• ११ पुस २०८१, बिहिबार

गोरखापत्र स्थापित सन्दर्भ र सम्पादकबारे सवाल

blog

आममानिसले सजिलै बुझ्ने गरी आफ्नो जन्म मिति थाहा पाउन गोरखापत्रलाई आधा शताब्दीभन्दा बढी समय लाग्यो । यो नेपालमा प्रेस कानुन थालनीको कारक र पत्रकार आचारसंहिताको अगुवा रह्यो तर यसले अझसम्म आफ्नो पहिलो सम्पादक को थियो भन्ने तथ्य पत्ता लगाउन सकेको छैन । 

आजभन्दा १२४ वर्षअघि नेपाल संवत् १९५८ मिति ज्येष्ठ वदी ३ तदनुसार १९५८ वैशाख २४ मा साप्ताहिक अखबारका रूपमा गोर्खापत्रको प्रकाशन भएको थियो । ‘गोर्खापत्र’ प्रकाशन प्रारम्भ हुँदाका दिनसम्म विश्वमा चार सयभन्दा बढी अखबारहरू प्रकाशन भइसकेको इतिहास छ । ती अखबारमध्ये धेरै बन्द भइसकेका छन् । कुनै गोर्खापत्र प्रकाशन हुँदाताका नै बन्द भइसकेका थिए । कुनै अखबार त एक दिन मात्र प्रकाशित भएको इतिहास पनि छ । पछिल्ला केही वर्षयता केही अखबार छापाबाट ‘अनलाइन’ माध्यममा रूपान्तरित भइसकेका छन् । दक्षिण एसियाली मुलुककै कुरा गर्ने हो भने सय वर्षभन्दा पुराना ५० भन्दा बढी अखबार रहेकामा त्यसको एक चौथाइ पनि आज प्रकाशनमा छैनन् । झन्डै सवा सय वर्षको इतिहास बोकेको नेपालको एक मात्र अखबार ‘गोरखापत्र’ ले भने विभिन्न कालखण्डका कठोर आँधीबेरी सहेर पनि आफूलाई जीवित राखिरहेको छ । 

गोरखापत्रको दीर्घजीवनसँग अवश्य पनि अनेकौँ ऐतिहासिक सन्दर्भ र सन्दर्भका पत्रहरू जोडिएका छन् । प्रस्तुत लेख अखबार प्रकाशनको उद्देश्य, प्रेस कानुन, पत्रकार आचारसंहिताका स्थापित सन्दर्भका साथै सम्पादकीय नेतृत्वको पहिचानका सवालमा केन्द्रित छ । 

प्रकाशनको उद्देश्य

गोर्खापत्रको पहिलो अङ्कमा अखबार प्रकाशनको आवश्यकता महसुस हुनाको कारण खुलाउँदै दोस्रो पृष्ठमा उल्लेख गरिएको छ, “जुन देश्मा अखवार वढ दै गयाको छ ति ति देश्मा रोजवरोज् उन्नति पनि बढदै गयाको देखिन्छ. हुनपनि यस्संसार मा सबैभंदा मुख्य कुरो खबरै (शब्द) छ ... संसारमा उन्नति गराउने र, मनुष्य मा सभ्यता बढाउने खबरदेखि दोश्रो पदार्थ आर्को केहिछैन, तेसैकारणले शास्त्र मापनि “शब्दब्रह्म” शब्द भनेको खबर ब्रह्म भनेको ईश्वर हो भन्ने सिद्धान्त हो.” यसमा शास्त्र, शब्दब्रह्म, ईश्वर, सिद्धान्त जस्ता शब्दको अर्थ अनुमेय भए पनि थुप्रै टङ्कन अशुद्धि रहेका कारण ‘खबर ब्रह्म’ सुविचारित थियो कि ‘खम् ब्रह्म’ को मुद्राराक्षसी रूप हो यसै भन्न सकिँदैन । यस खालका केही अस्पष्टताका बिच पनि गोरखापत्र प्रकाशनको उद्देश्य चाहिँ स्पष्ट रहेको पाइन्छ ।

स्पष्टताको सन्दर्भमा नजिककै उदाहरण हेर्ने हो भने भारतमा ब्रिटिस इस्ट इन्डिया कम्पनीको (सन् १७७३–१८५८) र ब्रिटिस राजको शासनकाल (सन् १८५८–१९४७) मा धेरै अखबार÷पत्रिकाहरू प्रकाशित भए । नेपालमा ‘गोर्खापत्र’ प्रकाशन हुनुभन्दा झन्डै सवा सय वर्षअघि नै इस्ट इन्डिया कम्पनीका एक कर्मचारी जेम्स अगस्टस् हिक्कीबाट सन् १७८० (विसं १८३६) मा ‘कलकत्ता जनरल एडभर्टाइजर’ नामको साप्ताहिक प्रकाशन थालियो । त्यसैलाई ‘बंगाल गजेट’ र ‘हिक्की गजेट’ पनि भनिन्थ्यो । त्यसपछिका वर्षमा अन्य अखबार/पत्रिकाहरूको प्रकाशनको क्रम बढ्दै गयो । १९५८ सालसम्म पुग्दा नपुग्दै यसरी प्रकाशित पत्रिकाहरूको सङ्ख्या ५० नाघिसकेको थियो । भारतबाट प्रकाशित अखबारहरूको असर नेपालका तत्कालीन राणा शासकमा परेको थियो ।

इतिहास शिरोमणि बाबुराम आचार्य (१९४४–२०२९) का अनुसार, कलकत्ताबाट प्रकाशित ‘बङ्गवासी’ नामक हिन्दी साप्ताहिकले नेपालका तात्कालिक प्रधानमन्त्री तथा श्री ३ महाराज वीरशमशेरका राजनीतिक गतिविधिहरूका सम्बन्धमा निकै नै टीका–टिप्पणी गर्ने गथ्र्यो । यसबाट भारतमा वीरशमशेरको निकै नै बद्नामी भइरहेको थियो । विदेशबाट प्रकाशित उक्त पत्रिकाका सम्पादकलाई दण्ड–सजाय दिलाउन सक्ने सामथ्र्य वीरशमशेरमा थिएन । यद्यपि ‘नेपाल–अधिराज्यबाट अबउप्रान्त कुनै पनि किसिमका पत्र–पत्रिकाहरू ननिकाल्नू’ भन्ने हुकुम जारी भयो (हाम्रो राष्ट्रभाषा नेपाली, पृ. १२१–१२३) ।

वीरशमशेरकै शासनकालमा १९५५ सालमा नेपाली भूमिबाट जेठो पत्रिकाको रूपमा मासिक ‘सुधासागर’ प्रकाशन भएको पत्रकारितासम्बन्धी पुस्तकहरूमा उल्लेख पाइन्छ तर विवरण पाइँदैन । ग्रीष्मबहादुर देवकोटा (१९७३–२०५१) ले ‘नलोपाख्यान’ नामक पुस्तकको कभर पृष्ठमा ... प्रकाशित विज्ञापनबाट प्रमाणित हुन्छ’ भन्नुभएको छ (नेपालको छापाखाना पत्र–पत्रिकाको इतिहास, २०५१, पृ. २९) ।  ‘नेपाल–अधिराज्यबाट अबउप्रान्त कुनै पनि किसिमका पत्र–पत्रिकाहरू ननिकाल्नू’ भन्ने वीरशमशेरकै पालामा ‘सुधासागर’ को प्रकाशन हुनाको रहस्य र शासक–प्रकाशक बिचको सम्बन्ध सेतुको खोजी हुन बाँकी छ ।

विसं १९५७ फागुन १५ मा देवशमशेर प्रधानमन्त्री तथा श्री ३ महाराज भएको र त्यसको दुई महिना पनि नबित्दै १९५८ साल वैशाख वदी ११ रोज २ (१९५८ साल वैशाख ३ गते सोमबार) का दिन गोरखापत्र प्रकाशन गर्ने उर्दी सवाल जारी भएको पाइन्छ । सो उर्दी सवालमा भनिएको छ, “पंडित नरदेव पाण्डेले पुर्जि हेरी गोर्खाली अखवार हप्तावारी जम्मा १००० थान छापा गरी जारी गर्ने काम तिम्रा तालुकमा राखी बक्स्याको हुनाले सो कामलाई मद्दतसमेत गर्न टायप छापाखाना लेथोग्राफ छापाखाना समेत गाभी तपसीलबमोजिम उर्दि सवाल गरी बक्स्याको छ सोबमोजिमको रीत पु¥याई कामकाज गर” (नेपालको छापाखाना पत्र–पत्रिकाको इतिहास, २०५१, पृ. ५७) ।

सवाल भनिएको सनद जारी भएको तीन हप्तामा नै ‘गोर्खापत्र’ को प्रकाशन प्रारम्भ भएको देखिन्छ । त्यसभन्दा अघिदेखि नै यसको आधार तय गर्ने काम भइरहेको अनुमान ‘गोर्खापत्र’ को पहिलो अङ्कमा प्रकाशित ‘एडिटर्को राय’ मा उल्लिखित ‘हामि ले बिन्ती चढाउदा’ पदावलीबाट गर्न सकिन्छ । ‘एडिटर्को राय’ को पहिलो अनुच्छेदमा नै ‘... आज सम्म नेपाल मा प्रकाश हुन नसके को मा छापा प्रकाश गर्ना लाई हामि ले बिन्ती चढाउदा श्री ३ माहाराज बाट दुनिञा को फाईदा र मुलुक को उन्नति हुने हुनाले छापा प्रकाश गर्ना लाई हुकुम बक्सी सो काम मा हाम्म्रो मद्दत ले मात्र नपुगे को मा ७२०० रुपैञा, बक्स्र र २ प्रेस समेत् मद्दत लाई बक्स्ये को’ उल्लेख छ । यहाँ ‘बिन्ती’  चढाएर देवशमशेरलाई मनाउन पनि केही समय त लाग्यो नै होला ।

आचार्यको भनाइ भने केही पृथक् छ । उहाँका अनुसार, देवशमशेरले शिक्षाको प्रचार तथा प्रसारको मुख्य साधन नै पत्रपत्रिकाहरू भएकाले पत्रपत्रिकाहरू पनि प्रकाशित हुनै पर्छ भनी देशमा अखबार प्रकाशित गर्ने कामको जिम्मा आफ्ना निजी सचिव पण्डित हरिहर आचार्य दीक्षितलाई लगाइदिएका थिए (हाम्रो राष्ट्रभाषा नेपाली, पृ. १२३) । देवशमशेरको कार्यकालमा भाषापाठशालाहरूको स्थापना, मातृभाषाको माध्यमबाट नै शिक्षाका प्रचार प्रसार गराउने योजना, पाठ्यपुस्तक लेखन र वितरणमा देखाइएको अग्रसरता जस्ता तथ्यबाट आचार्यको कुरालाई टेवा पनि पुग्छ ।

यति हुँदाहुँदै पनि यसअघि चर्चा गरिए झैँ ‘खबर ब्रह्म’ सुविचारित थियो भने यसले अखबार प्रकाशनको महत्वलाई तत्कालीन शासक र अखबार सम्पादनसँग सम्बन्धित जनशक्तिले राम्रोसँग बुझेका थिए भन्नै पर्छ । 

‘एडिटर्को राय’ कै निरन्तरतास्वरूप पृष्ठ २ र ३ मा अखबारका फाइदाका चौधबुँदे फेहरिस्त दिइएको छ । अखबार प्रकाशनका फाइदाहरू हासिल गर्नु पनि ‘गोर्खापत्र’ प्रकाशनको उद्देश्य रहेको बुझ्न सकिन्छ । 

निरन्तरताको राज

गोरखापत्रको निरन्तरताबारे विभिन्न समयमा लेखक, इतिहासविद्, समालोचक, सम्पादक आदिले विविध कोणबाट चर्चा गरेका छन् । यस क्रममा कमल दीक्षित (१९८६–२०७३) ले ‘कागतीको सिरप’ मा उल्लेख गर्नुभएको छ, “गो.प. का पिता देव शमशेर महाराजको जुन गति भयो त्यही गति यसको पनि हुन नखोजेको होइन, तर यसको जन्म–स्थानमा वृहस्पति अति उच्चा रहेछ– यसमाथि कसैको केही लागेन । यो चलिरह्यो, चलिरह्यो– तर सधैं ज्यान हत्केलामा लिएर” (२०५३, पृ. १) । 

ज्यान हत्केलामा लिएर चलेको कुराको एक तहको पुष्टि प्रकाशन प्रतिले पनि गर्दछ । ‘कुनै समय यसका पाँच प्रति मात्र छापिए’ (प्रेस कमिसनको प्रतिवेदन–२०१५, प्रकाशनको दिग्दर्शन, पृ. ३५६) । यस सन्दर्भमा रामराज पौड्याल (१९७९–२०४४) ले पनि लेख्नुभएको छ– “आफू जन्म (जन्मँदा ?) ५०।६० प्रति छापिने गोरखापत्र आफ्नै काकाको क्रूर कजाईमा परेर ५ वर्ष भित्रनै ५।६ प्रतिमै सोहरियो । त्यसपछि ३३ वर्षसम्म त्यस संख्या लाई २०० भन्दा बढी हुन दिइएन” (पत्रकारिता, २०२७, पृ. ६३) । 

कम प्रति भए पनि अखबार छाप्नुपर्नामा यसको वितरण र ग्राहकीय बाध्यता प्रमुख कारण रहेको थियो । आचार्यले लेख्नुभएको छ, “नियमित रूपमा प्रकाशित गर्दै रहनुपर्ने बाध्यताले गर्दा मात्र यो पत्रिका यिनताक येनकेन साप्ताहिक–पत्रिकाको रूपमा प्रकाशित भइरहेको थियो । पत्रिकाका प्रकाशित भएका १०/२० प्रतिहरूमध्ये एक–प्रति बेलायतका बादशाहकहाँ पठाउनुपर्ने, दोस्रो–प्रति राजधानी काठमाडौंँ शहरमा रहेको अङ्ग्रेजी दूतावासमा पठाइने र अर्को एक–प्रति फ्रेञ्च विद्वान् सिलभ्याँ लेभीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने परम्परा साबिकदेखि चलिआएको थियो” (हाम्रो राष्ट्रभाषा नेपाली, २०७०, पृ. १२५) । यसका अतिरिक्त उहाँले पण्डित डोरकेश्वर पाण्डेय तथा काजी महावीर गड्तौलाले पनि प्रारम्भदेखि नै ‘गोर्खापत्र’ को आजीवन सदस्यता लिइसकेकाले निजहरूका निमित्त पनि एक–एक प्रति नियमित रूपमा बुझाउनु अत्यावश्यक भइरहेको र साबिकदेखिको सो परम्परालाई विच्छेद गराउने आँट प्रधानमन्त्री तथा श्री ३ महाराज चन्द्रशमशेरमा नभएको पनि उल्लेख गर्नुभएको छ ।

गोरखापत्रसँग कुनै समय स्वामित्व परिवर्तनको सवाल पनि गाँसियो । उच्चस्तरीय मिडिया सुझाव आयोग (२०६३) ले ‘राज्यले सञ्चार माध्यमहरू सञ्चालन गरिराख्नु लोकतान्त्रिक मान्यताअनुरूप नभएकाले’ भन्दै ‘“गोरखापत्र” लगायतका “ब्राण्ड” हरू र संस्थानको सम्पत्ति अलग–अलग छुट्याई लिलाम बढाबढ गर्नु ती छापा माध्यमबाट सरकारी स्वामित्वको अन्त्य गर्ने एउटा उपाय हुन सक्छ’ भनी सुझाएको थियो । त्यसले यसको निरन्तरतालाई नै फरक ढङ्गले असर गर्न पनि सक्थ्यो । यद्यपि, सुझावको कार्यान्वयन भएन । गरिएको भए गोरखापत्रको आजको स्थिति कस्तो हुन्थ्यो ? जीवित रहन्थ्यो कि इतिहासका पानामा सीमित भइसकेको हुन्थ्यो ? व्यक्ति–व्यक्तिको फरक–फरक अनुमान/विश्लेषण हुन सक्छ । तर वाक्पतिराज जोशी (रामजी) को ‘चिरञ्जीवी हुन्छ यो, अकालमा मर्दैन’ भन्ने २०१३ सालको भनाइ आजसम्म सार्थक भइरहेकै छ (कमल दीक्षित, चार कन्था, २०५३, पृ. ३०) । 

स्थापित सन्दर्भ

नेपालमा अखबार प्रकाशन र प्रेस कानुनको थालनीका साथै पत्रकार आचारसंहिताको जग ‘गोर्खापत्र’ सँग जोडिएको छ । अहिले मुलुकमा प्रेससँग सम्बन्धित थुप्रै कानुन विद्यमान छन् । तर, प्रेससँग सम्बन्धित मुलुकको पहिलो कानुन गोरखापत्रसँग गाँसिएको छ । प्रकाश वस्तीका अनुसार, वीरशमशेरले ११५ दिनको शासनकालमा नेपाललाई पहिलो पटक प्रेस कानुन दिएर गए । नेपालमा छापाखाना र प्रकाशनसम्बन्धी कानुनी विकासक्रम देवशमशेरले १९५८ सालमा गोर्खापत्र प्रकाशनका सम्बन्धमा जारी गरेको सनदबाट सुरु भएको हो । जारी उर्दी सवालबमोजिम छाप्न हुने कुराहरू लेफ्टिनेन्ट कर्णेल डिल्लीशमशेर थापाबाट स्वीकृति लिई छाप्नुपर्ने व्यवस्था गरिएको थियो (हाम्रो कानूनी इतिहासको नालीबेली : किरातकालदेखि २०७८ सालसम्म, २०७९, पृ. २२२) ।  

  

Author

कृष्ण श्रेष्ठ