• १८ असार २०८१, मङ्गलबार

तालमेल अलमलमा, गठबन्धनमा जुटेन सहमति

blog

मकवानपुर समाचारदाता

हेटौँडा, वैशाख ५ गते । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेर जान सहमत भएका सत्तारूढ दलहरूबीच मकवानपुरमा अझै सहमति जुट्न सकेको छैन । गठबन्धनमा रहेका दलहरूको आ–आफ्नै माग र दाबी रहेकाले स्थानीय तह र वडामा भागबन्डा नमिल्दा सहमति नबनेको हो । गठबन्धनका दलहरूको बैठक पटक–पटक बस्दै आए पनि भागबन्डा नमिल्दा बैठक स्थगित भएको नेपाली काँग्रेस मकवानपुरका सचिव भीमसेन महतले जानकारी दिनुभयो । तालमेल गरेर जानेमा सबै दल सहमत रहेको तर गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)ले लचकता नअपनाउँदा थप छलफल अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । 

१० वटा पालिका र १०२ वटा वडा रहेका मकवानपुरमा माओवादी केन्द्रले आफ्नो अवस्थाभन्दा बढी माग गर्दा तालमेलमा समस्या भएको गठबन्धनमा रहेका दलहरूको जिकिर छ । माओवादी केन्द्रले शनिबार बसेको गठबन्धनको बैठकमा पाँचवटा पालिकाको प्रमुख, चारवटा पालिकाको उपप्रमुख र ४६ वटा वडाको वडाध्यक्ष पाउनुपर्ने दाबी गरेपछि छलफल रोकिएको छ । माओवादी केन्द्र मकवानपुरका नेता भीम पाख्रिनले पाँचवटा पालिकाको प्रमुख, चारवटा पालिकाको उपप्रमुख र ४६ वटा वडाको वडाध्यक्ष पार्टीको बटमलाइन भएको बताउँदै सहमति जुट्न नसके प्रदेश समितिमा पठाउने गठबन्धनका दलहरूबीच निर्णय भएको सुनाउनुभयो । 

वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा मकवानपुरमा काँग्रेसले दुईवटा गाउँपालिका अध्यक्ष, एउटा गाउँपालिका उपाध्यक्ष र एउटा नगर उपप्रमुख, माओवादी केन्द्रले एउटा नगरपालिका प्रमुख र एउटा गाउँपालिका अध्यक्ष जितेको थियो । नेकपा (एमाले)बाट निर्वाचित भएका दुई जना गाउँपालिका अध्यक्ष, एक जना उपाध्यक्ष र हेटौँडा उपमहानगरपालिकाका उपप्रमुखले एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) रोजेका थिए । काँग्रेसले गत स्थानीय तह निर्वाचनमा आफू दोस्रो ठूलो दल भएको भन्दै गठबन्धनका अन्य दलहरूभन्दा बढी स्थानीय तहको अध्यक्ष÷प्रमुख तथा वडाध्यक्ष पाउनुपर्ने बताउँदै आएको छ ।

छलफलमा सुरुमा काँग्रेसले ६० वटा वडाध्यक्ष, माओवादी केन्द्रले ४६ वटा, एकीकृत समाजवादीले २७ वटा र जनता समाजवादी पार्टीले २२ वटा वडाध्यक्ष दाबी गरेकोमा सहमतिका लागि अन्य दलले लचकता अपनाए पनि माओवादी केन्द्रले पहिलेकै दाबी नछाडेकाले पुनः बैठक बस्न नसेको र स्थगित भएको काँग्रेस जिल्ला सचिव महतले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी पनि लचकता अपनाउन तयार छौँ, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पहिले गरेको दाबी छाड्न तयार छौँ तर माओवादीको अडान सहमतिको बाधक बन्यो, बैठक अवरुद्ध भएको छ, छलफल अगाडि बढ्न सकेको छैन ।”

उता माओवादी केन्द्र मकवानपुरका अध्यक्ष सर्केस घलानले मकवानपुरमा गठबन्धन नटुट्ने भन्दै छलफल जारी रहेको र सहमति नजिक रहेकाले अन्तिमसम्ममा तालमेलबारे उपयुक्त निर्णय हुने बताउनुभयो ।  यस्तै नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले आइतबार दलहरू आन्तरिक छलफलमा रहेकाले छलफल हुन नसकेको भन्दै सोमबारसम्म तालमेलबारे टुङ्गो लाग्ने बताउनुभयो ।