• ७ मंसिर २०८१, शुक्रबार

‘कोमा’ मा सिंहदरबार वैद्यखाना

blog

काठमाडौँ, वैशाख २ गते । आयुर्वेदिक औषधीको अध्ययन, अनुसन्धान र उत्पादनको उद्देश्यसाथ २०५१ सालमा स्थापित सिंहदरबार वैद्यखाना विकास समिति ३० वर्षपछि आफैँ ‘कोमा’ मा पुगेको छ । करोडौँ रुपियाँ खर्चिएको औषधी उत्पादनको मेसिनमा खिया लागिरहँदा सिंहदरबार वैद्यखाना विकास समितिको कार्यालय ५० जनाभन्दा बढी कर्मचारीको ‘जागिर खाने, दिन बिताउने’ अड्डा बनेको हो । 

व्यवस्थापकीय लापरबाही र राजनीतिक हस्तक्षेपका कारण काठमाडौँ अनामनगरस्थित सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादन बन्द हुने अवस्थामा पुगेको छ । तीन वर्षदेखि आयुर्वेदिक औषधी उत्पादनका लागि बोलपत्र आह्वान हुन सकेको छैन । दुई सय प्रकारका औषधी उत्पादन गर्ने क्षमतासाथ विकास र विस्तार गरिएको सिंहदरबार वैद्यखाना थलिएको छ । 

असोजदेखि अध्यक्षविहीन

गत असोजमा समितिका अध्यक्ष वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. बाबुराजा अमात्यको पदावधि सकिए पनि नयाँ अध्यक्ष नियुक्त गरिएको छैन । सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले भन्नुभयो, “कुनै निर्णय गर्नका लागि बोर्ड छैन । कार्यालय प्रमुखलाई अधिकारविहीन बनाइएको छ । मैले आफ्नोतर्फबाट निर्णय गरेर खरिद र उत्पादन गर्न सक्ने पाँच लाख केजी च्यवनप्रास उत्पादन भएको छ । अरू काम ठप्प छ ।” गत कात्तिकमा कार्यालय प्रमुख भएर सिंहदरबार वैद्यखाना आउनुभएका डा. केसीले बेथितिले थलिएको संस्थालाई सुधार्ने अधिकार आफूसँग नरहेको बताउनुभयो । उहाँले पदीय जिम्मेवारीमा रहे पनि आफूसँग कामकारबाही प्राथमिकतासाथ अघि बढाउने अधिकार नभएको दाबी गर्नुभयो । 

रोकियो जडीबुटी खरिद

२०७८ पछि जडीबुटी खरिद गर्न बोलपत्र आह्वान भएको छैन । बोलपत्र आह्वान हुँदा पनि जडीबुटी खरिदमा व्यापक अनियमितता हुँदै आएको छ । जडीबुटी खरिद नभएपछि औषधी उत्पादन पनि भएको छैन ।  

डा. केसीले भन्नुभयो, “मैले जडीबुटी कारोबार गर्नेसँग बुझेँ, सोधेँ, अरू निजी कारखानालाई निसङ्कोच जडीबुटी दिने ठेकेदार वैद्यखानालाई जडीबुटी दिन सङ्कोच मान्दारहेछन् । त्यसमाथि भ्यालु–एड गरेर दुई सय रुपियाँको जडीबुटीलाई चार सय रुपियाँ बनाएर किन्ने गरेको पाएँ । यो बेथिति अन्त्य गर्न सरकारले ठुलै निर्णय लिनु पर्छ ।”

उहाँले सिंहदरबार वैद्यखाना राज्यको प्राथमिकतामै नपरेको गुनासो गर्नुभयो । उहाँले दिनभरि बस्न र तलब खानका लागि मात्रै कर्मचारी भर्ती गर्नु गलत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यति दक्ष जनशक्ति भएको वैद्यखाना चलाउनै पर्छ । सकिँदैन भने बन्द गर्नु पर्छ । वैद्यखाना इतिहास हो । निर्णय लिनु पर्छ । तलब दिएर कर्मचारी पालिराख्ने मात्रै होइन ।”

हस्तक्षेप गर्छु : यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखानाका सन्दर्भमा हस्तक्षेपकारी ढङ्गले निर्णय लिने बताउनुभयो । उहाँले वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादन बन्द भएको विषयमा आफू जानकार रहेको पनि स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “सिंहदरबार वैद्यखाना राजनीतिको अखडा भयो । कर्मचारी अत्यधिक हुँदा पनि कामको अत्तोपत्तो छैन । यो अवस्था मैले पाएको छु । ब्रिफिङ लिँदा त्यहाँका प्रमुखबाट शून्यकै अवस्था पाएँ । यत्रो लगानी छ, वैद्यखाना हेर्दा आँसु आयो ।” 

उहाँले केही दिनभित्रै बैठक राखेर औषधी उत्पादन प्रक्रियाका सन्दर्भमा निर्णय लिने बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पादन गर्नै पर्छ । हस्तक्षेप गर्ने तयारीमा छु । आयुर्वेद चिकित्सालाई सँगसँगै लैजाने सोचसाथ कसरी वैद्यखाना राम्रो बनाउन सकिन्छ, त्यही विषयमा निर्णय गर्छु ।” 

उहाँले नेपालका जडीबुटी बोरा, किलो, क्विन्टलको भाउमा विदेश जाने, त्यहाँबाट ग्राम र मिलिग्राममा महँगोमा किन्नुपर्ने र वैद्यखानामा रहेका मेसिनचाहिँ खिया लाग्ने अवस्था अन्त्य गर्ने गरी हस्तक्षेप गर्ने प्रस्ट पार्नुभयो । 

सिंहदरबार वैद्यखाना स्थापनालगत्तै सिलाजित, त्रिफला चुर्ण, तुलसी चिया, अश्वगन्धा चुर्ण, अश्वगन्धारिस्ट, च्यवनप्राससहित दुई सय प्रकारका औषधी उत्पादन सुरु गर्ने गरी तयारी गरिएको थियो ।

 एक सय वटा आयुर्वेदिक औषधी नियमित उत्पादन हुने गरेको थियो । आर्थिक वर्ष २०७७/७८ यता औषधी उत्पादन क्षमता अनुसार बोलपत्र आह्वान हुन सकेको छैन । २०७७/७८ मा वैद्यखानाका लागि नेपाल सरकारको बजेटले गुरुयोजनासहितका काम गर्ने तय भएको थियो तर काम भएको छैन ।