• १२ साउन २०८१, शनिबार

बहुउपयोगी महुवा सङ्कलन सुरु

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख २ गते । जङ्गलमा पाइने औषधीय गुण भएको महुवा सङ्कलनको याम सुरु भएको छ । महुवाको रुखबाट फूल झर्न थालेपछि कैलालीको वन क्षेत्र आसपासका बासिन्दाले महुवा सङ्कलन गर्छन् । वसन्त ऋतु सुरु भएसँगै महुवाको रुखबाट फूल झर्ने गर्छ । सोही फूल स्थानीयवासीले सङ्कलन 

गर्ने गर्छन् । स्थानीयस्तरमा महुवाबाट सुगन्धित रक्सी बनाउने गरिएको छ ।  अहिले गहुँ भित्र्याउने चटारो भए पनि महुवा बटुल्नेको पनि कमी छैन ।  खास गरेर ज्येष्ठ नागरिक, बालबालिका महुवा बटुल्न वन पस्ने गरेका छन् । गहुँ  भित्र्याउने चटारोसंँगै अहिले महुवा बटुल्ने काम पनि भइरहेको भजनी नगरपालिका–३ का विक्रम चौधरीले बताउनुभयो । “स्थानीय गाउँवासीले महुवाको रक्सी बनाउने गर्छन्,” उहाँले भन्नुभयो, “यसको रक्सी राम्रो हुने गरेकाले  महुवा बटुल्नेको वनमा तँछाडमछाड नै हुने गरेको छ ।”

महुवाबाट औषधिसमेत बनाउन सकिने भए पनि यसको उपयोग केवल रक्सी बनाउनमा मात्रै सीमित रहेको पाइएको छ । राम्ररी अध्ययन गरेर यसको थप सदुपयोग गर्न सके ठूलो आर्थिक लाभ लिन सकिने संरक्षणकर्मीसमेत रहनुभएका विजयराज श्रेष्ठ बताउनुहुन्छ । “महुवा बहुउपयोगी फूल हो । यो धेरै चिजमा औषधिको रूपमा काममा आउन सक्छ,” उहाँले भन्नुभयो, “तर यसको बारेमा विस्तृत अध्ययन नभएका कारण गाउँघरमा केवल रक्सी बनाउन मात्रै महुवा सीमित छ ।” 

महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिको वृक्षको फूल हो । वसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्छ । झरेको फूललाई स्थानीयवासीले सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई उपयोग गर्ने गर्छन् । महुवा शक्तिवद्र्धक जडीबुटी रहेको कतिपयको बुझाइ छ । महुवा दूध वा तातोपानीमा मिसाएर खाए पनि शरीरलाई धेरै फाइदा गर्ने गरेको बताउँछन् । 

महुवा परम्परागत रूपमा स्थानीय थारू समुदायले प्रयोग गर्ने औषधीय गुण भएको जडीबुटी रहेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गङ्गादत्त भट्टले बताउनुभयो । “औषधीय गुण भएको यसलाई थारू समुदायले रक्सी बनाउन प्रयोग गर्दै आएका छन्,” उहाँले भन्नुभयो, “यो के–केमा उपयोगी हुन सक्छ भन्ने पत्ता लगाउन हामी अनुसन्धान गर्नेछौँ ।” महुवा बहुउपयोगी हुन सक्ने भन्दै उहाँले यसको संरक्षण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।