• १३ साउन २०८१, आइतबार

खानेपानी न्यायोचित वितरण गर्न निर्देशन

blog

मेलम्चीको पानी वितरणका लागि काठमाडौँको चावहिलस्थित धोबीखोला पुलमुनि पाइप सफा गरिँदै ।

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख ७ गते  ।  खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी उपत्यकावासीलाई न्यायोचित रूपमा वितरण गर्न निर्देशन दिनुभएको छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको मङ्गलबार निरीक्षण गर्दै मन्त्री चौधरीले चुहावट रोकी न्यायोचित रूपमा वितरण गर्न मातहतका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

मन्त्री चौधरीले भन्नुभयो, “उपत्यकामा वितरण हुने पानी ४० प्रतिशत चुहावट भइरहेको पाइएको छ, यसलाई नियन्त्रण गरी पानीको यथोचित वितरणको  व्यवस्था मिलाउनुहोस् ।”

उहाँले कतिपय स्थानमा पर्याप्त पानी पुगिरहेको तर अधिकांश घर तथा बस्तीमा हप्तौँसम्म पानी नआउने समस्या तत्काल समाधान गर्नसमेत निर्देशन दिनुभयो । उहाँले पानीको चुहावट रोक्न पाइप लाइन तथा मिटर जडानलाई समेत कडाइसाथ अनुगमन 

गर्नुपर्ने बताउनुभयो ।

मेलम्चीको मुहानबाट गत चैत २९ गते पथान्तरण गरेको पानी सुन्दरीजल आइपुगेपछि वितरणको तयारीबारे जानकारी लिन मन्त्री चौधरी वितरण केन्द्र पुग्नुभएको थियो । उहाँले पानी सञ्चालन गर्दा आउन सक्ने सम्भावित प्राविधिक समस्याबारे पूर्वतयारी अपनाउन निर्देशन दिनुभएको छ । मुहानदेखि घरका धारासम्म आउन सक्ने समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली तैनाथ राख्नसमेत निर्देशन दिनुभएको छ ।

आगामी वैशाख ११ गतेदेखि मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने तालिका तय भएसँगै त्यसको अनुगमन तथा निरीक्षणका लागि मन्त्री चौधरीसहित प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजनालगायत खानेपानी आयोजनाका प्रमुखसहितको टोली निरीक्षणका लागि पानी प्रशोधन केन्द्र सुन्दरीजल पुगेको थियो ।