• ६ जेठ २०८१, आइतबार

जर्मनीमा सुन्दरपानीको चिया

blog

झापाको भद्रपुरका उदय चापागाईंले प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिन २०२८ सालमा इलाम जाँदा क्याम्पसको वरिपरि डाँडाकाँडामा चिया बगान देखेपछि चियामै रमाउने सपना बुन्नुभयो । पहिलो पटक इलाम पुग्दा थुम्का थुम्कामा हरियो चिया देख्दा चापागाईंलाई लागेको थियो, हरियो इलामको चिया विश्वलाई चखाउन पाए हुने थियो । उहाँको त्यो सपना अहिले ५३ वर्षको अवधिमा पूरा भएको छ । 

भोजपुरबाट १० वर्षको उमेरमा चापागाईं परिवारसहित भद्रपुर आउनुभएको थियो । सामान्य खेतीपाती गर्ने परिवारमा हुर्किएका उहाँले स्नातकोत्तर पढदै गर्दा चिया खेती र व्यवसायमा होमिनुभयो । पढाइ सकेर उहाँ जर्मनी घुम्न जानुभयो । आफू नेपालमा चिया खाइराखेको भएकाले उहाँले जर्मनी पुगेर चिया खान जोज्दा त्यहाँको सहरमा भारतको दार्जिलिङ ब्रान्डमा चिया बेचेको पाउनुभयो । यसले उहाँलाई चसक्क घोच्यो, नेपालको चिया पनि भारत जान्छ, ब्रान्ड त दार्जिलिङ नै रहेछ । 

केही दिनको बसाइमै चापागाईंलाई नेपाल फर्किएर चियामा काम गर्न मन लाग्यो । सुरुमा झापामा सिटिसी चिया उत्पादन र बजारीकरणमा लाग्नुभएका उहाँको मन मानेन । त्यसपछि तत्कालीन चिया विकास निगमको नेतृत्व लिएर उहाँले काम गर्नुभयो । त्यसबेला चापागाईंले अर्गानिक चियालाई नजिकबाट नियाल्ने मौका पाउनुभयो । चियाको बजार खोज्दै जाँदा उहाँलाई सुरुमा नेपालमै बजार छ भन्ने लाग्यो । न्युरोडमा चियाको पसल खोल्नुभयो । अलि समय राम्ररी नै पसल चल्यो । पसलबाट उहाँले अझ बढी चियालाई चिन्नुभयो । युवा जोस थियो । चियाको बजारप्रतिको कौतूहलता उहाँमा बढ्दै गयो । 

न्युरोडको चिया पसल छोडेर चापागाईं इलामको फिक्कलमा ‘नेपाल स्मल टी प्रोड्युसर्स लिमिटेड’ नामको चिया उद्योग सञ्चालन गर्न आइपुग्नुभयो । स्थानीय २० जना चिया पारखीको साथमा उद्योग स्थापना भयो । उद्योगले चिया प्रशोधन गर्न थालेपछि बजारको खोजीमा चापागाईं ट्रकमा चिया हालेर बजार खोज्दै भारतको कोलकाता जान थाल्नुभयो । साझेदारीको काममा त्यति मन मिलेन । खटपट सुरु भएपछि स्मल टी छोडेर उहाँ सन् १९८८ सालमा फिक्कल पशुपतिनगरबिचको सुन्दरपानीमा ‘गोरखा टी स्टेट’ सुरु गर्न पुग्नुभयो । सुन्दरपानीबाट व्यावसायिक रूपमा गोरखा टी स्टेट सुरु गर्नुभएका चापागाईंको अर्गानिक चिया अहिले विश्वमा प्रख्यात बन्दै गएको छ । 

उद्योग थाल्दै गर्दा नै चापागाईंलाई इलामको चिया भनेको नै किसान रहेछन् भन्ने लागेको थियो । उहाँले सुरुमा सुन्दरपानीमा तीन सय रोपनी जग्गा किन्नुभयो । चिया खेती सुरु पनि गर्नुभयो । उद्योगलाई चिया पुगेन । फेरि तीन सय रोपनी थप गर्नुभयो । छ सय रोपनी जग्गाको चिया उत्पादनले पुगेन । अनि उहाँले वरिपरिका किसानलाई एकै ठाउँमा गोलबद्ध गर्नुभयो, जुन बेला किसान चिया खेती गर्दै थिए । प्राविधिक ज्ञान किसानमा थिएन । उहाँले किसानका विषयमा धेरै अध्ययन गर्नुभयो अनि सुरु भयो उहाँको अर्गानिक यात्रा । अरूभन्दा फरक बन्नका लागि चापागाईंले त्यसबेलै अर्गानिक चिया उत्पादनको योजना बनाउनुभयो । उहाँसँग अहिले ३३६ जना किसान साथमा छन् । उनीहरूले मात्र १५० हेक्टर जग्गामा अर्गानिक चिया खेती गरी आयआर्जन गरिरहेका छन ।  चियाबारे अध्ययन गर्दै जाँदा चापागाईंले थाहा पाउनुभयो अर्गानिक चिया उत्पादन गर्न सके जर्मनी जाने रहेछ । जर्मनीमा उहाँको पहिले घुम्न जाँदाको सम्बन्ध पनि थियो । चियालाई अर्गानिक गर्ने सोचमा लागेपछि चापागाईंलाई थाहा भयो जर्मनी चिया पठाउन पहिला पूर्ण अर्गानिक बनाउनुपर्ने र दोस्रो दार्जिलिङको भन्दा गुणस्तरीय चिया उत्पादन गर्नुपर्ने रहेछ । उहाँ अर्गानिक चिया उत्पादनका लागि किसानका घर घरमा पुग्नुभयो । प्राङ्गारिक मल बनाउन, चियाको पुलिङ, प्लकिङ जस्ता विधि उहाँले किसानलाई सिकाउँदै जानुभयो । यो अभियानमा विदेशीको समेत उहाँले सहयोग पाउनुभयो ।  

अर्गानिक चिया उत्पादनको पूर्ण ज्ञान चापागाईंसँग पनि थिएन त्यसबेला । अर्गानिक चिया उत्पादन गर्ने सपनामा भौँतारिँदाभौँतारिँदै उहाँले दार्जिलिङका अर्गानिक चियाविज्ञ एसके प्रधानसँग भेट्नुभयो । अनि विज्ञ प्रधानको अर्गानिक चिया उत्पादनको सिप उहाँले सिक्नुभयो । प्रधानको साथ र सहयोग अहिले पनि उहाँलाई छ । 

किसानलाई निःशुल्क गाई 

किसानलाई विषादीको ज्ञानले मात्र भएन । अर्गानिक चिया खेती गर्न प्राङ्गारिक मल पनि चाहियो । मलका लागि कुनै विकल्प थिएन । विकल्पकै खोजीमा चापागाईंले सुरुमा आफ्नो उद्योग वरिपरिका किसानलाई ३५ माउ लैनो गाई निःशुल्क वितरण गर्नुभयो । बल्ल किसान सङ्गठिन हुन थाले । चापागाईंकै परिकल्पनामा सुन्दरपानीका किसान सहकारी आबद्ध भए । स्थानीय दोर्जे लामालाई संयोजक बनाएर गाई वितरण गरियो । गाईको गोबर कुरकुरे झार, काली झार आदिबाट मल बनाउन सिकाइयो । अहिले त्यसैको जगमा सुन्दरपानी क्षेत्र अर्गानिक बनेको छ । ती किसानले अहिलेसम्म पनि चापागाईंलाई अर्गानिक चिया उत्पादनमा साथ दिइरहेका छन् । उहाँलाई यतिले मात्र पुगेन, उहाँ अर्गानिक चिया खेती प्रविधि खोज्न श्रीलङ्का र भियतनाम पुग्नुभयो । त्यस व्रmममा भौँतारिँदै बेङ्गलोर पुग्दा अर्का अर्गानिक खेतीका विज्ञ अस्लर हुसेनसँग भेट भयो । हुसेनलाई तीन वर्ष नेपाल ल्याएर प्राङ्गारिक मल बनाउने ज्ञान हरेक किसानलाई सिकाउनुभयो । किसानले कुरा बुझेपछि सुन्दरपानीको चिया अर्गानिक उत्पादन हुन थाल्यो । 

प्रमाणीकरणको चुनौती 

बल्ल बल्ल अर्गानिक चिया उत्पादन हुन थाल्यो । गोरखा टी स्टेटले अर्गानिक चिया प्रशोधन पनि गर्न थाल्यो । यहाँ उत्पादन भएको चिया प्राङ्गारिक छ भनेर प्रमाणित गर्ने कुनै आधार चापागाईसँग  थिएन । उहाँ फेरि जर्मनी जानुभयो । चिया कसले अर्गानिक प्रमाणीकरण गरिदिन्छ भनेर खोज्न थाल्नुभयो । स्विट्जरल्यान्डको जेनेभा गएर उहाँले धेरै ठाउँमा सम्पर्क गर्नुभयो । त्यसपछि जेनेभाबाट विज्ञको टोली सुन्दरपानी आयो । सुन्दरपानीको चियालाई जेनेभाको विज्ञ टोलीले अर्गानिक छ भन्ने सङ्केत गरिदिए । अर्गानिक प्रमाणित गर्न हौसला मिल्यो । त्यो गर्न पनि खर्च नै लाग्ने भयो । 

चापागाईं भौँतारिएर बैङ्क धाउन थाल्नुभयो । बैङ्कले त्यसबेला तत्काल एक करोड रुपियाँ ऋण दियो । जर्मनीको टोलीले जिआइजेडको अफिस नेपालमा नै रहेको बताएको थियो । जिआइजेडले अर्गानिक खेती गर्नेलाई सहयोग गर्ने थाहा पाएपछि चापागाईं काठमाडौँको जिआइजेड कार्यालय धाउन थाल्नुभयो । त्यसबेला ४० प्रतिशत चिया खरिद गर्ने बायरले, जिआइजेडले ५० प्रतिशत र गोर्खा टी स्टेटले १० प्रतिशत साझेदारीमा रकम जम्मा गर्ने सहमति भयो । त्यसबेला जिआइजेडले सात लाख रुपियाँ सहयोग चापागाईंलाई गरेको थियो । त्यो रकम किसानको अर्गानिक उत्पादनका लागि कोष बनाएर जम्मा गरिदिनुभयो । जब युरोपियन युनियनको टोलीले सुन्दरपानीको चियालाई अर्गानिक प्रमाणीकरण ग¥यो अनि त सफलताले कदम चुम्न थाल्यो । अहिले जर्मनीका चिया पसलमा सुन्दरपानीको चिया प्रख्यात छ । बेच्नलाई धेरैले अर्गानिक भनेर नै चिया बेच्छन् तर प्रमाणीकरण भएर तेस्रो देश निर्यात हुने नेपालको एक मात्र चिया गोरखा टी स्टेटको सुन्दरपानी चिया हो । 

वार्षिक ७० देखि ७२ हजार किलोग्राम चिया उत्पादन गर्दै आएको गोरखा टी स्टेटले कहिल्यै चिया नबिक्ने समस्या झेल्नु परेन । सुन्दरपानीको चिया क्रमशः जर्मनी, फिनल्यान्ड, फ्रान्स, स्लोभाकिया, जापान र भारत जान्छ । नेपालको चिया भारतले रोक्यो भनेर अहिले सरकार, व्यवसायीदेखि किसानसम्मको रुवाबासी छ तर विषादीका कारण समस्या भएको भन्ने सुन्दरपानीको चियाले प्रमाणित गरिदिएको छ । प्रतिकिलोग्राम छ हजार रुपियाँमा सुन्दरपानीको चिया बिक्ने गरेको गोरखा टी स्टेटका सञ्चालकसमेत रहनुभएका व्यवसायी चापागाईंले जानकारी दिनुभयो । कुल ६३ जनालाई रोजगारी दिएको कम्पनीले कर्मचारीलाई सबै सुविधा, सामाजिक सुरक्षा कोषको सुविधा दिएर छोराछोरीसमेत निःशुल्क पढाइदिने गरेको छ  ।  इलामको सूर्योदय नगरपालिकामा हरियो चियापत्तीले मूल्य नपाइरहेको अवस्थामा गोरखाले अर्गानिक चिया प्रतिकिलोग्राम १०७ रुपियाँमा खरिद गरेर बोनससमेत दिइरहेको छ । यो मूल्य नेपालका चिया किसानले पाउने उच्च मूल्य हो । सुरुवाती चरणमा नौ करोड रुपियाँ लगानी भएको गोरखा टी स्टेट अहिले नेपालको मात्र होइन, विश्वमा ब्रान्ड बन्दै गएको अर्गानिक चिया उद्योग हो । 

चीनमा बजारको खोजी 

तेस्रो देशमा चिया निर्यात गर्दै आउनुभएका चापागाईं धेरै जसो समय विदेशमै बिताउनुहुन्छ । चियाको बजार खोज्दै उहाँ विश्वका धेरै मुलुक पुगिसक्नुभयो । अब चियाको बजार उहाँले चीनमा देख्नुभएको छ । चीनमा चिया निर्यातका लागि वातावरण बनाउनेतर्फ लागेको उहाँले बताउनुभयो । 

नेपाली चियाको अर्गानिक बाटो 

नेपालमा सरकारले चियाको स्पष्ट नीति बनाएको छैन । नीतिको अभावमा चियालाई पूर्ण रूपमा कृषि भन्न पनि नसकिएको व्यवसायी चापागाईंको अनुभव छ । नेपालको चिया तेस्रो देशमा एक प्रतिशत मात्र जाने गरेको छ । जसमा सुन्दरपानीको चियाले ओगटेको हिस्सा हो । विश्वमा नेपालको चिया निर्यात गर्ने एउटै बाटो देखेका चापागाईं भन्नुहुन्छ, “सिङ्गो राज्य लागेर सबै चियालाई पहिला अर्गानिक प्रमाणीकरण गर्नु पर्छ ।” चापागाईंको भोगाइमा चिया व्यवसायले सरकारको अनुभूति गर्न पाएको छैन । चिया नीति छैन, हेर्ने दृष्टिकोण फरक छ । चियाका विभिन्न नीति निर्माणका तहमा फरक मत राख्दै आएका चापागाईंको अब अर्को सपना छ, नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याब स्थापना गर्ने । ल्याब स्थापना गरेर चिया परीक्षण आफैँ गर्न सके चियाका धेरै समस्याको समाधान हुने बताउँदै उहाँले भन्नुभयो, “नेपालको सबै चिया अर्गानिक गर्ने हो भने विश्व बजारमा नेपाली चियाको माग धान्नै सकिँदैन ।”   

Author

सचिन पोख्रेल / प्रेम अधिकारी