• १३ साउन २०८१, आइतबार

भ्रष्टाचार आरोपितको निधन : अंशियारविरुद्ध ५४ लाखको मुद्दा

blog

काठमाडौं, वैशाख २ गते। अख्तियार दुरुयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले मोहन्याल गाउँपालिका, कैलालीका अध्यक्ष स्वर्गीय नवल सिहं रावल, उपाध्यक्ष पुजादेवी बुढामगर, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसमेत १४ जना तथा एक निर्माण कम्पनी उपर राजस्व चुहावट गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग लगाइएको छ। 

मूल्य अभिवृद्धि कर (भ्याट) बापतको रकम गरी जम्मा ५४ लाख १८ हजार ५६८ रुपियाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको आरोप आयोगले लगाएको छ। आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, आयोगले शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। 

मोहन्याल गाउँपालिका, कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्रीकर सङ्कलनसम्बन्धी बोलपत्र बिक्री भएकोमा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको उजुरी परेपछि आयोगले छानबिन सुरु गरेको थियो। 

मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष हाल कार्यबाहक अध्यक्ष पुजादेवी बुढा मगर, वडा नं. २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नं. १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नं. ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारीमाथि छानबिन गरिएको थियो।

यसैगरी, वडा नं. ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नं. ४ का वडा अध्यक्ष टेकबहादुर बोगटी, वडा नं. ६ का वडा अध्यक्ष टीकाराम भण्डारी, वडा नं. ३ का वडा अध्यक्ष नन्दराम गिरी, गाउँकार्यपालिका सदस्य राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराईसमेतले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको आयोगको ठहर छ। 

आयोगले घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू वडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकरबहादुर शाहसमेतले पहिलो किस्ता बापतको कबोल अङ्क रकम शर्तबमोजिम सम्झौताका बखत जम्मा नगरी सम्झौता गरेको, प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको र मिनाहाको माग गरी गाउँकार्यपालिकाबाट निर्णयसमेत गराई मिनाहा गराएको आयोगले जनाएको छ। शाहविरुद्ध ५६ लाख ३४८ रुपियाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ। 

यस्तै, मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष स्वर्गीय नवल सिंह रावलसमेतले गाउँ कार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिवृद्धि कर (भ्याट) बापतको रकम गरी जम्मा ५४ लाख १८ हजार ५६८ रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ। 

रावलको निधन भए पनि निजको हक खाने अंशियारबाट बिगो ५४ लाख १८ हजार ५६८ बिगो कायम गरेर असुल उपरका लागि मुद्दा दायर गरिएको आयोगले जनाएको छ। 

साथै, मोहन्याल गाउँपालिका, कैलालीका तत्कालीन प्रमुख प्रशाकीय अधिकृत गणेशदत्त ओझाले पहिलो किस्ताबापतको कबोल अंक रकम, ठेकेदारबाट शर्तबमोजिम सम्झौताका बखत नगद जम्मा गर्न नलगाई सम्झौता गरेको र दोस्रो र तेस्रो किस्ता बापतको कार्यसम्पादन जमानतबापत राखिएको रकम फुकुवा गरी गाउँ कार्यपालिकाबाट निर्णय भएपछि मिनाहा गरिएको आरोप आयोगको छ। 

 ओझाले सोबापतको भ्याट रकम र गाउँपालिकामा पहिलो किस्ताबापतको (रकम नलिई सम्झौता गरेको) मानी ढिलो गरी बुझाएको रोयल्टी बापतको रकम, आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्नेमा नबुझाएको पाइयो। आयोगले ओझाविरुद्ध ५६ लाख ३४८ रुपियाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ।