• ६ जेठ २०८१, आइतबार

समसामयिक इतिहासको पहिलो मसौदा

blog

राणाकालीन नेपालका उदारवादी र सुधारवादी शासक भनेर चिनिने श्री ३ देवशमशेरले तीन महिना जति मात्र शासन गर्न पाएका हुन् तर त्यही छोटो अवधिमा पनि उनले जनमुखी सोचको झलक दिने केही पहलकदमी गरेका थिए । जस्तो, मुलुकमा सामाजिक र राजनीतिक अवस्थामा सुधार ल्याउन कस्ता उपाय गर्नुपर्ला भनी सल्लाह सुझाव लिन थापाथली दरबारको बैठकमा ठुलो सभाको आयोजना गरे, जसमा दलित समुदायका प्रतिनिधिलाई पनि सामेल गरिएको थियो । “नेपालको दरबारमा भएका सभामा दलित समुदायका प्रतिनिधिहरूलाई बोलाइएको यो सायद पहिलो अवसर हो,” भनेर प्रमोदशमशेर राणाले ‘राणाशासनको वृत्तान्त’ नामक पुस्तकमा लेखेका छन् । देवशमशेरले देशवासीको सुखदुःखको हाल बुझ्न ठाउँ ठाउँमा सुझाव पेटिका राख्ने व्यवस्था पनि गरे । त्यसै गरी महिला शिक्षाको थालनी गराउँदै काठमाडौँको मखनटोलमा एउटा नारी विद्यालय स्थापना गराइदिए यद्यपि कट्टरपन्थी भाइ–भारदारहरूले नारी शिक्षाको नीति रुचाएनन् । ‘गोर्खापत्र’ साप्ताहिकको प्रकाशनलाई जनचेतनाको अभिवृद्धिका लागि देवशमशेरले उठाएको साहसिक कदममा गणना गरिनु पर्छ ।

‘नेपालको जेठो जीवित पत्रिका’ बारे ग्रीष्मबहादुर देवकोटाले लेखेको नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास नामक पुस्तकमा गोरखापत्रबारे कतिपय रोचक कुरा समावेश गरेको पाइन्छ । जस्तो, गोर्खापत्र श्री ५, श्री ३ र ब्रिटिस रेजिडेन्ट (राजदूत) लाई मात्र निःशुल्क उपलब्ध गराइन्थ्यो । अरूलाई बिनामूल्य वितरण हुन्थेन । समुद्रपारका ग्राहकमध्ये एक जना थिए मिस्टर सिलभान लेभी । (फ्रान्सिसी भाषामा सिल्भाँ लेभीले लेखेको पुस्तक ‘नेपाल : हिन्दू अधिराज्यको इतिहास’ कालान्तरमा डिल्लीराज उप्रेतीद्वारा नेपालीमा अनूदित भई प्रकाशित भएको देखिन्छ ।) 

आरम्भका वर्षहरूमा गोरखापत्रमा काम गर्न ‘पण्डित’ भर्ना गरिन्थ्यो, र तिनैद्वारा सम्पादनसम्बन्धी काम गराइन्थ्यो । छापामा ‘एडिटर्को राय’ निस्कन्थ्यो तर स्तरीय भाषामा ‘राय’ लेख्ने व्यक्तिलाई एडिटर वा सम्पादक भनेर लेख्ने अनुमति थिएन । त्यसै कारण चिरञ्जीवी पौड्यालको योगदान ओझेलमा प¥यो । कमल दीक्षितका अनुसार चार/पाँच वर्षको छोटो अवधिमा पौड्यालले गोरखापत्र र नेपाली भाषाको प्रशंसनीय सेवा गरेका छन् । ‘पण्डित’ दर्जाको प्रचलन २०१२ साल माघपछि मात्र हटाइएको हो । 

गोरखापत्रका विषयमा अन्य कतिपय कुरा एक समय यसै छापाका सम्पादक रहेका रामराज पौड्यालको ‘पत्रकारिता’ किताबमा पाइन्छ । उदाहरणका लागि, “श्री देव स्वयं छापाखानामा आएर पहिलो प्रति छपाउनु भएको थियो ।” अनुमान गर्न सकिन्छ, कदाचित् देवशमशेरले देशको पहिलो अखबार प्रकाशनलाई खास महत्वको घटना नमान्दा हुन् त उनी आफैँ छापाखाना पुग्ने थिएनन् । अन्य कुनै व्यक्तिलाई खटाइदिन्थे । अभिलेख मुताबिक पहिलो अङ्क विसं १९५८ वैशाख २४ गते तदनुसार ६ मे १९०१ का दिन छापिएको हो । पहिले साप्ताहिक त्यसपछि अर्धसाप्ताहिक त्यसपछि हप्तामा तीन पटक छापिने र २०१७ साल फागुन ७ देखि गोरखापत्र दैनिक अखबार हुन पुग्यो । पत्रकारिताका कतिपय अध्येतालाई हेक्का नहुन सक्छ, त्यो के भने कुनै बखत गोरखापत्र दिनको दुई पटक छापिने गर्दथ्यो । अर्थात् २०१९ साल कात्तिक २ देखि २०२२ साल असोज १२ गतेसम्म यो छापाको ‘सायं संस्करण’ पनि निस्कन्थ्यो ।

“गोरखापत्रको आफ्नै इतिहास छ, सुखदुःखको, घामपानीको, अवनति र उन्नतिको ।” पौड्यालको पुस्तकको भूमिकामा तत्कालीन राजकीय प्रज्ञा–प्रतिष्ठानका उपकुलपति बालकृष्ण समबाट लेखकको ‘तीन पुस्तादेखिको सम्बन्ध’ को पुष्टि भएको छ । रामराजका पितामह चिरञ्जीवी पौड्याल र पिता प्रेमराज शर्मा पौड्याल दुवैले फरक फरक कालखण्डमा गोरखापत्रको सम्पादकको जिम्मेवारी सम्हालेका थिए । यो एउटा संयोग थियो ।    

अखबारको पर्याय

इतिहासबाट आजको यथार्थको धरातलमा आऔँ । लामो समय जनस्तरमा अखबारको पर्याय बनेको गोरखापत्रले २०२० सालमा स्वशासित संस्थानको रूप धारण गरिसकेपछिको अवधिमा यसका सहप्रकाशनहरूको सङ्ख्या थपिँदै आएको छ । अङ्ग्रेजी दैनिक ‘दी राइजिङ नेपाल’ का साथसाथै मधुपर्क, युवामञ्च, मुना नियमित प्रकाशन भएका छन्, जसले विविध रुचिका पाठकको मागलाई सम्बोधन गर्दै आएका छन् । सूचना प्रविधिमा भएको विकास सँगसँगै इन्टरनेटमा आधारित अनलाइन संस्करणहरू थपिएका छन् । यसको माध्यमबाट ताजा, अद्यावधिक समाचार संसारभरि नै प्रवाह हुन थालेको केही वर्ष भइसक्यो । यसबाट अध्ययन वा रोजगारीका क्रममा विश्वका कुनाकाप्चामा पुगेका नेपाली एवं नेपालीभाषीलाई समयोचित सुविधा प्राप्त भएको छ । साथमा मोबाइल फोन हुनेलाई हत्केलामै संसारभरिका सूचना र मनोरञ्जनका सामग्री उपलब्ध हुन थालेबाट सूचना प्रविधिले कति लामो फड्को मारेछ, त्यसको अनुमान गर्न सकिन्छ ।   

रेडियो, टेलिभिजनबाट प्रसार हुने समाचार, विचार विश्लेषण सुन्न, जान्न हिँड्दा डुल्दा नै सम्भव भइसकेको छ । वैकल्पिक माध्यमहरू अनगन्ती भएकाले परम्परागत माध्यम (छापा, रेडियो, टेलिभिजन) असान्दर्भिक हुँदै गएको देखिन्छ । डिजिटल युगमा अखबारको के प्रयोजन भन्ने तर्क पनि आक्कलझुक्कल सुनिँदै छ । यस्तो सोचको चर्चा नेपालमा सीमित छैन; यो वैश्विक सरोकारको विषय भएको छ । किनभने व्यापार व्यवसायमा लागेका मानिसहरू छिटाछरिता माध्यम खोज्छन्; थोरै लगानीमा धेरै मुनाफा खोज्छन् । तिनलाई लामो समय पर्खिने धैर्य हुँदैन ।

माध्यमहरू (मिडिया आउटलेट्स) को गन्ती त बढ्यो तर यसबिच तिनको विश्वसनीयता भने दिनानुदिन घट्दै गएको देखिन्छ । ‘सामाजिक सञ्जाल’ मनगढन्त सूचना (फेक न्युज) को स्रोत बन्दै गएको हुनाले त्यसका उपभोक्ता र प्रयोगकर्ता दुवै थरी अन्योलमा परेका छन् । “कसको कुरा पत्याउने ?” यो प्रश्न दिनप्रतिदिन पेचिलो र जटिल हुँदै आएको छ । भरपर्दो सर्वेक्षणको अभावमा किटानसाथ केही भन्न नसकिए पनि सूचना प्रवाह अथाह भइदिनाले तथ्यबाट कथ्य छुट्याउन गाह्रो हुँदै गएको कुरामा सन्देह रहेन । यस्तो अवस्थामा आधिकारिक स्तरबाट आउने सूचना एवं जानकारीले महत्व राख्दछन् किनभने तिनबाट जनसाधारण ढुक्क हुन पाउँछन् ।  एउटा उदाहरण, अचेल सरकारले आकस्मिक तवरमा पनि सार्वजनिक बिदा दिने निर्णय गर्दछ । 


भोलिपल्ट कार्यालय खुल्ने/नखुल्नेबारे भिन्न भिन्न माध्यमले अलग अलग जानकारी प्रवाह गरेका छन् भने साँचो कुरो के हो त भनेर पत्ता लगाउन चाहने व्यक्तिले कि रेडियो नेपाल सुन्छ कि त भने गोरखापत्र पढ्छ र ढुक्क हुन्छ । यसबाहेक राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजन पनि विश्वसनीय समाचारका स्रोत हुन् । स्पष्टै छ, हतारमा दौडिरहेको आजको मानिससँग धेरै वटा माध्यम सुनेर कुनै विषयको निधो लिन समय हुँदैन । 

यस परिवेशमा गोरखापत्रको उपादेयतालाई पाठक आफैँले ठम्याउन सक्छन् । हो, सरकारी रेखदेखमा सञ्चालित माध्यमका सञ्चारकर्मीहरू आधार र पुष्ट्याइँको प्रक्रियाले गर्दा केही ढिलाइमा पर्न सक्छन् तर ती माध्यमले उपलब्ध गराउने सूचना, समाचार भने प्रायः विश्वासिला हुन्छन् । प्रश्न छ, केही समय पर्खेर आउने सही समाचारमा भर पर्ने कि तात्तातो पाइने तर अपुष्ट अवस्थाको खबरमा रमाएर हिँड्ने ? 

मानवीय स्वभाव

कुनै बखत समाचारको प्रारम्भिक (भनौँ वा प्राथमिक) स्रोत अखबार हुन्थे । कालक्रममा त्यो भूमिका रेडियोले लियो । सन् १९२० को दशकयताको घटना विकास हो यो । पहिलो र दोस्रो विश्वयुद्धका खबरको मुख्य माध्यम छापा र रेडियो नै रहे । केही वर्षपछि टेलिभिजन आयो दृश्यपटलमा । केही दशकसम्म रेडियोको आवाज नै छिटोछरितो हुन गयो– दैनिक अखबार ढिलो हुने भएकाले र टेलिभिजनले सीमित घटनालाई मात्र सचित्र देखाउन सक्ने भएकाले । स्पष्टै छ, त्यस कालखण्डको लाभ बिबिसी जस्ता रेडियो प्रसारणले उठाए । तथापि रेडियोले अखबारलाई पूरै विस्थापित गर्न भने सकेन; त्यसै गरी टेलिभिजन रेडियोको विकल्प हुन सकेन । अहिलेसम्म पनि सकेको छैन । सूचना प्रविधिका घटना विकासलाई नजिकैबाट नियाल्ने जोसुकैले देखेको छ, रेडियो र टेलिभिजन दुवैले अखबारलाई पूरै असान्दर्भिक पार्न सकेका छैनन् । यसको मुख्य कारण हो उपभोक्ता (पाठक–श्रोता–दर्शक) को मानवीय गुण र त्यो हो, बिहान रेडियोबाट सुनेको कुरालाई भरेको टेलिभिजन हेरेर पुष्टि गर्ने वा भोलि बिहानको छापा पढेर विश्वस्त हुने आमप्रवृत्ति । हो, समाचार उपयोगकर्ताको रुचि र आनीबानीमा अन्तर आएसँगै उत्पादनकर्ताले ढाँचा बदल्छन् भन्ने धारणा निराधार होइन, परन्तु ढाँचाकाँचाले मात्र नैसर्गिक मानवीय स्वभावमा ठुलो परिवर्तन आउँदैन । मानिस विकसित देशका बासिन्दा होऊन् अथवा विकासोन्मुख मुलुकका नागरिक ।          

भन्नु परोइन, अखबारको व्यापारमा लागेका मानिस बढ्दो घाटाका कारण चिन्तित छन् । अमेरिका, युरोप, एसिया सबैतिरका देशमा अखबारलाई आउने गरेको विज्ञापनको परिमाण घटेको छ, दुई कारणले १) आर्थिक मन्दीका कारण उद्योग, व्यापारकै आयतन कम भएकोले (२) जे जति विज्ञापन वितरण हुन सकेको छ, त्यो पनि उपभोक्तालाई तत्काल आकर्षित गर्न सक्ने श्रव्यदृश्य माध्यमलाई मात्र दिने चलन आएको हुनाले । अर्को कुरा गुगल, याहु, माइक्रोसफ्ट जस्ता माध्यम र सामाजिक सञ्जाल नै  विज्ञापनदाताका लागि प्रभावकारी ठहरिएका छन् । अचेल अखबार प्राथमिकतामा पर्दैनन् । त्यसैले छापाहरू टाक्सिएका देखिन्छन् । कतिपय अखबार बन्द भएका छन् भने केही चाहिँ जतिन्जेल सकिन्छ धानौँ भनेर लागेका छन्, स्थिति नाजुक देखिन्छ । यतिन्जेल धानिनुको एउटा प्रमुख कारण के हो भने विस्तृत समाचार, खोजपूर्ण विवेचना, गहन विचारको प्रस्तुति जस्ता पक्षमा अखबारलाई रेडियो र टेलिभिजनले उछिन्न सकेका छैनन् । अखबारको यो सबल पाटोलाई टिकाउ गराउन सम्पन्न लगानीकर्ताहरू अघि सर्ने सम्भावना निमिट्यान्न पनि भइसकेको छैन । साथै अखबार अभिलेखमा राख्न सजिलो माध्यम हो । आवश्यकता परेका बखत छायाप्रति सजिलै निकाल्न सकिन्छ अनि अखबारलाई ‘इतिहासको पहिलो मसौदा’ अकारण मानिएको होइन होला । कम्प्युटरमा आधारित सूचनाका भण्डारहरू ‘ह्याकिङ’ र अन्य प्राविधिक गडबडीले गुम्न पनि सक्छन् । देशविदेशमा दुर्घटनाहरू भएका छन् । ‘ह्याकिङ’ का जोखिम अनेक रूपमा आउँछन् । सूचना र तथ्याङ्कहरू मेटिने वा हराउने अवस्था काल्पनिक रहेन ।    

डिजिटल जमाना ः यसको असर त नेपाललाई भन्दा बढी अमेरिकालाई परेको होला । यस मानेमा बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्ड पनि हाराहारीमै होलान् तर ती देशमा अखबारको युग समाप्त भएको देखिंँदैन । बरु केही अखबारले तिनको अनलाइन संस्करण पढ्ने पाठकलाई आफ्ना ग्राहकको रूपमा तान्ने प्रयत्न गर्दै छन् । केही सामग्री निःशुल्क पढ्न दिने र  बाँकीका लागि मूल्य तिराउने प्रक्रियामा लागेका छन् । वासिङ्टन पोस्ट, न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नल मुद्रण संस्करणमा कायम छन् । अमेजोन कम्पनीको संस्थापक जेफ बेजोसले सन् २०१३ मा २५ करोड डलरमा खरिद गरेको हो । उनले नाफाका लागि भन्दा पनि ऐतिहासिक संस्था जोगाउन र यो स्थापित माध्यमबाट राजनीतिक सामाजिक क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न लगानीकर्ता हौसिएको अनुमान छ । 

छिमेकी देश भारतमा भने मुद्रित माध्यमको अवस्था अन्यत्रको जस्तो नाजुक छैन भन्ने ताजा आँकडा चर्चामा आएका छन् । छापा माध्यम कोभिड–१९ को प्रकोप पर्नुअघिको लयमा फर्किंदै छ भन्ने दाबीका साथ ‘दी इकोनोमिक टाइम्स’ ले फेब्रुअरीमा एक आकलन छापेको थियो । त्यसलाई आधार मान्दा सन् २०२४ मा भारतमा अखबारी व्यापार फस्टाउने अनुमान गर्न सकिन्छ । यता उत्तरको छिमेकी चीनमा भने अखबार र प्रसारणलगायतका सबै जसो माध्यम राज्य सञ्चालित सेवा हुन् । यसमा चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) को भूमिका पनि केन्द्रीय चर्चामा आउने गर्छ । सिन्ह्वा, पिपुल्स डेली, चाइना मिडिया ग्रुप चीनका प्रमुख सञ्चार माध्यममा पर्दछन् । उद्योग वाणिज्यको फाँटलाई प्राथमिकतामा राख्ने ‘कालसिन् मिडिया’ र हङकङको अखबार ‘साउथ चाइना मर्निङ पोस्ट’ उदार लोकतान्त्रिक परिपाटी भएका देशका माध्यमको शैलीमा प्रस्तुत हुने गर्छन् तर पोस्टको स्वामित्व लिएको कम्पनी ‘अलिबाबा’ चीनको मुख्य भूमिबाट सञ्चालित छ । त्यसै गरी कानुनको पालना कडाइका साथ गरिने, गराइने हुनाले चीनका माध्यमहरू सीमित परिधिमा रहन्छन् । यो जगजाहेर तथ्य हो ।  

यस पृष्ठभूमिमा गोरखापत्र र नेपालका अन्य छापा माध्यम निरन्तर रूपमा जनसेवामा लागिरहने सम्भावना कस्तो देखिन्छ ? पहिलो कुरो त हत्केलामा आएका डिजिटल माध्यमले छापाहरूलाई सहजै विस्थापित गरिदिन्छन् भन्ने निचोड निकाल्नु हतार हुने देखिन्छ, किनभने १) अमेरिका, बेलायत जस्ता विकसित देशमा समेत छापा माध्यमको उपादेयता कायमै छ । २) छपाइको काममा पनि आधुनिक प्रविधिको प्रयोग गरिन्छ र नयाँ प्रविधिका प्रकाशन सफा र आकर्षक हुँदै आएका छन् । मुद्रण पुस्तकको छपाइमा पनि उपयोगी प्रविधि भएको छ र पुस्तक पढ्ने अभ्यास विश्वबाट हत्तपत्त समाप्त हुने देखिँदैन ।

लोकतान्त्रिक परिपाटी भएको समाजमा स्वस्थ प्रतिस्पर्धा स्वाभाविक हुन्छ । नेपालका छापा माध्यममा पनि यस्तो प्रतियोगिता हुनु आवश्यक छ, किनभने यसबाट पाठकहरू लाभान्वित हुन्छन् । आवश्यकता के मात्र छ भने छापाहरूले तथ्यमा आधारित समाचार मात्र छाप्ने र त्यसकै सेरोफेरोमा रहेर विचार मन्थनको माध्यम बन्ने प्रयास गर्ने । यसो गरेमा अड्कलबाजीमा आधारित वा मनगढन्त समाचारको व्यापार गर्ने आजभोलिको प्रवृत्ति निरुत्साहित हुन्छन् र त्यस स्थितिमा अगुवाको भूमिकामा रहने सामथ्र्य गोरखापत्रका प्रकाशनहरूमै छ । मूल कुरो विश्वसनीयता हो, जसको प्रतिरक्षामा संस्थानका सञ्चारकर्मी सदैव खरो उत्रिन सकून् । शुभकामना !