• ११ पुस २०८१, बिहिबार

गोरखापत्र : स्थापित...

blog

पत्रकारिताको असल अभ्यासका लागि अपनाइने लिखित वा अलिखित नैतिक सिद्धान्त नै पत्रकार आचारसंहिता हो । पत्रकारितामा उत्कृष्टतालाई प्रवर्धन गर्न अमेरिकाको मिसौरीका सम्पादक तथा प्रकाशकहरूद्वारा स्थापित संस्था मिसौरी प्रेस एसोसिएनले सन् १८७६ मा आफ्ना सदस्यहरूका लागि आचरणगत नियमहरूको एक सूचीको मस्यौदा तयार गरेको थियो  तर सन् १९२० को दशकको प्रारम्भसम्म पनि अमेरिकी पत्रकारहरूले पेसागत आचारसंहिता निर्माणमा गम्भीरतापूर्वक ध्यान दिएका थिएनन् । अमेरिकन सोसाइटी अफ न्युज एडिटर्सले सन् १९२३ मा नैतिकताको सिद्धान्त ‘क्यानन अफ इथिक्स’ जारी गरेको थियो (रास इमान, द ए टु जेड अफ जर्नालिज्म) ।

नेपालमा ‘गोर्खापत्र’ प्रकाशनका सन्दर्भमा १९५८ (सन् १९०१) मै जारी सनद/उर्दी सवालबाट पत्रकार आचारसंहिता निर्माणको बीजारोपण भएको पाइन्छ । सनदमा ‘गोर्खापत्र’ मा छाप्न हुने र छाप्न नहुने कुराहरू दिइएका छन् । प्रेस काउन्सिल नेपालको प्रकाशन ‘पत्रकार आचारसंहिता र व्याख्यात्मक टिप्पणी’ मा १९५८ सालको सदनलाई उल्लेख गर्दै भनिएको छ– नेपालको पत्रकारिताको सुरुवात जसरी गोरखापत्रको प्रकाशनदेखि भयो, आचारसंहिताको विकास पनि सोही समयदेखि भएको देखिन्छ (२०६६, पृ. २०) । छाप्ने र नछाप्ने कुरा उल्लिखित सनद त्यो कालखण्डमा आएको थियो, जुन कालखण्डमा अमेरिकामा पित पत्रकारिता एक प्रकारले उत्कर्षमा थियो । 

सम्पादकसम्बन्धी अहम् प्रश्न

‘गोर्खापत्र’को पहिलो अङ्कको अध्ययनबाट यो पत्रिकाले पत्रकारिताका मूलभूत मान्यतालाई यथासम्भव पछ्याए पनि सम्पादकको पहिचानका सवालमा भने अनकनाएको देखिन्छ । प्रकाशनको प्रारम्भदेखि नै यसमा अखबारी पत्रकारिताका एक जना अनुभवी तर नेपाली भाषा प्रयोग गर्न नजानेका विदेशीको हात रहेको देखिन्छ । आचार्यले यसरी यसको खुलासा गर्नुभएको छ, “प्रारम्भमा यस साप्ताहिक पत्रिकाको सम्पादन–कार्यको निमित्त पण्डित हरिहर आचार्य दीक्षितले ‘सुकुल’ थर भएका एक जना अनुभवी भारतीय नागरिकलाई बोलाएर नेपालमा ल्याएका थिए । यिनी यहाँको ‘गोरखा–भाषा’ अर्थात् वर्तमान नेपाली भाषा बुझ्दैनथे तापनि यिनले हिन्दी भाषामा लेखेका लेखहरूलाई नेपाली पण्डितहरूले नेपाली भाषामा अनुवाद गरी ः– ‘एडिटरको राय’ भन्ने शीर्षक दिएर एक–कालमजतिको सम्पादकीय लेख नयाँ प्रकाशित ‘गोर्खापत्र’ का प्रत्येक अङ्कहरूमा मुखपृष्ठमा नै छापिन थालेका थिए” (हाम्रो राष्ट्रभाषा नेपाली, पृ. १२३–१२४) । ‘नेपाली भाषा बुझ्दैनथे’ भनिएबाटै सुकुलबाट गोरखापत्रको सम्पादन कार्य नभएको प्रस्ट हुन्छ ।

ऋषभदेव शर्माको भनाइ अनुसार, ‘गोरखापत्र सर्वप्रथम शुक्ला भन्ने कुनै भारतीय सज्जनको निरीक्षणमा निस्केको थियो (गोरखापत्रको इतिहास, २०६७, पृ. २) । नाम उल्लेख नभएका यी ‘भारतीय सज्जन’ भनिएका व्यक्तिबाट सुकुललाई नै इङ्गित गर्न खोजिएको हो कि शुक्ला भन्ने अर्का कोही व्यक्ति पनि गोरखापत्रका जनशक्ति थिए ? थिए भने यी दुवैको नाम के थियो ? 

पत्रकारिता बुझेकालाई सबैभन्दा बिझाउने कुरो, गोरखापत्रको पहिलो अङ्कमा सम्पादकको नाम नै छापिएन । सम्पादकको नाम नछाप्ने व्रmम लामै समय चल्यो । कहिले सुरु नाम मात्र आयो, त्यसपछि त्यसमा मध्यनाम पनि जोडिएर आयो तर थर आएको देखिएन । देवकोटाका अनुसार, १९५८ सालदेखि १९९० सालसम्मको गोरखापत्रमा सम्पादकको नाम प्रकाशित हुने गरेको देखिँदैन । ९१ सालको सुरुमा ‘प्रेम’ भन्ने र ९१ साल जेठ ५ गतेदेखिको पत्रिकामा सम्पादक ‘प्रेमराज’ भन्ने लेखिएको छ (नेपालको छापाखाना र पत्र–पत्रिकाकाको इतिहास, २०५१, पृ. ६९–७०) । भीमराज अर्यालको भनाइमा १९९१ जेठ ५ गते गोरखापत्रमा ‘सम्पादक प्रेमराज’ भनी छापिएकाले उनलाई पहिलो सम्पादक मानिएको छ (गोरखापत्र ः संक्षेपमा चिनारी, गोरखापत्र शतवार्षिक स्मारिका, २०५७, पृ. १०३) । यसबाट त्यसअघिका अङ्कमा नाम छापिएन भन्दैमा कोही सम्पादक नै थिएन भन्ने सन्देश गएको छ । यद्यपि, नाम छापिएकै अङ्कदेखि मात्र सम्पादन कार्य भएको होइन, हुन सक्दैन ।

अखबारको पाठ निर्माणदेखि छपाइमा पठाउँदासम्मका पाठ्य सामग्रीको जिम्मेवारी कसैमा हुन्छ भने त्यो सम्पादकमै हुन्छ । यो कुरा ‘गोर्खापत्र’ ले बुझेको थिएन भन्नलाई यसको सुरु अङ्कले नै दिँदैन । वर्तमान समयका अखबारका पृष्ठसँग तुलना गर्दा 

‘गोर्खापत्र’का त्यस बेलाका पृष्ठहरू ‘डल’ देखिएलान् तर पनि सुरु अङ्कदेखि नै यसले सम्पादकीय लेखन, पाठ्यसामग्रीमा विविधता, टाइपोग्राफी तथा लेआउट डिजाइनमा ध्यान पु¥याएको देखिन्छ । यसबाट प्रश्न उठाउन सकिन्छ, सम्पादकको भूमिका, महत्ता र जिम्मेवारी बुझेको थिएन होला त ? त्यसमाथि प्रेस कानुन र आचारसंहिताको थालनीकर्तामा दरिएको गोरखापत्रले पत्रकारितामा समग्र पत्रकारको मियो मानिने सम्पादक, प्रधान सम्पादक र समग्रमा सम्पादन समूहको भूमिकालाई नै बुझेको थिएन होला त ? पक्कै थियो तर नाम र पहिचान किन दिइएन ? लामो आनाकानीको रहस्य के थियो ? यो खोजीको अर्को एउटा पाटो हो ।

यद्यपि, गोरखापत्रको सम्पादकका बारेमा केही कुरा बाहिर आएका छन् । दीक्षितका भनाइमा चिरञ्जीवी पौड्याल हिन्दुस्थानमा धेरै घुमीवरी खली खाएर नेपाल फर्कंदा ‘गोर्खापत्र’ को थालनी भइसकेको थियो । “नेपाल पुग्नासाथ उनी गोरखापत्रको “एडिटर” भैहाले ... तर गोरखापत्रमा उनको नाम कैले पनि एडिटर वा संपादक भनी छापिएन । त्यसरी नाम छाप्ने इजाजत थिएन ... १९५९ देखि १९६३ सम्म जम्मा चार वर्ष चानचुन मात्र उनले गो.प. मा काम गरे” (यस्तो पनि, पृ. १६–१८) । दीक्षितले लेखकीय टिप्पणीमा “१९५९ को आषाढसम्म गोरखापत्र पं. नरदेव शर्माले नै चलाइराखेका थिए । त्यसपछि मात्रै नेपाल सरकारले गोरखापत्र छापाखानाको स्थापना गरी यसलाई चलाउन लागेको हो । त्यस बेला मात्र चिरञ्जीवी शर्माको त्यहाँ एडिटरमा जागीर रहेको बुझिन्छ” भनी स्पष्ट पार्नुभएको छ । 

लीलाराज श्रेष्ठले भने ‘गोरखापत्र छापाखानाको तालुकी राजा जयपृथ्वीबहादुर सिंहलाई दिँदा गोरखापत्रसम्बन्धी फाँटबारी बुझाउनका लागि पं. नरदेव पाण्डेका नाउँमा गरिएको १९६० भाद्र २२ को सनदबाट गोरखापत्रको कार्यमा विशेष रूपमा नरदेव पाण्डे सव्रिmय देखिन आएबाट गोरखापत्रको सम्पादन कार्य पनि यिनै पं. नरदेव पाण्डेबाट भएको हुनुपर्दछ भन्ने अनुमान गर्न सकिन्छ’ भनी उल्लेख गर्नुभएको छ (गोरखापत्रको इतिहास, २०६७, पृ. ११७) । 

शरद्चन्द्र भट्टराईले नरदेव पाण्डे ‘गोर्खापत्र’ का प्रथम मुद्रक र व्यवस्थापक भए पनि प्रथम सम्पादक चाहिँ नभएको दाबी गर्दै प्रतिप्रश्न गर्नुभएको छ, “सम्पादक पण्डित (एडिटर) को दरबन्दीमै रहेका साधुराम देवकोटा पहिला सम्पादक किन नहुने ?” (गोरखापत्रको इतिहास, २०६७, पृ. १४५) । ‘ओझेलमा परेकाहरू’ कृतिमा भने ‘अखबारका सम्पादक पनि उनी हुँदा हुन् भन्ने अनुमानसम्म गर्न सकिए पनि प्रमाणाभावमा अहिले ठोकुवा रूपमा केही भन्न सकिँदैन’ उल्लेख गरिएको पाइन्छ (शरद्चन्द्र शर्मा भट्टराई, २०५६, ४५) । यसअघि २०४८ सालमा गोरखापत्रमा नै प्रकाशित एक लेखमा गीतामैया श्रेष्ठले ‘नरदेव मोतीकृष्ण शर्माको सम्पादनमा’ भनी उल्लेख गरेको पनि पाइन्छ (गोरखापत्रको इतिहास, २०६७, पृ. १७) ।

जे होस्, प्रकाशनको ५४ वर्षपछि २०१२ भदौमा बालकृष्ण सम ‘गोरखापत्र’ का प्रधान सम्पादक नियुक्त हुनुभयो । यो पत्रिका २०१७ फागुन ७ मा दैनिकमा परिणत भयो । दैनिक भएपछिको पहिलो प्रधान सम्पादक भने गोपालप्रसाद भट्टराई हुनुभयो तर १९५८ सालदेखि १९९० सालसम्म सम्पादन कार्यको नेतृत्व क–कसले गरेका थिए त ? बिच–बिचमा प्रकट कसै–कसैको नाम देखेका भरमा त्यही वा तिनैलाई पहिलो ठान्नु भ्रम मात्र हो । यथार्थमा, गोरखापत्रको पहिलो सम्पादकको खोजी गरी पहिचान दिलाउनका लागि गोरखापत्र संस्थानले इतिहास अन्वेषकहरूसँग बौद्धिक सहकार्य गरी सत्य निरूपण गर्न/गराउन जरुरी देखिन्छ । यसमा राज्यको पनि दायित्व छ ।

अन्त्यमा

करिब सवा सय वर्षको अनवरत यात्रामा ‘गोरखापत्र’ ले पत्रकारिताले पाउने जसभन्दा बढी अपजस सहेको छ । सरकारी स्वामित्वका कारण चाहेर पनि कतिपय सन्दर्भमा यसले जनअपेक्षालाई पूरा गर्न नसकेको यथार्थ हो । कतिपय सन्दर्भमा यसले सरकारी स्वामित्वमा रहँदा रहँदै पनि सत्ता र शासकलाई नपच्ने समाचारहरू दिएको पनि अर्को यथार्थ हो । छापिएका समाचार, विचारका कारण बेलाबखत यो सत्ता–शासकको सिकार पनि हुने गरेको छ । यसलाई अदालतको तारिख धाउन मात्र होइन, संसद्को कठघरामा उभिन पनि बाध्य पारिएको इतिहास छ । कहिले को सम्पादकको जागिर खोसियो त कहिले को सम्पादक निलम्बनमा प¥यो । यी र यस्ता गतिविधि र नियतिहरू गोरखापत्रले भोगेको छ । यो भोगाइ सुरुदेखि नै भएको हुुनु पर्छ भन्ने अनुमान ‘सम्पादक’ र पत्रकार वर्गको नेतृत्वकर्तालाई पहिचान दिन गरिएको कञ्जुस्याइँले पनि प्रकट गर्छ ।