कविता अमूल्य हो कि बिनामूल्यको पदार्थ हो ? नेपालमा कविता वा साहित्यिक रचना लेखेर मात्र गरिखानेहरू कति होलान् । के कविता अर्थहीन जिनिस नै हो त ? धेरैले कवितालाई अनुत्पादक वस्तुको संज्ञा दिएका हुन सक्छन् । के गर्छ कविता लेखेर भन्नेहरूकै सङ्ख्या धेरै नै पाइन्छ । कवितालाई ‘जब’ भन्ने हो भने जब (पेसा) स्याटिस्फ्याक्सनबारे सोचौँ न । सरकारी कर्मचारीहरूको ठुलो सङ्ख्या, त्यसमा पनि नेपाल राष्ट्र बैङ्कका कर्मचारीले आफ्ना छोराछोरी आफ्नै पेसामा आउन भन्ने चाहेका पाइन्छ तर को चाहिँ कविले मेरा दरसन्तान कवि होस् भन्ने कामना गर्ला नेपालमा ? जब (पेसा) स्याटिस्फ्याक्सनबारे एउटा सामान्य अनुसन्धान यसरी पनि गर्न सकिन्छ ।
कविता लेखेर विश्वका एक तिहाइ देश घुमेको छु, आफू पालिने गरी कमाएको छु विदेश जाँदा र फर्कंदा खर्च गर्नु पर्दैन, उल्टै साथीभाइले सद्भाव स्वरूप पकेट खर्च दिन्छन्, नेपालमा त्यो रकमले ठुलै भरथेग गर्छ भनेर सार्वजनिक ठाउँमा बोल्न सक्ने कवि तुलसी दिवसलाई सुन्ने हो भने ‘कविताको अर्थशास्त्र’ राम्रै देखिन्छ । कविता केही होइन भन्नेहरूलाई राम्रै उत्तर मिल्छ तर कविता सबैथोक हो भन्नेहरूलाई निबन्धकार शङ्कर लामिछाने (१९८४ चैत ५–२०३२ माघ १०) को साइड बिजनेसले अर्को उत्तर दिन्छ । लामिछानेलाई हे¥यो भने निबन्धले पाल्न नसकेपछि उनको जीवनको कुनै कालखण्ड पर्यटक डुलाउन खर्च भएको देखिन्छन् । निबन्धले पालेन उनलाई । यस्तै घरखर्च जुटाउन महाकवि देवकोटाले ट्युसन पढाउनु परेर वा लामिछमनेसँगै पर्यटक घुमाउने काममा लाग्दा अर्को शाकुन्तल महाकाव्य लेख्न भ्याएनन् कि ! हरिभक्त कटुवालका दिन पैसाकै अभावमा बिते । उतिखेर रेडियो नेपालले गीतबापत दिने एडभान्स गीत लेख्नु अगाडि नै कटुवालले सिध्याएका हुन्थे । मनु ब्राजाकीले गजलको पारिश्रमिक बुझेपछि गोरखापत्रका गोपाल भट्टराईलाई दारु खान गरेका अफरहरू पनि आनन्द थिए कि अभाव भन्नेमा बहस गर्न सकिन्छ । ताना शर्माले कक्षा ९ र १० को पाठ्यपुस्तक लेखेको पारिश्रमिक नपाएको भन्दै आफूलाई लेख्न जाँगर मर्दै आएको भनी शरद प्रधानलाई लेख्नु भएको पत्र–निबन्धले आँखामा आँसु ल्याउँछ । कतै लेखेर गल्ती पो गरिएछ कि भन्ने द्विविधा ल्याउन सक्छ । यस्तै वरिष्ठ समालोचक तारानाथ शर्माले बिनापारिश्रमिक भूमिका नलेख्ने भनी लेखमार्फत दिनुभएको जानकारी असन्तुष्टिको प्रदर्शन थियो कि अभियानको समीक्षा हुँदै जाला ।
कृष्ण धरावासीले पनि बिनापारिश्रमिक भूमिका नलेख्ने भनेर सामाजिक सञ्जालमा लामै पोस्ट राख्नुभयो तर आफ्ना सबै पुस्तकमा लेखिएका भूमिकाबापत पारिश्रमिक दिनुभयो भएन त्यो पनि लेखिदिनुभएको भए अभियानले थप सार्थकता र समर्थन पाउने थियो तर उहाँको विचारको खण्डन गर्नुपर्ने वा उहाँसँग असहमत हुनुपर्ने छैन ।
भूमिका लेखेबापत पैसा लिने कि नलिने भन्नेमा ‘वर्ग विभाजित’ छ । वर्ण विभाजित छ । एउटा भन्छ लिन हुँदैन, अर्को भन्छ लिनु पर्छ । मध्यस्थ वर्ग निस्कियो अर्को । ऊ भन्छ पुस्तकको लेखलाई पहिले नै रकमसहितको जानकारी दिएर भूमिका लेख्नु राम्रै हुन्छ । कुरो वर्गको मात्र होइन ‘वर्ण’ को पनि हो । कुनै दिन गुरुले खान्की (तलब) थाप्नु पनि भूमिका लेखनको विवाद जस्तै थियो होला– “गुरुले द्रव्यमा दक्षिणा लिन हुन्छ वा हुँदैन ।” जब सारा मानव समाजको वैश्यीकरण (व्यापारीकरण) हुन्छ भने गुरुले तलब नलिए कसरी पेट पाल्ने ? यसरी हेर्ने हो भने अहिले नेपाली समाजमा जो छन् वैश्य मात्र छन् । विश्वमै पनि यही हो । जब सारा विश्वमा व्यापारीकरणको वातावरण छ भने भूमिका लेखेर पारिश्रमिक लिन लाज र दकस मान्नु पर्दैन । पारिश्रमिक लिएर पनि आग्रहरहित (भ्यालु फ्री) भूमिका लेखिदिए पुग्छ तर पुस्तक विमोचनमा बोलिने जस्तो व्यापार प्रवर्धनको लक्ष्य राखेर गरिने समीक्षाका लागि ‘विज्ञापन शुल्क’ लिने कि सही भूमिका लेखेर पारिश्रमिक लिने हो भन्नेमा भूमिका लेखकहरू नै स्पष्ट हुनु पर्छ । पारिश्रमिक लिँदैमा आग्रहमुक्त भूमिका लेखिँदैन भन्ने होइन । भूमिका लेख्नेहरूको परीक्षण पाठक र अन्य विज्ञले गरिरहेका हुन्छन् । आफ्नो विज्ञता धूमिल हुने गरी कसैले पनि पारिश्रमिककै लागि लेख्छ भन्नु द्रष्टाप्रति गरिएको अविश्वास मात्र होइन, अवहेलना पनि ठहर्छ ।
पारिश्रमिक लिने नलिने जस्तो विवाद मूलतः व्यक्तिगत हुन्छ तर कालान्तरमा यसले एउटा संस्कृतिको निर्माण गर्छ । भूमिका लेखाउन जाँदा पनि पैसाको जाहो गर्नुपर्ने संस्कृति बस्यो भने यस्तो विवादको अन्त्य भइहाल्छ ।
पुस्तक छपाइ गर्दा प्रेसलाई पैसा तिर्नु पर्छ कि पर्दैन भन्ने विवाद हुँदैन त । प्रेसलाई पैसा तिर्नु निर्वावाद हुन्छ भने भूमिका लेखनलाई किन विवादको घेरामा राख्ने ? यसलाई ‘स्वचालित’ बनाइदिए भइगयो तर आखार हेर्ने कच्चा ज्योतिषीले जस्तो ठुलो भेटी देखे ग्रह राम्रा छन् भन्ने, त्यस्तो भेटी नदेखे उल्का ग्रह भन्ने गर्नुभएन । पारिश्रमिक लिँदैमा सबै भूमिका लेखक वा समालोचकले धर्म छाड्छन् भन्ने हुँदैन ।
गीत, कविता वाचन गर्नेलाई हल्काफुल्का पारिश्रमिक दिने अभियान नेपालमा नचलेका होइनन् । कविको पारिश्रमिकलाई पूजा गर्नु पर्छ भन्ने मान्यताको धेरथोर प्रयोग पनि भएका छन् तर अझै पनि कविता वाचनलाई अमूल्य होइन बेमूल्य बनाइने परिपाटी नै प्रधान रहिआएको छ । मानव अधिकार तथा शान्ति समाजले मासिक शान्ति काव्य प्रवाहमा वाचन गरिने कविताको परिश्रमिक दिँदै आएको छ । समाजका अनुसार यो पारिश्रमिक प्रदान गर्ने परम्परा होइन, कविताको पूजा गर्ने आरधना हो । समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी भन्नुहुन्छ– ‘रकमको अंश नसोध्नुस् तर कविताको पूजा गरेकै छौँ ।’ यस्तै ‘हामी कवि र कविता’ अभियान अन्तर्गत सर्वनाम नाट्य समूहले प्रत्येक महिना दुई जना कविका कविता सुन्ने, सुनाउने र पारिश्रमिक उपलब्ध गराउने गरेर राम्रो थलनी गरेको छ । यस्तै पोखरामा ‘पुछारसिटे अभियान’ ले कविता वाचनबापत पारिश्रमिक प्रदान गरेर निकै सनसनी मचाएको हो । यति मात्र होइन सर्वनामले जस्तै पुछारसिटेले पनि कवितालाई ‘पर्फर्मिङ आर्टस्’ बनाउन विशेष योगदान दिएको छ तर कविताको नाटकीकरण वा कविताको अभिनयी प्रस्तुति कति उपयुक्त हो भन्ने बहसलाई अन्य सन्दर्भमा उल्लेख गर्न सकिन्छ ।
नुवाकोटको विदुरमा बसिबियाँलो नुवाकोटले नयाँ साहित्यिक अभियानको सुरुवात गर्र्दै साहित्यिक रचना वाचन गर्ने स्रष्टाहरूलाई हातहातै पारिश्रमिक प्रदान गरेको समाचारले पनि साहित्य र पारिश्रमिकको इतिहासमा आफ्नो विशेष स्थान सुरक्षित गर्ने नै छ । भैरहवा, बुटवल, काठामाडौँमा पनि यदाकदा कविता÷गजल÷मुक्तक सुन्न टिकट काटिएका समाचार नआएका होइनन् । कविताकै कारण दुई दर्जन देश घुमेका दाबी गर्ने अन्य कविहरू पनि नभएका होइनन् ।
कविता प्रतियोगिता, कविताको कन्सर्ट, पोइट–आइडल प्रतियोगिता पनि हुँदै छन् । रेडियो नेपालमा कविता वाचन गरेर पारिश्रमिक लिएको अनुभव समकालीन अधिकांश कविहरूलाई छ । मेला, महोत्सवमा गीत, गजल, कविता वाचन गरेर कविहरूले आक्कल झुक्कल नगद आम्दानी गरेका समाचार पनि आएकै छन् । यस्तो अवसरमा कविहरूभन्दा आधुनिक गायक तथा लोक गायकहरूले पछिल्ला दिन धेरै कमाउने गरेका छन् ।
कविताको परिश्रमिक लिने कि नलिने भन्नुभन्दा पहिला म किन कविता लेख्छु भनेर स्पष्ट हुनै पर्छ । सित्तैँमा नसुनाउने हो भने नसुनाउने । अलिकति त प्रतिरोध पनि गर्नु पर्छ । पारिश्रमिकाका लागि नेपाली साहित्यमा गरिएको समूहगत प्रतिरोधको श्रीगणेश र नेतृत्व राल्फ अभियानले गरेका हुन सक्छ । रेडियो नेपालमा रोयल्टीको भुक्तानीमा गरिने पक्षपातविरुद्ध थालिएको सानो अभियानले पछि गएर नेपाली वामपन्थी आन्दोलनलाई अन्तुको उचाइमा पु¥याइएको हो, राल्फको नामबाट । तसर्थ भूमिका लेखन वा रचना वाचनको पारिश्रमिकलाई निःशुल्क, सशुल्क, अमूल्य वा बेमूल्य बनाउने जिम्मा द्रष्टा, स्रष्टाहरूकै हो ।