• २४ वैशाख २०८१, सोमबार

बेचिएका जुम्ल्याहा दिदीबहिनीको मिलन

blog

जन्मिनेबित्तिकै बेचिएका जुम्ल्याहा दिदीबहिनीको १९ वर्षपछि भेट भएको छ । यी दिदीबहिनीको नाम एमी खवितिया र  एनो सरतानिया हो । सोसल मिडियामार्फत उनीहरूको चिनजानी भएको थियो ।

यी दुई दिदीबहिनी युरोपेली मुलुक जर्जियामा एक अर्कोबाट निकै टाढा बस्दथे । उनीहरूलाई एक अर्काको बारेमा केही पनि थाहा थिएन तर एउटा टिकटक भिडियो र टेलिभिजन ट्यालेन्ट सोका कारणले उनीहरूबीच भेट भयो ।

एमीले जर्जिया गट ट्यालेन्ट नामक टेलिभिजन रियालिटी सो हेरिरहेकी थिइन् । उनको ध्यान आफ्नो जस्तै अनुहार भएकी एक जना प्रतिस्पर्धीमा गयो । उनीहरू त्यतिबेला १२ वर्षका थिए । ११ वर्षको उमेरमा उनीहरूले एउटै नृत्य प्रतियोगितामा भाग लिएका थिए । त्यहाँ मानिसले उनीहरू जुम्ल्याहा जस्तो अनुहार भएको भनेर कुरा गरे तर उनीहरू वास्तवमै जुम्ल्याहा भएको कुरा रहस्यमै रह्यो त्यतिबेला ।

अन्ततः टिकटक नै उनीहरूलाई भेट गराउने माध्यम बन्यो । एनोले टिकटक भिडियो हेर्दा ठ्याक्कै आफूजस्तै देखिने निलो कपाल भएकी केटी देखिन् । त्यसपछि उनीहरूबीच भर्चुअल्ली परिचय तथा कुराकानी भयो । डिजिटल दुनियाँमा एक अर्कालाई देखेपछि अन्ततः सन् २०२१ मा उनीहरूले भेटघाट गरे, राजधानी तिबिल्सीस्थित रुस्ताभेली पुलमा । अनि मात्र उनीहरूको लुकेको अतीतको खुलासा भयो ।

एमी र ऐनोको जन्म सन् २००२ मा भएको थियो । जुम्ल्याहा छोरी जन्माएसँगै आमा कोमामा गइन् । त्यसपछि पिता गोचा गखारियाले जुम्ल्याहा छोरी बिक्री गरे । एमी जुगडिडीमा हुर्किन् भने ऐनो तिबिल्सीमा हुर्किन् । दुवैजनालाई एकअर्काको अस्तित्वबारे पत्तो थिएन ।

सोसल मिडियामार्फत जोडिएका दिदीबहिनीले १९ वर्षपछि आफ्नी आमासँग भेट गर्ने निधो गरे । आफ्नी वास्तविक आमासँग भेट गर्न उनीहरू सफल भए । त्यो भेट निकै नै कारुणिक पीडाले भरिएको थियो । आमाले आफू कोमाबाट निस्किएपछि छोरीहरूको बारेमा सोध्दा उनीहरू मरेको जवाफ दिइएको थियो ।