• ११ जेठ २०८१, शुक्रबार

घोडेजात्रा पर्व, प्रविधि विकाससँगै महत्व घट्दै

blog

काठमाडौँ, चैत २६ गते । काठमाडौँ उपत्यकामा मनाइने घोडेजात्राको आफ्नै ऐतिहासिक मान्यता, मूल्य र महत्व रहेको छ । औँसी तिथिमा मनाइने घोडेजात्राले तान्त्रिक मान्यतालाई आत्मसात् गरेको पाइन्छ । 

यस पर्वलाई पिशाच चतुर्दशी पनि भनिन्छ । यो दिन टुँडिखेलमा घोडा दगुराउने कामका साथै अरू विभिन्न देवीदेवताका रथयात्रा पनि गर्ने गरिन्छ । घोडेजात्रा नेवार समुदायको एउटा ठुलो चाड पनि हो । नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन् । काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा रहिआएको छ । यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी नुहाइदिएर सफासुग्घर तुल्याई मद्यमांस आदि तामसी भोग चढाइन्छ ।  भोगमा छ्यापी, लसुन जस्ता तामसी भोजनको प्राचुर्य हुन्छ । घोडेजात्रापछि लसुन छिपिएको हुन्छ, खानलायक हुँदैन भन्ने किंवदन्ती पनि आजसम्म त्यत्तिकै चरितार्थ रहेको पाइन्छ । 

संस्कृतिविद् गोविन्द टण्डनले टुँडिखेलमा घोडेजात्रा गरिनुको कारण त्यहाँ गुरु माता भन्ने राक्षसको बास भएको हुनाले त्यसको आत्मालाई उठ्न नदिन वर्षको एक पटक टुँडिखेलमा घोडा दौडाइदियो भने ठिक हुन्छ भन्ने आशयले यो चाड मनाउन थालिएको बताउनुभयो । टुँडिखेलमा घोडा चढेर सेनाले जुन आफ्नो सिप, कौशल देखाउनेसमेत गरेको छ । पहिले र अहिले घोडेजात्रा मनाउने चलनमा धेरै परिवर्तन आएको टण्डनले बताउनुभयो । 

उहाँले थप्नुभयो, “पहिला घोडेजात्रा मनाउन सीमित साधनको प्रयोग गरिन्थ्यो । सीमित साधन हुँदा घोडेजात्राको ठुलो महत्व हुन्थ्यो । मान्छेहरू घोडेजात्रा हेर्न परिवारसहित जाने र टुँडिखेलमा भिडभाड लाग्ने गथ्र्याे । टुँडिखेलको चारैतिरको बारमा मान्छेले खुट्टा टेक्ने ठाउँ पाउन गाह्रो हुन्थ्यो । अझ रुखको माथि चढेर पनि मान्छेहरू घोडेजात्रा हेर्न गर्थे ।” 

उहाँका अनुसार पछिल्ला दिनमा भने मनोरञ्जनका अनेक साधन आएपछि घोडेजात्राको महìव कम हुँदै गएको भान हुन थालेको छ । त्यस्तै संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्ग अहिले घोडेजात्रा मनाउने चलनमा धेरै फरकपन आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला चाक्लासिमा भन्ने ठुलो वरपिपलको रुखमा राणाहरूले खुड्किलो राखेर माथि चढ्न जाने र त्यहाँबाट राजामहाराजाले घोडेजात्रा हेर्ने चलन थियो तर अहिले त्यही चाक्लासिमा सैनिक मञ्च बनेको छ ।” पहिले भूत प्रेत इत्यादिको विश्वास गर्ने चलन थियो र भूतलाई दबाउनका निम्ति तलेजु भवानीको घोडा ल्याएर ठुलो आवाज आउने गरी ठोकेपछि भूत भाग्छ भन्ने चलन चलिआएपछि घोडेजात्रा मनाउन थालिएको उहाँले बताउनुभयो ।  

खास गरी काठमाडौँ उपत्यकाको तीन सहरमा भव्य रूपमा घोडेजात्रा मनाइने गरिन्छ । जात्रामा विशेष गरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायम छ । यो चाड तीन दिनको भए पनि अन्तिम दिन चैत शुक्ल परेवाको दिन मातृका देवीका खटहरू सहरमा परिक्रमा गराई छ वटा गल्लीबाट ल्याई असन चोकमा सात वटा खट घुमाउने कामलाई सप्तमातृकाको आपसमा ढोगभेट भएको पनि भनिन्छ भन्ने किंवदन्ती छ ।