• ११ पुस २०८१, बिहिबार

स्थानीय तहमा अमिट छाप

blog

स्थानीय सरकार कार्यकारी अधिकारसहितको नागरिकको सबैभन्दा नजिकको सरकार हो । नेपालको संविधानको अनुसूची–८ ले स्थानीय सरकारको २२ वटा  एकल अधिकार उल्लेख गरेको छ । स्थानीय तहका जनप्रतिनिधिले उक्त एकल अधिकार धमाधम कार्यान्वयन गरिरहेका छन् । संविधानले स्थानीय तहलाई आफैँ मापदण्ड, ऐन, नियम तथा कार्यविधि बनाई कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ । उक्त अधिकार प्रयोग गरी स्थानीय तहले ६५ देखि सय वटासम्म कानुन बनाई कार्यान्वयन गरिरहेका छन् । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले राज्यको तीन वटै अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापकीय अधिकार प्रयोग गरी स्थानीय सरकारकै हैसियतमा काम गरिरहेका छन् । संविधानले नागरिकको विभिन्न ३१ वटा मौलिक हकको व्यवस्था गरेको छ, जुन अधिकांश मौलिक हक स्थानीय सरकारले पूरा गर्नुपर्ने छ भने कतिपय अधिकार पूरा गर्ने क्रममा छन् । केही पूरा गरिसकेका छन् । 

नेपालको पहिलो अखबार ‘गोरखापत्र’ प्रकाशन सुरु भएको अहिले १२३ वर्ष पूरा भई १२४ औँ वर्षमा प्रवेश भएको छ । नेपाली भाषा, साहित्य, कला, धर्म, संस्कृतिको विकास र पुस्ता हस्तान्तरणमा अतुलनीय योगदान पु¥याएको गोरखापत्र विसं. १९५८ वैशाख २४ गते सोमबार साप्ताहिक रूपमा प्रकाशन सुरु भएको थियो । एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र नेपालको गौरवशाली सम्पदासमेत हो । गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो । पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो । 

गोरखापत्र र स्थानीय सरकारबिच अन्योन्याश्रित सम्बन्ध रहेको छ । अहिले पनि गाउँ गाउँमा कतिपय नागरिकले पत्रिका भनेकै गोरखापत्र हो भनेर बुझ्ने गरेकाले गोरखापत्र र स्थानीय सरकारबिचको अन्योन्याश्रित सम्बन्ध रहेको स्थानीय तहका जनप्रतिनिधिले नै स्वीकार गरेका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले गोरखापत्र नेपालकै इतिहासको गौरव भएको चर्चा गर्दै अहिले पनि ७५३ स्थानीय सरकारको विश्वसनीय सञ्चार माध्यम भएको बताउनुभयो । उहाँका अनुसार देशभरका ७५३ स्थानीय सरकारका गरी छ हजार ७४३ वटै वडामा अन्य पत्रिकाको तुलनामा गोरखापत्रकै चर्चा हुने गरेको छ । गोरखापत्रको समाचार, लेख रचनाका साथै गोरखापत्र नेपाली भाषा, साहित्य, कला, धर्म, संस्कृतिको विकास र पुस्ता हस्तान्तरणमा अतुलनीय योगदान पु¥याएकाले पनि गोरखापत्रप्रति स्थानीय सरकारको विश्वसनीयता बढी छ । गोरखापत्र नेपालको सामाजिक, राजनीतिक, आर्थिकलगायत सम्पूर्ण क्षेत्रमा भएका घटनाको साक्षी भएकाले गोरखापत्रप्रति स्थानीय सरकारको विश्वसनीयता बढ्दै गएको पाण्डेले बताउनुभयो । गोरखापत्रलाई स्थानीय तहका सबै वडामा सहजै पु¥याउने वातावरण तयार गर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

अहिले स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँ सहरीकरणतर्फ उन्मुख हुँदै गएका छन् भने नगरपालिका झन् नयाँ सहरका रूपमा स्थापित हुँदै गएका छन् । साबिक स्थानीय निकाय रहँदा गाउँ गाउँमा भएका ससाना गोरेटो बाटो अहिले ग्राभेलयुक्त र पक्की बनेका छन् । गाउँ र बस्तीमा खानेपानी, शिक्षा, स्वास्थ्य, आधुनिक प्रविधियुक्त कृषिको पहुँच पुगेका छन् । तुइनबाट कठिन यात्रा गर्न बाध्य दुर्गम पहाडी जिल्लाका नागरिकले झोलुङ्गे पुलबाट यात्रा गर्न पाएका छन् । यस विषयलाई ७७ जिल्ला र केन्द्रीय कार्यालयमा कार्यरत क्रियाशील पत्रकारले गोरखापत्रमा समाचार र लेख रचना प्रकाशन गरी स्थानीय सरकार र गोरखापत्रबिचको सम्बन्ध स्थापित गराउन भूमिका खेलेका छन् । 

सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा गाउँका नागरिकको जीवनशैली स्थानीय सरकार निर्माण भएपछि अहिले सहज बन्दै गएको छ । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भई उत्पादन वृद्धि भएको छ । वर्षको दुई सिजन उत्पादन हुने गाउँमा विकासे बिउ, मल र प्रविधिको प्रयोगले चार बाली उत्पादन हुन थालेका छन् । गाउँ गाउँमा भूकम्पले ढलेका सामुदायिक विद्यालय, मठमन्दिर, पुनर्निर्माण भएका छन् । स्थानीय तहको विकासमा नौलो आयाम थपिएको छ । २०७४ सालमा पहिलो पटक स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि स्थानीय तहका विभिन्न सवालमा गोरखापत्रले समाचार, लेख रचना प्रकाशन गरी स्थानीय तहसम्म गोरखापत्रको उपस्थिति बलियो भएको छ ।

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिका रूपमा वडामा ३३ हजार ७१५, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ९२०, नगरपालिका प्रमुख र उपप्रमुख ५८६ गरी जम्मा ३५ हजार २२१ जना निर्वाचित जनप्रतिनिधि नियमित रूपमा जनताकै सेवामा क्रियाशील छन् । उनीहरूले संविधान र ऐन नियम कार्यान्वयन गराउने महìवपूर्ण भूमिका निर्वाह गर्दै स्थानीय तहमा निरन्तर विकास र आर्थिक समृद्धिका लागि साधक रूपमा काम गरिरहेका छन । तीनै तहका नीति, योजना र बजेट कार्यान्वयन गर्ने भूगोल स्थानीय तह नै हो । सङ्घ र प्रदेश सरकारका योजना कार्यान्वयन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कार्यान्वयन गर्ने भूमिका स्थानीय तहका जनप्रतिनिधिकै भएका विषयलाई गोरखापत्रले समाचारको माध्यमबाट समय समयमा सजग र सचेत गराई स्थानीय सरकार तथा गोरखापत्रबिच अन्योन्याश्रित सम्बन्ध भएको प्रस्ट पारेको छ ।    


‘नागरिकलाई सचेत बनाउनु पर्छ’ 

भानुभक्त जोशी 

सङ्घीय मामिला तथा 

सामान्य प्रशासनमन्त्री   

तीनै तहका सरकारमध्ये नागरिकको सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार हो । स्थानीय सरकारले बनाउने ऐन, नियम, कानुन, निर्देशिका र नियमावलीलाई अझ बढी स्तरीय बनाउनका लागि मन्त्रालयले अहिले गरेको कामभन्दा थप काम गर्नुपर्ने आवश्यकता छ । स्थानीय सरकारमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै स्थानीय तहको सेवा प्रवाह र विकास निर्माणको काममा थप जिम्मेवार र जवाफदेही बनाउँदै लैजाने कामलाई तीव्रता दिँदै जानु पर्छ । 

गोरखापत्र नेपालकै सबैभन्दा जेठो पत्रिका हो । गोरखापत्रले सङ्घ, प्रदेश र स्थानीय तहसम्मका विभिन्न सवाललाई समाचारका माध्यमबाट आमनागरिकसमक्ष पु¥याएर नागरिकलाई सचेत बनाउनु पर्छ । स्थानीय तहलाई थप सबलीकरण गर्ने काममा सङ्घीय सरकार र प्रदेश सरकारको ध्यान जानुपर्ने विषयलाई समाचारको माध्यमबाट आमनागरिक समक्ष पु¥याउनुपर्ने जिम्मेवारी पनि गोरखापत्रको हो । अहिले स्थानीय तहका भूमिकाले सङ्घीय व्यवस्था प्रभावकारी बनेको छ । सङ्घीय शासन प्रणालीलाई सबल, सक्षम, सुदृढ बनाउन आमनागरिकसमक्ष सहज, सरल एवं गुणस्तरीय सेवा प्रवाह गर्न मन्त्रालयले स्थानीय तहलाई आवश्यक सहजीकरण र समन्वय गर्दै आएको छ ।  सङ्घीय व्यवस्थालाई सबल, सक्षम र सुदृढ बनाउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम गरिरहेको छ । सङ्घीयता कार्यान्वयनमा सहजीकरण, सार्वजनिक सेवामा मानव संसाधनको व्यवस्थापन, स्थानीय पूर्वाधार विकासमा सहजीकरण, सेवा प्रवाह र सुशासन जस्ता कार्य सञ्चालन गर्दै आएको छ । स्थानीय तहको सबलीकरण तहगत अन्तरसम्बन्धको सुदृढीकरण, व्यावसायिक सदाचारिता, उत्प्रेरित कर्मचारीको विकास सार्वजनिक सेवा प्रवाहमा उत्कष्ृटता बनाउने गरी मन्त्रालयले काम गर्नु पर्छ, त्यसका लागि गोरखापत्रले हामीलाई सधैँ सजग गराइरहनु पर्छ ।


‘विश्वसनीय सञ्चार माध्यम’  

लक्ष्मीदेवी पाण्डे  

अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासङ्घ  

गोरखापत्रको विश्वसनीयता, तटस्थता र स्पष्टता नै स्थानीय सरकारका लागि विश्वसनीय आधार हो । सञ्चार माध्यम राज्यको चौथो अङ्गका रूपमा रहेको र त्यसमा पनि गोरखापत्र आफैँमा ओजिलो सञ्चार माध्यम हो । 

गोरखापत्रले सर्वसाधारण नागरिक र सरकारबिच पुलको काम गरेको छ । गाउँ गाउँमा स्थानीय सरकारले गरेका विकास निर्माण, सेवा प्रवाह, सुशासन, जवाफदेहिता कायम गर्नका लागि गोरखापत्रले समाचार र लेख रचनाको माध्यमबाट राम्रा काम फैलाउने र नराम्रा काम औँल्याउने गरेको र यसले गोरखापत्र तथा स्थानीय सरकारको सम्बन्धलाई थप प्रगाढ बनाएको स्पष्ट हुन्छ । स्थानीय सरकारका धेरै मुद्दामा गोरखापत्रले समाचारको माध्यमबाट सार्वजनिक गर्दै आएको छ तर त्यतिले मात्र अझै पुगेको छैन । स्थानीय तहले गरेका राम्रा र नराम्रा कामबारे खोजी खोजी गोरखापत्रले सार्वजनिक गर्ने काम भने अझै कमी भएको छ । गोरखापत्र १२४ औँ वर्ष पुग्नु नेपालकै लागि गौरवको विषय हो ।