• २१ वैशाख २०८१, शुक्रबार

लिमीमा अझै पुगेन पाठ्य पुस्तक

blog

लिमीका विद्यालयमा विद्यार्थीहरु खेल्दै । फाइल तस्बिर

राजन रावत

हुम्ला, वैशाख ८ गते । जिल्लाभरका सामुदायीक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन सुरु भए पनि नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका विद्यालयमा भने हालसम्म पुस्तक पुग्न सकेको छैन । लिमी जाने दुई नाका हिमपातले बन्द भएका कारण पुस्तक विद्यालय पुग्न नसकेको हो ।

लिमीको सुनखानी आधारभूत विद्यालयका प्रधानाध्यापक कर्णजित बुढाले सिमकोटमा आई पुगेका पाठ्य पुस्तक लिमी ल्याउन नसकिएको जानकारी दिनुभयो । उहाँले पाठ्य पुस्तक ढुवानीको जिम्मा लिएको रोकाया पुस्तक पसलबाट पुस्तक आफुले बुझेको भए पनि लिमी जाने चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्ले न्यालु लेकमा हिँउ जमेका कारण पाठ्य पुस्तक ढुवानीमा कठिनाई भएको बताउनुभयो ।

उहाँले विद्यार्थीहरुका लागि ३३ सेट पुस्तक बुझ्नु भएको छ । यद्यपि प्रअ बुढा भने नारा लेकबाट पैदल हिँडेर लिमी पुगिसक्नु भएको छ । जिल्लाका १४५ वटा सामुदायीक विद्यालयमा पुस्तक पुगेर पठनपाठन कार्य भइरहेको छ । लिमीको सो विद्यालयमा अन्नवाली थन्क्याउन एक हप्ता र लोसार पर्वको बेला चार दिन बाहेक अन्य दिन पठनपाठन हुने गरेको छ ।

प्रअ बुढाले गत वर्षको चैत २३ गतेबाट वार्षिक परीक्षा सुरु भएर सम्पन्न भइसकेको बताउनुहुँदै आइतबारबाट भर्ना कार्य तीन दिनका लागि खोलिएको बताउनुभयो । लिमीमा पुस्तक कहिलेसम्म ढुवानी गर्न सकिन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने उहाँको भनाइ छ ।

कक्षा सातसम्म पढाई हुने सो विद्यालयका विद्यार्थीहरुलाई पुराना पुस्तकबाट पढाई सुरु गरिने उहाँले बताउनुभयो  । सो विद्यालयमा १३ जना विद्यार्थी रहेका छन् भने कक्षा एकमा चार, दुईमा चार, तीनमा तीन, चारमा दुई, पाँचमा तीन, छ मा दुई र सातमा दुई विद्यार्थी अध्ययन गर्दै आउनु भएको छ । लिमीका विद्यालयमा तोकिएको समयमा हालसम्म पुस्तक पुग्ने गरेका छैनन् ।