• १६ वैशाख २०८१, आइतबार

त्रिविको अनलाइन सेवा चुस्त नहुँदा सेवाग्राहीलाई सास्ती

blog

काठमाडौँ, चैत १५ गते । भोजपुरका मौसम राई त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) धाउन थालेको एक महिना भयो । कोरोना समयमा भएको स्नातक तहको ग्याप भेरिफिकेसनका लागि आउनुभएका उहाँलाई कुनै न कुनै डकुमेन्ट नपुगेको भन्दै पनिकाबाट फर्काइने गरेको छ । 

उहाँले भन्नुभयो, “भोजपुरदेखि पनिका धाएको महिना दिन भयो । कोरोनाको ग्याप भेरिफिकेसन गर्न आएको कहिले के पुगेन, कहिले के पुगेन भनेर फर्काउनुहुन्छ । मागेको सबै डकुमेन्ट बुझाएको छु, जहिले कुनै न कुनै कागजात माग्नुहुन्छ, आजित भएँ ।” 

रुपन्देहीका सुनिल कुमालको पनि समस्या उस्तै छ । उहाँ स्नातक तहको ट्रान्सक्रिप्ट निकाल्न काठमाडौँ आउनुभएको छ । बैङ्कमा लामो लाइन बसेर भौचर बुझाएर फारम पेस गरेपछि उहाँलाई २० दिनपछि  ट्रान्सक्रिप्ट लिन बोलाइएको छ । उहाँले भन्नुभयो, “भैरहवादेखि आएँ, लामो लाइनमा बसेर बैङ्क भौचर काटेर फारम बुझाएँ, फेरि २० दिनपछि आउनुस् भन्नुभएको छ, अब घर गएर आउँ कि यही बसौँ भएको छ ।”

त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट दिने भनेको सेवा प्रभावकारी नहुँदा विद्यार्थी कार्यालयमा धाउनै पर्ने बाध्यतामा छन् ।

अनलाइनबाट सबै प्रक्रिया गर्न पाएको भए  समय र पैसाको बचत हुने उहाँ बताउनहुन्छ । सेवा प्राप्त गर्न परीक्षा नियन्त्रण कार्यालयका झ्याल चहार्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य अझै भएको छैन । कुर्सीमा कर्मचारी पाउन मुस्किल छ । कर्मचारीको बोली उस्तै रुखो भएको सेवाग्राहीको गुनासो छ । 

त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट दिने भनेको सेवा प्रभावकारी नहुँदा विद्यार्थी कार्यालयमा धाउनै पर्ने बाध्यतामा छन् । कोठा-कोठा चहार्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य अझै हुन सकेको छैन । 'तामझामका साथ सुरु गरिएको अनलाइन सेवा किन प्रभावकारी बन्न सकेन ?' सेवाग्राही सुनिल कुमालको प्रश्न छ, 'अनलाइन सेवा दिन्छौँ भनेर तामझामका साथ सुरु गरिएको सेवा किन प्रभावकारी भएन । यसरी काठमाडौँ  आएर सबै फारम भर्नुपर्ने भएपछि किन अनलाइनको तमासा गर्नु परेको होला ?' 

विद्यार्थीलाई सहज रूपमा सेवा दिनुको साटो अनलाइन प्रणालीले झन् अन्यौलता सिर्जना गरेको उहाँको भनाइ छ । हिजोआज पनिकामा ट्रान्सक्रिप्ट बनाउने, सच्याउन आउने, हराएको प्रमाणपत्र बनाउनेको सङ्ख्या केही मात्रामा कम देखिएको छ । तर, यसरी आउनेहरूले समेत कर्मचारी भेट्टाउँदैनन् । कर्मचारी नभएकै कारण सानो कामका लागि पटक पटक कार्यालय पुग्नुपर्ने झन्झट भोग्न बाध्य छन् । 

त्रिभुवन विश्वविद्यालयले माघ १५ बाट अनलाइन प्रणालीबाट सबै सेवा वितरण गर्ने जनाएको थियो । दुई दिनमै वेबसाइट ह्याक भयो । फागुन ८ गतेबाट पुनः अनलाइन सेवा सुरु भए पनि फारमको प्रमाणीकरण हुन सकेकाे छैन । 

त्रिभुवन विश्वविद्यालय स्ववियु सभापति श्यामराज ओझाले विश्वविद्यालयको लापरबाहीका कारण यो सेवा प्रभावकारी नभएको आरोप लगाउनुभयो । अनलाइनबाट विद्यार्थीलाई सेवा दिनुको साटो झन् सास्ती भएको उहाँको भनाइ छ । व्यवस्थापनका लागि दबाब दिँदैआएको उहाँले बताउनुभयो ।

“विद्यार्थीलाई सहज होस भनेर सुरु गरेको अनलाइन प्रणाली प्रभावकारी भएको देखिएन, हामीले पटक–पटक त्रिवि नेतृत्वलाई दबाब दिइरहेका छौँ, तर सुनुवाइ भएको छैन” उहाँले भन्नुभयो, “अहिलेसम्म विद्यार्थीले अनलाइनबाट सेवा लिएको जानकारीमा छैन ।” परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीले यो विषयमा छलफल गर्न नचाहेको उहाँको आरोप छ । 

फागुन ८ गतेबाट पुनः अनलाइन सेवा सुरु भए पनि फारमको प्रमाणीकरण हुन सकेकाे छैन । 

यस्तै त्रिभुवन विश्वविद्यालय स्ववियु सदस्य पुरन पोखरेलले अनलाइन प्रणाली विद्यार्थीको आँखामा छारो मात्र भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अनलाइन प्रणालीको नाममा धेरै खर्च गरेर बनाइएकाे वेबसाइटको व्यवस्थापन गर्न नसक्नु नेतृत्वको लापरबाही हो । ”

आवेदन सम्बन्धित शाखामा पठाउन सकिएन 

परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पवन बराल अनलाइनमा आएका आवेदनलाई सम्बन्धित शाखामा पठाउन नसक्दा सेवा प्रवाहमा समस्या आएको स्वीकार गर्नुहुन्छ । आवश्यक दक्ष जनशक्ति र पूर्वाधार नहुँदा आवेदन सिस्टममा थुप्रिएर बसेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “अनलाइनबाट आएका आवेदनलाई सम्बन्धित शाखामा पठाउन सकिएको छैन, आवश्यक पूर्वाधार नभएका कारण सिस्टममा थुप्रिएर बसेका छन् ।” 

अनलाइनमार्फत आएका आवेदन सम्बन्धित शाखामा पठाउनुपर्छ । सम्बन्धित शाखाले आवश्यक डकुमेन्ट भए नभएको हेरेर मात्र भेरिफिकेसन गर्ने गर्दछ । अनलाइन सेवाबाट सेवा प्राप्त गर्न भौतिक उपस्थितिमा भन्दा झन् बढी समय लाग्ने  भएपछि  विद्यार्थीको विश्वास पनि  कम भएको उहाँले बताउनुभयो । 

अब, यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अटोमेसनमा जाने तयारी रहेको उहाँले सुनाउनुभयो । सहनियन्त्रक बरालले भन्नुभयो, “अनलाइन प्रणालीबाट सेवा लिँदा भौतिक उपस्थितिभन्दा बढी समय लागेका कारण यसप्रतिको विश्वास पनि कम भएको छ । अब अटोमेसनमा जाने तयारी गरेका छौँ ।”

खातामा रकम ल्याउनै समस्या 

विद्यार्थीले अनलाइन आवेदन भर्दा तिर्ने दस्तुर बापतको रकम त्रिविको खातामा ल्याउनै समस्या हुने गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक बरालका अनुसार अनलाइनमा “गेटवे” लगाइएका कारण रकम होल्ड भएर खातामा आउन समस्या भएको हो । 

 त्रिविले गत साउनदेखि अतिरिक्त काम गरेबापत दिँदैआएको भत्ता कटौती गरेको थियो । 

उहाँले भन्नुभयो, “अनलाइनबाट तिर्नुपर्ने दस्तुरबापतको रकमका लागि तेस्रो पक्षले पेमेन्टको गेटवे लगाइदियो, रकम होल्ड हुने गरेको छ, त्रिविको खातामा रकम आउनै समय लाग्ने भएका कारण पनि समस्या छ ।”

भत्ता दिने सहमति

परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीले  गत साउन महिनादेखि अतिरिक्त काम गरेको बापतको भत्ता नपाउने भएपछि कार्यालय समयभन्दा बाहिर काम गरेका थिएनन् । तीन दिनअघि मात्र अतिरिक्त काम गरेबापत रकम उपलब्ध गराउने सहमति भएको सहनियन्त्रक पवन बरालले बताउनुभयो । त्रिविले गत साउनदेखि अतिरिक्त काम गरेबापत दिँदैआएको भत्ता कटौती गरेको थियो । 

अनलाइन प्रणालीको सुरुवात गरेपछि २४ घण्टा नै कर्मचारीको व्यवस्था गर्नुपर्ने भएका कारण अतिरिक्त भत्ता पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।