• १० मंसिर २०८१, सोमबार

गृहमन्त्री खाणद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे समस्या सुधार्न निर्देशन

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे सरोकारवालाहरुसँग छलफल गर्नुहुँदै गृहमन्त्री खाण

काठमाडौँ, ५ बैशाख । गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर जानकारी लिनुभएको छ । 

गृहमन्त्री खाणले सोमबार बिहान अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला र कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर विमानस्थलमा देखिएको समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिनुभएको हो । बैठकमा गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी सहभागी हुनुहुन्थ्यो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन जडान गरेर उपलब्ध गराउने सेवालाई तत्काल सहज बनाउन गृहमन्त्री खाणको निर्देशन 

प्रवक्ता पोखरेलले सम्वन्धित निकायका प्रमुखहरूलाई बोलाएर समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिएको बताउनुभयो । ‘माननीय मन्त्रीज्यूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिनुभयो,’ प्रवक्ता पोखरेलले भन्नुभयो, ‘विमानस्थलमा रहेका काउन्टरमा भिडभाड हुन नदिने व्यवस्था मिलाउन पनि मन्त्रीज्यूबाट निर्देशन भएको छ ।’



त्यस्तै गृहमन्त्री खाणले विमानस्थलभित्र रहेका बैंकका एटीएम मिसिन बिग्रिएर यात्रुहरूले दुःख पाइरहेको गुनासो आइरहेको भन्दै तत्काल समस्या समाधानका लागि पनि निर्देशन दिनुभयो । 

गृहमन्त्री खाणले तत्काल अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन जडान गरेर उपलब्ध गराउने सेवालाई सहज बनाउन पनि निर्देशन दिनुभयो ।