरेलले बताउनुभयो ।

उहाँले सो आपूर्ति सिस्टमबाट हुने गरेकोले अलिकति लोड बढ्नेबित्तिकै सिस्टमबाटै विद्युत् आपूर्ति बन्द हुने गरेको जनाउँदै त्यसका लागि आफूले माथि निरन्तर जानकारी गराउने गरिरहेको बताउनुभयो ।

प्रमुख प्याकुरेलका अनुसार नेपालगञ्जमा भारतीय क्षेत्रबाट १० मेगावाट र नेपालको राष्ट्रिय प्रसारण लाइनबाट २० मेगावाटसम्म विद्युत् आपूर्ति भइरहेको भए पनि राष्ट्रिय प्रसारण लाइनबाट हुने आपूर्तिमा समस्या भइरहेको छ ।

गर्मीका बेला हरेक वर्ष नेपालगञ्जको विद्युत् आपूर्तिमा यस्तै समस्या हुँदै आए पनि यसको दीर्घकालीन निकासका लागि ठोस काम हुनसकेको छैन ।