• १३ साउन २०८१, आइतबार

संरक्षित वनको क्षेत्रफल बढ्यो

blog

ललित बसेल

सुर्खेत, वैशाख २ गते । नेपालको सुर्खेतस्थित काँक्रेविहार संरक्षित वनको क्षेत्रफल वृद्धि भएको छ । केही दिनअघि प्राविधिक टोलीले नापजाँच गरेर काँक्रेविहार संरक्षित वन क्षेत्रको क्षेत्रफल वृद्धि भएको पाइएको हो । पहिले १६७ हेक्टर क्षेत्रफल भनिएको उक्त वनको क्षेत्रफल अहिले पुनः नापी गर्दा १७६.७७ हेक्टर भएको छ । नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापाले काँक्रेविहार संरक्षित वन क्षेत्रफलको क्षेत्र पुनः नापजाँच गर्दा पहिलेको तुलनामा बढेको पाइएको बताउनुभयो । उहाँले अब काँक्रेविहारको क्षेत्रफल १७६.७७ हेक्टर कायम भएको जानकारी दिनुभयो । 

यसअघि काँक्रेविहार क्षेत्रफलका बारेमा केही अन्योल थियो । नापी कार्यालय सुर्खेतको नक्साङ्कनमा काँक्रेविहारको क्षेत्रफल १६७ हेक्टर र राजपत्रमा १७५.५ हेक्टर थियो । पुनः गरिएको नापचाँजले काँक्रेविहारको क्षेत्रफल यकिन भएको प्राविधिक टोलीले जनाएको छ । पुनः नक्साङ्कनले पहिलेको तुलनामा काँक्रेविहारको क्षेत्रफल केही बढेको देखाएको हो । आफूहरूले काँक्रेविहारको क्षेत्रफल केही बढेको रिपोर्ट बनाएर पठाइएको जानकारी नापी प्रमुख थापाले दिनुभयो । अत्याधुनिक प्रविधिबाट काँक्रेविहारको पुनः नक्साङ्कन भएकाले अब काँक्रेविहारको क्षेत्रफल नाप गरेअनुसारको नै हुने उहाँको भनाइ छ । 

यस्तै डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले पनि समग्रमा काँक्रेविहारको क्षेत्रफल पहिलेको तुलनामा केही बढेको पाइएको बताउनुभयो । केही स्थानमा काँक्रेविहारको क्षेत्रफल अतिक्रमण भएको रहेछ भन्दै उहाँले पुनः नक्साङ्कनले अतिक्रमित क्षेत्रको समेत पहिचान गरेको जानकारी दिनुभयो । यसअघि काँक्रेविहार क्षेत्रको जग्गा अतिक्रमणमा परेको हुन सक्ने आशङ्कामा स्थानीयले बारम्बार आवाज उठाएका थिए । गत असोजमा पर्खाल लगाउने विषयमा विवाद भएपछि अदालतमा रिट परेको थियो । उच्च अदालत सुर्खेतले अल्पकालीन सुनुवाइ गर्दै काँक्रेविहारको पर्खाल निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको थियो । सरकारी तथ्याङ्कमै काँक्रेविहारको क्षेत्रफल फरक–फरक भएका कारण डिभिजन वन कार्यालयलाई क्षेत्रफल यकिन गर्न भनिएको थियो ।