• १३ साउन २०८१, आइतबार

चुनावी तालमेलको निर्णय गर्ने अधिकार पालिकास्तरीय कमिटीलाई

blog

सर्लाही सदरमुकाम मलङ्गवामा बसेको गठबन्धन दलको बैठक । तस्बिर - जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, वैशाख ६ गते । सर्लाहीमा सत्तारुढ गठवन्धनले चुनावी तालमेल गर्ने अधिकार पालिका स्तरीय कमिटीलाई सुम्पिएको छ । मङ्गलबार सदरमुकाम मलङ्गवामा बसेको सत्तारुढ गठवन्धनका नेताहरुको बैठकले चुनावी तालमेलबारे निर्णय गर्ने अधिकार पालिका स्तरीय कमिटीलाई दिने र त्यसमा जिल्लाले समन्वय गर्ने निर्णय गरेको हो ।

सत्ता गठवन्धनभित्रका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच पालिकाहरुमा आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय भएको नेपाली काँग्रेस सर्लाहीका पूर्व जिल्ला सभापति नागेन्द्रकुमार रायले जानकारी दिनुभयो ।

जिल्लाबाट निर्णय गर्दा तल्ला कमिटीले सो निर्णय अस्वीकार गर्न सक्ने र त्यसबाट गठबन्धनभित्र थप फाटो आउन सक्ने भएकाले स्थानीय अवस्था र कार्यकर्ताको माग अनुसार चुनावी तालमेलबारे निर्णय गर्ने अधिकार पालिकास्तरीय कमिटीलाई नै दिइएको रायले बताउनुभयो । नेकपा माओवादी केन्द्र सर्लाहीका संयोजक कमल बुढाथोकीले सम्भव भएसम्म जिल्लाका २० वटै पालिकामा चारवटै दलबीच तालमेल गर्ने र नभए गठबन्धनभित्रकै दुई वा तीन दलबीच भए पनि चुनावी तालमेल गर्ने निर्णय भएको बताउनुभयो । 

चारवटै दलबीच तालमेल नभएको अवस्थामा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको बुढाथोकीले बताउनुभयो । बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी)की नेत्री एवं प्रदेश सभा सदस्य बेची लुङ्गेलीले गठबन्धनभित्रका दलबीच चुनावी तालमेलसँगै कहाँ कुन दलले नेतृत्व लिने भन्ने निर्णय पनि तल्लो कमिटीले नै गर्ने गरी छलफलबाट उठेको जानकारी दिनुभयो । 

गठबन्धनको बैठकमा नेपाली काँग्रेसबाट जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, पूर्व केन्द्रीय सदस्य जङ्गीलाल राय, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ र नेता कृष्णदेव यादव, नेकपा माओवादी केन्द्रबाट पूर्वमन्त्री रामेश्वर राय यादव, केन्द्रीय सदस्य अच्यूतम काफ्ले, जिल्ला संयोजक कमल बुढाथोकी सहभागी हुनुहुन्थ्यो ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट जिल्ला अध्यक्ष सुरेन्द्र लामा, प्रदेशसभा सदस्यद्वय डिल्लीप्रसाद अधिकारी र बेची लुङ्गेली, जिल्ला सचिव गोविन्द अधिकारी र जनता समाजवादी पार्टी (जसपा) बाट बहालवाला कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादव, सर्लाही क्षेत्र नं. १ का सङ्घीय सांसद प्रमोद साह, जिल्ला अध्यक्ष वीरेन्द्र राय, प्रदेशसभा सदस्य अशोक यादव, जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी बैठकमा सहभागी हुनुभएको थियो । 

चुनावी तालमेल हुने नहुने भन्ने अन्यौलताका कारण सर्लाहीमा सत्तारुढ गठबन्धनले उम्मेद्वार छान्न सकिरहेका छैनन् । जिल्लामा अहिलेसम्म कुनै पनि दलसँग तालमेल गर्ने निर्णय नगरेको नेकपा एमालेले भने धमाधम आकांक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरिरहेको छ ।