• ३० असार २०८१, आइतबार

डिजिटल युगमा छापामाध्यम

blog

बितेका दुई दशकमा अनलाइन समाचार पोर्टलहरू, सामाजिक सञ्जाल र डिजिटल मञ्च (प्लेटफर्म) हरूको उदयसँगै सबै जसो परम्परागत छापा प्रकाशनहरूले आफ्ना पाठक र आम्दानीका स्रोत कायम राख्न सङ्घर्ष गरिरहेका छन् । यद्यपि छापा माध्यमको डिजिटल युगमा रूपान्तरणको प्रारब्ध ठोकुवा गर्न नसकिए पनि कोभिड महामारीपछि छापा माध्यमको बजार र प्रभाव ठुलो मात्रामा सङ्कुचित भएको छ । अहिले डिजिटल रूपान्तरणका अनेक आयामबारे बहस भइरहेका छन् । शतायु यात्रा पार गरी दक्षिण एसियाली मुलुकमै जेठो अखबारहरूको सूचीमा आफूलाई सबल साबित गरिसकेको गोरखापत्रसँगै पत्रकारिताका चुनौती अब के छन् त ? पठन संस्कृति, पाठ्यसामग्री (कन्टेन्ट), प्लेटफर्मको रूपान्तरण, विज्ञापन बजारका आधारमा छापा पत्रकारिता साँघुरिएको छ । 

पछिल्ला केही महिनामा तराईका सात जिल्लामा ‘मिडिया र सूचना साक्षरता’ तालिममा सहभागी विद्यालयका शिक्षकसँग पङ्क्तिकारले कुन अखबार पढ्छौ ? सूचना प्राप्त गर्न कुन माध्यम प्राथमिकतामा पर्छ ? जस्ता प्रश्न राख्दै आएको छ । सबैको एउटै जवाफ छ सामाजिक सञ्जाल । उच्च शिक्षा प्राप्त गर्न विश्वविद्यालयमा अध्ययनरत स्नातक र माथिल्लो तहका विद्यार्थीको अवस्था पनि योभन्दा भिन्न छैन । रेडियो, टिभी, अखबारजस्ता परम्परागत माध्यमको प्रयोग सीमित अवसरबाहेक उनीहरूको प्राथमिकतामा छैन भने समाचार पोर्टलमा पनि सोझै ब्राउज नगरी सामाजिक सञ्जालका लिङ्कहरूबाट बेलाबखतका चर्चित प्रसङ्गमा अपडेट हुनुबाहेक नियमित पठन संस्कृति निकै कमजोर भएको छ । यो एउटा तथ्य हो तर यसलाई अर्को कोणबाट हेरौँ न त । नयाँ पुस्तालाई आकर्षित गर्न के पाठ्यसामग्री (कन्टेन्ट) मिडियाले पस्केको छ र पढिदिनु (सुन्ने, हेर्नेसमेत) पर्ने ? नयाँ पुराना सबै सञ्चार माध्यमका लागि यो एउटा पेचिलो प्रश्न हो । डिजिटल युगले कन्टेन्टको विविधता, प्रस्तुतीकरण र अडियन्स (पाठक, दर्शक, स्रोता) खोज्ने र उनीहरूको रोजाइ र छनोटमा आफूलाई कसरी लोकप्रिय बनाउने काममा सञ्चार माध्यम लागेका छन् । अब आमस्वरूपको पत्रकारिताको प्रभुत्व खुम्चिँदै गएको छ । उत्तर आधुनिक समाजमा सबै पक्ष खण्डित बनेको छ । मिडिया क्षेत्र पनि यसबाट अछुतो छैन । लक्षित स्रोता (अडियन्स) पहिचान गरी उनीहरूको रुचि र छनोटलाई सम्बोधन गर्ने कन्टेन्ट नदिएसम्म अबको पत्रकारिता प्रभावहीन साबित हुनेछ । ‘भन्नुभयो’ शैलीको पत्रकारिता अब बदलिनुपर्छ । गोरखापत्र यो बाध्यताबाट उम्कन सक्नुपर्छ ।

डिजिटल युगले पत्रकारिताको सबै प्रक्रिया (कन्टेन्ट उत्पादन, प्रकाशन/प्रसारण, वितरण एवं अडियन्स र प्रतिसन्देश) मा परिवर्तन ल्याइदिएको छ । प्रविधिले फड्को मारेर छापा प्रविधि मृत हुने क्रममा छ । छापा प्रविधि (छापाखाना, कागज, मसी र वितरण प्रणालीका कारण) महँगो साबित भइसकेको छ । छापा माध्यम जोगाइराख्न यो ठुलो चुनौती हो । पत्रकारिता प्रक्रियाका लागि एउटा स्मार्ट फोन नै काफी भइसकेको छ । 

प्रविधिले फड्को मारेसँगै पत्रकारिता उद्योगमा अब संस्थागत वर्चस्व खण्डित हुँदै गएको छ । यो क्रम अरू विस्तारित हुनेछ । अब समाजका चर्चित वा प्रभावकारी व्यक्ति/संस्था (इन्फ्ल्युएन्सर) स्वयम्मा माध्यम बनेका छन् । उनीहरूका फलोअर र सब्स्क्राइबरको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ भने संस्थागत लगानीको मिडिया उद्योग भने झन् धराशायी हुँदै गएको छ । उनीहरूलाई आफ्नो पेसा व्यवसायको जनसम्पर्क विस्तार वा आफ्नो कुरा प्रवाह गराउन कुनै पनि स्थापित माध्यमसँग साँठगाँठ गर्नु पर्दैन, विज्ञापनकै लागि ठुलो खर्च गर्नुपर्दैन । यसको प्रत्यक्ष प्रभाव संस्थागत पत्रकारितामा पर्ने नै भयो । साना व्यवसाय र उद्योगहरूले सामाजिक सञ्जालको भरपुर प्रयोग गरेका छन् । सामाजिक सञ्जालका मञ्चले प्रकाशन प्रसारण उद्योगको विज्ञापन बजारको ठुलो हिस्सा आफ्नो पक्षमा पारिसकेका छन् । अर्थात् विज्ञापन बजारको पनि डिजिटल रूपान्तरण भइसकेको छ । विज्ञापन कारोबारको रकम बढ्दै गएको देखिन्छ, प्लेटफर्म रूपान्तरित हुँदै गएको छ । अब छापा संस्करणलाई अनलाइन संस्करणमा लगेर मात्रै बजार प्रभाव स्थिर हुने छैन । निजी क्षेत्रबाट क्षेत्रीय संस्करणका लागि खोलिएका छापाखाना क्रमशः बन्द हुँदै गएका छन् । गोरखापत्रले भने अहिलेसम्म धानेकै छ, चलाएकै छ तर यसको वित्तीय भार बढ्दै गएको सहज अनुमान गर्न सकिन्छ । सरकारी माध्यमको साख कहिलेसम्म धान्ने भन्ने मात्र हो । यसतर्फ समयमै रणनीति तय गर्नु जरुरी भइसकेको छ । कुनै समय ‘अखबारको बिक्रीमा नै रिपोर्टरको जिन्दगी निर्भर रहेको हुन्छ’ भनिन्थ्यो । अखबारको बिक्री र विज्ञापनको आम्दानी खास गरी कोभिड महामारीपछि ठुलो मात्रामा सङ्कुचन देखिएको छ । फेरिएको जमाना अनुसार नयाँ मान्यता स्थापित हुँदै जाने छन् । अब नयाँ कन्टेन्ट उत्पादन र प्रस्तुतिमा ध्यान दिनु आवश्यक छ ताकि कन्टेन्टको बिक्री वा प्रभावबाटै बजारमा स्थापित हुन सकियोस् । गोरखापत्रले मूलधारे पत्रकारिताका पृष्ठलाई परिष्कृत गर्नु आवश्यक छ । मधुपर्क र मुना जस्तै विशिष्टीकृत सामग्रीको बजार विस्तार गर्न सहज हुने देखिन्छ । 

अहिले डिजिटल प्लेटफर्ममार्फत निजीस्तरमा उत्पादित मिडिया सामग्री (कन्टेन्ट) ले सङ्गठित पत्रकारिता गर्ने संस्थाहरूलाई नै चुनौती दिएका छन् भने बदलिँदो अडियन्स (पाठक, दर्शक, श्राेता) तान्न कन्टेन्ट पस्किनु गोरखापत्रजस्ता प्रकाशन गृहको चुनौती हो । 

विश्व सन्दर्भमा हेर्दा चर्चित अखबार दी इकोनोमिस्टलगायत कतिपय ठुला प्रकाशन डिजिटल संस्करणमा केन्द्रित हुन थालेको पनि डेढ दशक बितेको छ । आम्दानीका स्रोत कायम राख्न उनीहरूलाई पनि निकै हम्मे हम्मे परेको छ । डिजिटल विज्ञापन बजारको आयतन फराकिलो हुँदै जाँदा अब छापा माध्यमको मुख्य आम्दानीमा ठुलो सङ्कट देखिएको हो । अब आम्दानी बढाउन नयाँ जमाना अनुसार समाजप्रति उत्तरदायित्व वहन गर्दै सकारात्मक दिशानिर्देश गर्ने कन्टेन्ट पस्केर अडियन्सलाई अड्याइराख्नु अर्को चुनौतीको विषय बनेको छ । सूचनाको उत्पादन र सम्प्रेषण बहुआयामिक बनेको छ । मिथ्या सूचनाले बजार प्रभाव पारेको छ भने समाचार र विचारको कारोबारलाई धमिलो बनाइदिएको छ । पत्रकारिताका सैद्धान्तिक मान्यता सन्तुलन, निष्पक्षता र वस्तुनिष्ठताको साटो पूर्वाग्राही एवं पक्षधर कन्टेन्टको बिगबिगी छ । मिडिया एवं सूचना साक्षरताको कमीले नयाँ पुस्ताको अडियन्स छिरलिएको छ र उत्तिकै मात्रामा विभाजित पनि छ । नयाँ पुस्ताको अडियन्सलाई कसरी पकडमा राख्ने भन्ने अर्को चुनौती हो । उसको रुचि र छनोटलाई सम्बोधन गर्न उसले प्रयोग गर्ने डिभाइस र सफ्टवेयरमा कन्टेन्ट नपु र्‍याएसम्म अडियन्सको सङ्ख्या बढ्न सक्ने छैन । इन्टरनेटको पहुँच र प्रयोगमा वृद्धि हुँदै गएकाले डिजिटल यात्रा तय गर्न असहज छैन । यही स्वरूपमा नै अबको पत्रकारिता चल्छ भन्ने यकिन नभएकाले विभिन्न विकल्पको प्रयोग र परीक्षण गरिरहनुपर्ने अवस्था छ । अब गोरखापत्रले नयाँ पुस्ताका लागि आफूलाई ‘रिब्रान्डिङ’ गर्नु पर्दछ ।

केही छापा प्रकाशनले अनलाइन अडियन्स, डिजिटल संस्करण र मल्टिमिडिया सामग्रीहरू प्रदान गर्दै डिजिटल प्लेटफर्महरूमा सफलतापूर्वक सङ्क्रमण गरेका छन् । तिनीहरूले डिजिटल स्पेसमा अडियन्सलाई कायम राख्न र आकर्षित गर्न आफ्नो ब्रान्ड प्रतिष्ठा र अद्वितीय सामग्रीमा पुँजीकरण गरेका छन् । यसका अतिरिक्त केही छापा मिडिया आउटलेटहरूले नयाँ बजार सम्भाव्यतामा ध्यान केन्द्रित गरेर वा विशेष सामग्री प्रदान गरेर सफलता पाएका पनि छन् । 

डिजिटल युगले छापा मिडियालाई आफ्नो व्यावसायिक मोडेलहरू पुनर्विचार गर्न तथा सान्दर्भिक र आर्थिक रूपमा दिगो रहन नवीन तरिकाहरू खोज्न बाध्य पारेको छ । छापा माध्यमको बिक्री र आम्दानी घट्दै जाँदा संस्थाहरू गाभिएर पनि सञ्चालन भइरहेका छन् । कतिपय अवस्थामा बन्द गरिएका छन् । 

अब छापा माध्यमको भाग्य सम्भवतः प्रविधि र अडियन्स (उपभोक्ता) का प्राथमिकताहरू परिवर्तनको चक्रमा निर्भर हुने छ । केही छापा प्रकाशनले बाँच्नका लागि सङ्घर्ष गर्न सक्नेछन्, अरूले डिजिटल परिदृश्यमा विकास र अनुकूलनका लागि नयाँ अवसरहरू फेला पार्न सक्ने छन् । पुस्तकका पाठक सङ्ख्यामा गुणात्मक गिरावट नआएको तथ्यले पनि छापा पत्रकारिताका लागि एउटा राहत दिएको छ । कन्टेन्ट उत्पादन र तिनको वितरणमा लगानी थप्नुपर्ने देखिएको छ । अनुसन्धानात्मक रिपोर्टिङ माथिको लगानी र त्यस्ता कन्टेन्टलाई नयाँ पुस्तासम्म पु र्‍याउन उनीहरूले प्रयोग गर्ने अनलाइन प्लेटफर्म र ग्याजेटसम्म कसरी पुग्न सकिन्छ भन्ने बाटो पहिल्याउनुपर्ने अवस्था आएको छ । नयाँ रणनीति अनुसार अब गोरखापत्र पनि अगाडि बढ्नु जरुरी छ ।  

 

 

Author

डा. श्रीराम पौडेल