• २४ वैशाख २०८१, सोमबार

भूकम्पसँगै बहुप्रकोप जोखिम बढ्दै छ : डा. देवकोटा

blog

काठमाडौं, वैशाख १२ गते । विपद् व्यवस्थापन विज्ञ डा. कृष्णचन्द्र देवकोटाले भूकम्प प्रतिरोधात्मक संरचना निर्माण कार्य असफल भएको बताउनुभएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएर ७ दशमलव ८ रेक्टरको भूकम्प स्मरण गर्नुहुँदै उहाँले भूकम्प फेरि आए विगतकै परिणामको क्षति दोहोरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म आफैं भूकम्पपीडित हो । मेरै घर भूकम्पले भत्कायो । गोरखा इपिसेन्टर बनेको भूकम्पपछिको पुनर्निर्माण जसरी असफल छ, यसो भन्दै गर्दा एकदम सफल राम्रो भयो भन्नेलाई अचम्म लाग्न सक्छ । दुईकोठे घर भए पनि बनाएका छौं भन्ने होला । २०७२ सालमा भूकम्प गएको नौ वर्ष पूरा भयो । अझै कति ठाउँ पुनर्निर्माण भएकै छैन ।” उहाँले भूकम्पपछि पहिलेकोभन्दा बलियो प्रतिरोधात्मक क्षमता भएको संरचना बन्नुपर्नेमा यसो हुन नसकेको गुनासो व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “सिमेन्ट र बालुवाले बनाएको अत्यन्तै कमजोर संरचना छ । त्यही पनि पहाडमा ढुङ्गा, गिटी बालुवा दुई दिन बोकाएर लानुपर्ने ठाउँमा, पहिलाको भन्दा बेटर त परै जाओस् पुराना संरचना, कलाकृति र बनावटको पुनर्निर्माण भएको छैन । दुई तलाको जस्तापाता राखिदिएको छ, केही क्षणको लागि गरेको जस्तो मात्रै ।”

उहाँले टिबिटियन र इण्डियन प्लेट एकआपसमा निरन्तर ठोकिरहने हुँदा यसको घर्षणबाट हिन्दुकुश हिमालय क्षेत्रको एकतिहाइ भागमा रहेको नेपालमा जतिबेला पनि भूकम्प जान सक्ने उच्च जोखिममा देश रहेको भनाइ राख्नुभयो ।

करिब ९० देखि एकसय वर्षको हाराहारीमा ठूलो भूकम्प जान्छ ? भन्ने जिज्ञासामा उहाँले यति नै वर्षमा यति नै ठूलो भूकम्प जाने भन्ने वैज्ञानिक तथ्य नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “१९९० मा पूर्वी नेपालमा केन्द्रबिन्दु बनाएर आठ रेक्टरभन्दा माथिको भूकम्प आयो । २०७२ मा चाहिँ पश्चिम नेपालको गोरखा केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ रेक्टरको भुइँचालो आयो । यो दुइटा भुइँचालो आउने ठाउँ नै फरक छ । पछिल्लो समय जाजरकोटमा आयो । सय वर्ष कुर्नुपर्छ भन्ने होइन ।” उहाँले भूकम्पका कारण बहुप्रकोपको जोखिम बढ्दै गएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “जथाभाबी सडक विस्तार गरेका छौं, त्यसैमा वर्खाको पानी । नयाँ पहिरो आउने क्रम बढ्यो । ढुङ्गा, माटोको व्यवस्थापन उचित तरिकाले नहुँदा पहाडी भूभागमा पहिरोको जोखिम बढ्ने । तराईमा डुबान, बाढीको समस्या बढ्ने । हिमतालहरु फुट्ने सम्भावना छ । भुइँचालो जाने र बाढी जाने वैज्ञानिक तथ्य फरक छ । तर पहिरोको केशमा भुइँचालो प्रत्यक्ष जोडिन्छ ।”

उहाँले भूकम्प आउँदा कसरी सुरक्षित हुने भन्ने सन्देश विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भुइँचालो आउँदा टेबलमुनि लुक्नुपर्छ भन्ने सन्देश ठीकसँग प्रवाह नभएको हुन सक्छ । बाहिर हुनुहुन्छ भने घरभित्र नछिर्नुस्, सम्भावित सुरक्षित ठाउँहरुमा जानुपर्छ भनेर सन्देश आमरुपमा सूचना प्रवाह गर्नुपर्छ ।”

गोरखापत्र अनलाइका लागि सपना थामी, मनोजरत्न शाही र केशव गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।