• १२ साउन २०८१, शनिबार

समृद्धिका लागि एमाले नै चाहिन्छ : उपमहासचिव गुरुङ

blog

कार्यक्रम उदघाटन गर्नुहुँदै नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ।

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ ५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र बिकासका लागि एमाले बाहेक अरु कसैले पनि नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘एमालेबिना मुलुकको समृद्धि र विकास सम्भव छैन, त्यसैले अबका हरेक स्थानको नेतृत्व एमालेले नै गर्नुपर्छ ।’ नेकपा (एमाले) जिल्ला कमिटी मुस्ताङको आठौं जिल्ला अधिवेशनको शनिबार जोमसोममा उद्घाटन गर्दै उहाँले मुलुकको समृद्धि र विकासलाई गतिशील तुल्याउन एमाले मात्र राष्ट्रको एकमात्र निर्णायक शक्ति भएको उहाँले चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेस लोकतन्त्रको वकालत मात्र गर्छ, तर व्यवहार देखाउन सक्दैन, एमाले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छ ।’ एमाले देश र जनताको पक्षमा सोच्छ, तर अरु पार्टी पूँजीपति वर्गको हितमा काम गर्छन्, भ्रष्ट र तस्करीको पक्षपोषण गर्छन्, उहाँले भन्नुभयो । 

मुस्ताङको आठौं जिल्ला अधिवेशन आउनु भएका उहाँले सबैजसो पार्टीलाई कटाक्ष गर्नुभएको थियो । एमाले पार्टी बाघ भएकाले मात्र सबै परिस्थितिको सामाना गर्नसक्ने उहाँको तर्क छ । विगतमा एमालेजस्तो पार्टीलाई लत्याएर अर्को पार्टीसँग कुम जोड्न पुगेका शक्तिहरु पनि पुनः आफ्नो धरातल सम्झेर पुरानै मार्गमा आएको धारणा राख्नुभयो । 

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने सपना देखेर पार्टी फुटाएरै भए पनि नयाँ पार्टी खोलेको भए पनि त्यो सपना सँधै सपना मात्र रहने उहाँको तर्क छ । एमाले र एकीकृत समाजवादी पार्टीको नीति सिद्धान्त, संगठन र कार्यदिशामा फरक नभए पनि पार्टी अध्यक्षसँग भएको पदको लोभले मात्र नयाँ पार्टीका रुपमा त्यो पार्टी जन्मेको उहाँको तर्क छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा मुलुक बनाउने कुनै भिजन नभएको तथा अमेरिकाको नेशनल फ्रिडम पार्टीको लोगो स्थापित गरेर नेपालमा खोलिएको पार्टी मात्र भएको उहाँको टिप्पणी छ ।

एमाले सचिव गोकर्ण बिष्टले संसदमा दुई पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अशिष्ट, अराजनैतिक र अपराधिक ढंगले नेपाली कांग्रेस प्रस्तुत हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । एमाले लोकतान्त्रिक पद्धति र अभ्यासमा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसले असंसदीय हर्कत देखाए पनि एमालेले त्यस्तो कहिल्यै नगर्ने तर्क गर्नुभयो । 

केही दलले सरकारबाट बाहिर निस्कनु परेको पीडाले होस् गुमाएजस्तो व्यवहार देखाउन थालेको बताउनुभयो । जनताले पठाएका जनप्रतिनिधिले जनताको आवाजलाई मुखरित गर्नु पर्ने भए पनि कांग्रेसले कुण्ठित गर्न खोजेको उहाँले लगाउनुभयो । एमालेको आठौं जिल्ला अधिवेसनबाट नयाँ नेतृत्व चयन हुनेछन् ।