• १२ साउन २०८१, शनिबार

ग्यारेजमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति

blog

आगलागीका कारण जलेर नष्ट भएको ग्यारेज । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, जेठ ५ गते । 
स्याङ्जाको वालिङ नगरपालिका–६ मिर्दीमा रहेको एक ग्यारेजमा आगलागी हुँदा एक करोड ५० लाखभन्दा धेरै क्षति भएको छ । गह्रौंकालिका अटो सेन्टरमा शुक्रबार राती भएको आगलागीमा परेर बिक्रीका लागि राखिएका मोटरपार्टस, ग्यारेज तथा संरचना जलेर पूर्णरुपमा नष्ट भएको ग्यारेजका सञ्चालक राजु तिवारीले बताउनुभयो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको वडा प्रहरी कार्यालय वालिङका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो । ग्यारेजमा रहेका सामग्री तथा संरचना जलेर पूर्णरुपमा नष्ट भएको उहाँको भनाइ छ । एक करोड पचास लाखभन्दा धेरै क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

ग्यारेज तथा पसलमा लागेको आगो वालिङ नगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा राती नै नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।