• २४ वैशाख २०८१, सोमबार

दोजाम कर्णालीमा बेलिब्रिज निर्माण गर्न माग

blog

काठमाडौं डेलिगेशन जानुअघि जिल्लामा बसेको सर्वपक्षीय बैठकका सहभागीहरु । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, वैशाख १२ गते । कर्णाली करिडोरको हुम्ला खण्डको खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णालीमा बेलिब्रिज निर्माणको माग लिएर हुम्लाका जनप्रतिनिधि काठमाडौं डेलिगेशन जानुभएको छ । उक्त नदीमा असारसम्म बेलिब्रीज निर्माण नभए यस आर्थिक वर्षमा पनि सरकारको लिएको लक्ष सदरमुकाम सिमकोट सडक सञ्जालसँग नजोडिने देखिएपछि जनप्रतिनिधि पुल निर्माणको माग लिएर काठमाडौं डेलिगेशन जानुभएको हो । 

जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले असारसम्म सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि दोजाम कर्णाली नदीमा तत्कालका लागि बेलिब्रीज निर्माणको माग लिएर जनप्रतिनिधिहरु काठमाडौं लाग्नुभएको बताउनुभयो । सो नदीमा बेलिब्रीज निर्माण नभए असारसम्म सदरमुकाम सिमकोट सडक सञ्जालसँग नजोडिने पक्का देखिएपछि जिल्लामा बसेको सरोकारवालाको बैठकले माग लिएर जनप्रतिनिधि काठमाडौं डेलिगेशन जाने निर्णय गरे अनुसार आफूहरु त्यसतर्फ लागेको उहाँले बताउनुभयो । उहाँले सरकारले लक्ष मात्र यस आर्थिक वर्षमा हालसम्म एक मात्र राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको सदरमुकाम सिमकोटमा जोड्ने भन्ने तर त्यसका लागि आवश्यक पूर्वाधार निर्माण नगर्ने भने कसरी सडक सञ्जाल जोडिएला भन्ने उहाँले प्रश्न गर्नुभयो । 

डेलिगेशन टोलीले कर्णाली करिडोर कै पाँच् वटा चट्टानी भीरहरु दुल्ली कुना, बोक्चे गौढा, भिगौढा, च्याछरा र याल्वाङ् गौढाको चट्टानी भीरको सडकको स्तरोन्नतीको काम पनि नेपाली सेनालाई दिन माग राख्ने छ । उहाँले माग लिएर पहिले भौति पुर्बाधार तथा यातायात मन्त्री रघुबीर महासेटलाई भेट्ने बताउनुभयो । उहाँले सो पुलको निर्माण कार्य पनि नेपाली सेनालाई दिन माग राखिने बताउनुभयो । त्यसैगरि रक्षा मन्त्रीसंग पनि डेलिगेशन जाने उहाँले बताउनुभयो । 

उहाँसँगै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी पनि जानुभएको छ । काठमाडौंमा रहनुभएका सङ्घीय संसदमा हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्नु हुने सांसद छिरिङ डम्डुल लामाको पनि डेलिगेशनमा सहभागिता रहने भएको छ ।