• ३१ असोज २०८२, शुक्रबार

तिहारमा तीन चलचित्रको प्रतिस्पर्धा

blog

चलचित्र ‘वरिष्ठ बलराम’मा कलाकार विजय बराल र दयाहाङ राई ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३१ गते । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण असोज महिनामा तीन चलचित्र मात्र प्रदर्शनमा आए । असोज २ गते आउने तयारीमा रहेका चलचित्र ‘जारी २’ र असोज १३ गते ‘रिलिज’ हुने भनिएको ‘अभिमन्यु’ प्रदर्शन हुन सकेन । सिनेपा : बक्स अफिसका अनुसार असोज २६ सम्म ‘बलिदान’ को चार करोड ७९ लाख ५३, ‘हरिबहादुरको जुत्ता’ को कमाइ चार करोड ३२ लाख, ‘माइतीघर’ को कलेक्सन तीन करोड ४६ लाख रुपियाँ छ । असोज ३१ गते शुक्रबार अनमोल केसी अभिनीत चलचित्र ‘जेरी अन टप’ प्रदर्शनमा आउँदै छ । चलचित्रले कस्तो व्यापार गर्छ त्यो भने हेर्न बाँकी छ ।

दसैँमा जस्तै तिहारमा पनि नेपाली चलचित्रबिच राम्रै प्रतिस्पर्धा हुने देखिएको छ । ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’, ‘मैझारो’, ‘परान’, ‘जारी २’, ‘अभिमन्यु’ र ‘मनबिनाको धन’ तिहारमा प्रदर्शन हुन लागेका चलचित्र हुन् ।  कात्तिक ६ गते भाइटीकाको दिन ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ एकसाथ प्रदर्शनमा आउने छन् । भोलिपल्ट, कात्तिक ७ गते ‘मैझारो’ चलचित्र प्रदर्शन हुने छ ।

अर्जुन सुवेदी निर्देशित चलचित्र ‘सोल्टिनी’ मा प्रकाश सपुत र परीक्षा लिम्बू मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रको  कार्यकारी निर्माताका रूपमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ जोडिएको छ, जसको नेतृत्व धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले गर्नुभएको छ । चलचित्रमा विल्सनविक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘वरिष्ठ बलराम’ मा पहिलो पटक दयाहाङ राई र विजय बरालबिचको नोकझोक देखाइएको छ । चलचित्रमा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटालगायत कलाकारको पनि अभिनय रहेको छ । प्रेम पाउनका लागि गर्नु परेको सङ्घर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको चलचित्र ‘मैझारो’ हास्य कलाकार विल्सनविक्रम राईको डेब्यु निर्देशित चलचित्र हो । धीरज मगर, मिरुना मगर, दिया पुन, दयाहाङ राई, बुद्धि तामाङ, सुनील थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आलेलगायतको चलचित्रमा अभिनय रहेको छ । ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता पनि निर्देशक राई नै हुनुहुन्छ ।