• १२ साउन २०८१, शनिबार

छ लेन सडकको म्याद सकियो, काम सकिएन

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख ५ गते । कैलालीमा निर्माणाधीन मोहना पुल–अत्तरिया छ लेन सडकको चौथो पटक थप गरिएको म्याद सकिए पनि काम भने पूरा हुन सकेको छैन ।  गुणस्तरहीन ब्लक प्रयोग गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अन्तिम अवस्थामा पुगेको काम केही समय रोकिएका कारण निर्माण कार्यले पूर्णता पाउन नसकेको हो । कालोपत्रे सडक निर्माणको काम पूरा भए पनि फुटपाथ क्षेत्रमा कतिपय काम बाँकी रहेका छन् । सडक निर्माणका लागि निर्माण कम्पनीलाई दिइएको समयावधि भने चैत मसान्तमा सकिएको छ । 

चौथो पटक थप गरिएको म्याद अवधि पनि काम पूरा नहुँदै सकिएपछि निर्माण कम्पनीले पाँचौँ पटक म्याद थप गर्नुपर्ने माग राख्दै आयोजनाको कार्यालयमा निवेदन दिएका छन् । कम्पनीले अन्तिम पटक असार मसान्तसम्म म्याद थप गर्नुपर्ने माग राखेको आयोजना प्रमुख रामबहादुर गुरुङले बताउनुभयो । “पाँचौँ पटक म्याद थपका लागि निर्माण कम्पनीले निवेदन दिएका छन्,” उहाँले भन्नुभयो, “अब डेढ महिनाभित्रै काम पूरा गर्ने सुनिश्चितता भएपछि मात्रै म्याद थपको फाइल अगाडि बढाउँछौँ ।” काम सम्पन्न गर्ने सुनिश्चितता नभएमा आयोजनाको कार्यालयले जरिवाना असुलेर काम गराउने उहाँको भनाइ छ । “डेढ महिनाभित्रै काम सम्पन्न गर्न सक्ने सुनिश्चितता नभएसम्म म्याद थप गर्दैनौँ,” उहाँले थप्नुभयो, “बरु म्याद सकिएको दिनदेखिको जरिवाना असुलेर भए पनि काम गराउँछौँ ।” 

धनगढी उपमहानगरपालिकाको मोहना नदी पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चौकसम्म १४.२ किलोमिटर रहेको छ लेन सडकको निर्माण कार्य २०७४ साल जेठबाट सुरु भएको थियो । हालसम्म ९५ प्रतिशत काम पूरा भइसकेको आयोजना प्रमुख गुरुङले बताउनुभयो । 

तीन प्याकेजको छुट्टाछुट्टै ठेक्का गरेर निर्माण कार्य अगाडि बढाइएको थियो । एक अर्ब ६५ करोड रुपियाँ लगानीमा बनेको छ लेन सडक निर्माण गरेबापत निर्माण कम्पनीले ९० प्रतिशत रकम भुक्तानी लिइसकेको आयोजनाको कार्यालयले जानकारी दिएको छ । अब फुटपाथ र सर्भिस लेनमा रेलिङ लगाउने, रङरोगन गर्ने, बोर्ड र ट्राफिक सङ्केत राख्न बाँकी रहेको छ । निर्माण कम्पनीले यी कार्य नगर्दा छ लेन सडकमा ट्राफिक नियम पालना गराउन चुनौती भएको छ । मान्छेले विभिन्न ठाउँमा मिडियन फुटाएर जथाभावी एक लेनबाट अर्को लेनमा सवारी लैजाने, बाटो काट्ने गरेका छन् । छ लेनको निर्माण कार्य नसकिएका कारण ट्राफिक प्रहरीलाई ट्राफिक नियम पालना गराउन पनि चुनौती रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वकिलबहादुर सिंहको भनाइ छ । 

छ लेन सडक निर्माणको सुरुवातमै पनि अख्तियारमा उजुरी परेको थियो । यसैगरी सडक अधिकार क्षेत्रमा पर्ने संरचना हटाउनमा ढिलाइ हुँदा पनि सुरुवाती समयमा काम तदारुकताका साथ हुन पाएन । पछि कोरोना महामारीका कारण निर्माणको कार्य प्रभावित भएको थियो । पछिल्लो समय कोरोना प्रभावकै कारण काम पूरा नभएको भन्दै छ महिनाका लागि चौथो पटक म्याद थप गरिएको थियो । 

भन्सारस्थित मोहना पुलदेखि बोराडाँडीसम्म ४.५ किलोमिटरको पहिलो खण्डमा शर्मा–अमर–नागार्जुन जेभीले काम गर्ने ठेक्का पाएको थियो । यसैगरी बोराडाँडीदेखि गेटासम्मको ४.५ किलोमिटर खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफे र गेटादेखि अत्तरिया चोकसम्म लामा–राजेन्द्र–डाँफे जेभीले काम गरिरहेका छन् ।