काठमाडौँ, असोज ३० गते। सरकारले निर्वाचनमा सुरक्षाको वातावरण प्रत्याभूति गराउन सकेमा आगामी निर्वाचनमा भाग लिन तयार रहेको राजनीतिक दलले बताएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सम्बन्धमा राजनीतिक दलसँगको छलफल तथा अन्तक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले सरकारले निर्वाचनमा सुरक्षाको प्रत्याभूति दिनसकेमा आगामी निर्वाचनमा भाग लिन तयार रहेको बताएका हुन्।
नेकपा (एमाले)का उपाध्यक्ष गुरु बरालले निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सबै राजनीतिक दललाई सहभागी गराएर एमाले जनतामा पुग्न तयार रहेको बताउनुभयो।
जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले घोषण गरेको निर्वाचनलाई सफल पार्न सबै लाग्नुपर्ने बताउनुभयो।
नेपाली कांग्रेसका प्रचार विभागका प्रमुख मिनबहादुर विश्वकर्माले सरकारले सुरक्षित वातावरण निर्माण गर्न सकेमा निर्वाचनमा भाग लिन पार्टी तयार रहेको बताउनुभयो।
नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सरकारले दलसँग छलफल गरेर विश्वास कामम गर्दै अगाडि बढेमा निर्वाचनमा भाग लिने प्रष्ट पार्नुभयो।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुने कुरामा शंका नगर्न आग्रह गर्नुभयो।
उहाँले सरकारको प्रतिवद्धतापछि मात्र निर्वाचनको घोषण गरेको हुँदा तोकिएको समयमा नै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्नुभयो।
उहाँ भन्नुहुन्छ,“ढुक्क हुनुहोस् फागुन २१ गते निर्वाचन हुन्छ। शान्ति सुरक्षाको कायम गर्न सरकार तयार छ भनेर प्रतिबद्धता जनाएपछि मात्र आयोग निर्वाचनको तयारीमा जुटेको हो।”
यमे अग्रिम र आकस्मिक निर्वाचन भएकोले कसैसँग छलफल नगरी राष्ट्रिपतिले संविधान रक्षाको लागि निर्वाचनको समय घोषण गरेको उहाँले प्रष्ट पार्नुभयो।
निर्वाचन आयोग निर्वाचन गर्न सक्षम रहेको उहाँले प्रष्ट पार्नुभयो। देशभरका निर्वाचन आयोग, प्रदेश र जिल्ला कार्यालयमध्ये सातवटाबाहेक सबै कार्यालयबाट काम गर्न सक्ने अवस्था रहेको विश्वास उहाँले दिलाउनुभयो। आयोगले वैकल्पिक व्यवस्था गरेर सेवा प्रवाह गरिरहेको उहाँको भनाइ छ।
शान्ति सुरक्षाको प्रत्यभूति गराउन आयोग र सरकार मात्र नभई राजनीतिक दलको ठूलो भूमिका रहेको उहाँले जिकिर गर्नुभयो।
आयोगले पहिलो चरणमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्त्व भएका २९ राजनीतिक दल र आयोगका पदाधिकारीबीच बिहीबार छलफल गरेको हो।