• ६ जेठ २०८१, आइतबार

‘रामचन्द्र–इन्दु गौतम पत्रकारिता पुरस्कार’ शर्मालाई

blog

पुरस्कृत हुन लाग्नुभएका वरिष्ठ पत्रकार निर्मला शर्मा । फाइल तस्विर

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २३ गते । नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले प्रत्येक वर्ष प्रदान गर्दैआएको रामचन्द्र इन्दु गौतम पत्रकारिता पुरस्कार २०८० वरिष्ठ पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।   

गोरखापत्र प्रतिष्ठान शाखाले गठन गरेको पुरस्कार छनौट समितिले २०५२ सालदेखि पत्रकारिता गर्दै आउनुभएकी पत्रकार शर्मालाई सो पुरस्कार दिने निर्णय गरेको हो । गोरखापत्र प्रतिष्ठान शाखाले गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक निर्मलकुमार आचार्यको संयोजकत्वमा पुरस्कार छनौट समिति गठन गरेको थियो । 

पुरस्कारको राशी नगद ५० हजार तथा सम्मानपत्र रहेको छ । पत्रकार शर्मा हाल दक्षिण एशियाली पत्रकार महिला सन्जाल नेपालको अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघको सल्लाहकार पनि हुनुहुन्छ । शर्मा विगत २८ वर्षदेखि निरन्तर पत्रकारितामा हुनुहुन्छ । उहाँ समकोण टेलिभिजन कार्यक्रमको प्रस्तोता पनि हुनुहुन्छ । 

यसैगरी नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले प्रदान गर्ने गोरखापत्र पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका नायव कार्यकारी सम्पादक सरोज अधिकारी र फोटो पत्रकार शेखर चौलागाईलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ । 

यसैगरी गोरखापत्र क्रियाशील पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्र र गोरखापत्र अनलाइन प्रकाशनका संयोजक तथा उपसम्पादक  लोकबहादुर चौधरी (लक्की) लाई प्रदान गर्ने निर्णय गरेको छ । यी पुरस्कारको राशी जनही ५ हजार र सम्मानपत्र रहेको छ ।

प्रतिष्ठान शाखाले प्रदान गर्दैआएको सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका उपसम्पादक अजय शर्मा र दि राइजिङ नेपालका समाचारदाता इन्दिरा अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ । उहाँहरुलाई जनही नगद पाँच हजार र सम्मानपत्रसहित सम्मानित गरिने प्रतिस्ठानले जनाएको छ ।