• १७ असार २०८१, सोमबार

गठबन्धन दलहरू छलफलमै :एमालेले चवालीस वडामा टुङ्ग्यायो उम्मेदवार

blog

अमरगढी समाचारदाता

डडेल्धुरा, वैशाख ५ गते  । स्थानीय तहको निर्वाचन हुन २६ दिन बाँकी रहँदा सत्ता गठबन्धन दलहरूबीच डडेल्धुरामा कुन पालिका कसले लिने भन्नेमा सहमति हुन सकेको छैन । केन्द्रको निर्णयअनुसार गठबन्धनमा जाने सहमति गरेका दलले मनोनयनको दिन नजिकिँदासम्म ठोस निर्णय गर्न सकेका छैनन् । काँग्रेस जिल्ला कार्य समिति सभापति भीमबहादुर साउदले शनिबार बैठक बसेर उम्मेदवारको सहमति गरिने बताउनुभएको थियो तर आइतबारसम्म पनि सहमति हुनसकेको छैन ।  

नेकपा माओवादी केन्द्रले सातवटा पालिका रहेको डडेल्धुरामा एउटा नगरपालिकासहित दुईवटा गाउँपालिकामा दाबी गरिरहेको छ । माओवादीले परशुराम नगरपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँपालिकामा दाबी गरेको हो । माओवादीले ०७४ को स्थानीय चुनावमा अजयमेरु जितेको थियो । नेकपा (एमाले)ले सदरमुकाम रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा जितेकोमा अहिले नवदुर्गाका अध्यक्ष र उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेका छन् । 

समाजवादीले नवदुर्गा र अमरगढी नगरपालिका दाबी गरेको छ । अमरगढीका निर्वाचित उपप्रमुख पनि अहिले समाजवादीमा छन् । 

गत चुनावमा पर्शुराम नगरपालिका, अजयमेरु, भागेश्वर, गन्यापधुरा र आलिताल गाउँपालिका जितेको काँग्रेसले सातैवटा पालिकामा दावेदारी गरिरहेको छ । काँग्रेसको सातौँ जिल्ला अधिवेशनबाट असन्तुष्ट बन्नुभएका तत्कालीन जिल्ला कार्य समिति सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले सातवटा पालिकामा काँग्रेस एक्लै लड्नुपर्ने र आफूहरूको चित्त नबुझे सातै पालिका र ५२ वटै वडामा बागी उम्मेदवार बनाउने चेतावनी दिइरहनुभएको छ । 

डडेल्धुरामा गठबन्धनको विपक्षी दल नेकपा (एमाले)ले भने ५२ वटा वडा रहेको डडेल्धुराका ४४ वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारीको टुङ्गो लगाइसकेको छ भने बाँकी वडामा पनि सहमतिका आधारमा टुङ्ग्याइने एमाले डडेल्धुरा अध्यक्ष प्रकाशबहादुर साउदले बताउनुभयो ।