• १५ वैशाख २०८१, शनिबार

“जिउँदो बाघ” को अमर कीर्ति

blog

हिन्दु धर्मावलम्बीका लागि चारधामको विशेष महत्व छ । चारधाममा बद्रीनाथ धाम, द्वारका धाम, रामेश्वर धाम र जगन्नाथ धाम पर्दछन् । यिनलाई वैष्णव तीर्थ पनि भनिएको छ । बद्रीनाथ धाम भारतको उत्तराखण्डमा पर्छ भने द्वारका धाम गुजरातमा, रामेश्वर धाम तमिलनाडुमा र जगन्नाथ धाम ओडिसामा पर्दछ ।

उत्तराखण्डका चार धाम चाहिँ बद्रीनाथ, केदारनाथ, गङ्गोत्री एवं यमुनोत्री हुन् । तीर्थालुहरू हरिद्वार, ऋषिकेश आदि क्षेत्र हुँदै यमुनोत्री, गङ्गोत्री, केदारनाथ र बद्रीनाथको यात्रा पूरा गर्दछन् ।

‘गङ्गोत्री’ यतिखेर लेखनको अभीष्ट बनेको छ । पतितपावन गङ्गाको उद्गम स्थल यही भएकाले गङ्गोत्रीको महिमा उच्च हुनु स्वाभाविक हो । गङ्गोत्री नपुगेसम्म उत्तराखण्डको चार धाम यात्रा अपूरै रहने जनभावनाले पनि यसको गरिमा दर्शाएको छ । यही थलोमा राजा भगीरथले तपस्या गरी महादेवलाई प्रसन्न तुल्याएको कथन छ ।

भगवान् रामका पूर्वज हुन् भगीरथ । इक्ष्वाकु कुलमा जन्मिएका उनले आफ्ना पुर्खाको उद्धारका लागि घोर तपस्या गरे । कपिल मुनिको क्रोधका कारण भष्म भएका समस्त पितृको उद्धारका लागि भगीरथले स्वर्गकी गङ्गालाई पृथ्वीमा ल्याउन सफलता प्राप्त गरेका हुन् ।

साठी हजार भए खरानी

पौराणिक कथा अनुसार अयोध्याका राजा सगरका केशिनी र प्रभा नामका दुई पत्नी थिए । केशिनीबाट छोरा असमञ्जस र प्रभाबाट साठी हजार सन्तान जन्मिए । राजा सगरले अश्वमेध यज्ञ आयोजना गर्दा स्वर्गका राजा इन्द्रलाई चित्त बुझेन । अनि यज्ञका घोडा चोरेर कपिल मुनिको आश्रममा छाडिदिए । घोडा खोज्दै आएका अभिमानी साठी हजार सगरपुत्रले कपिल मुनिलाई चोर ठह¥याई दुत्कार्न थाले । कपिल मुनिको क्रोधाग्निले तिनलाई खरानी बनाइदियो ।

राजा सगरको अनुनय–विनयपछि कपिल मुनिले गङ्गाजलको स्पर्श पाउनासाथ तिनको उद्धार हुने उपायसमेत बताए । राजा सगर, तिनका छोरा असमञ्जस, नाति अंशुमान तथा पनाति दिलीपले पनि गङ्गा ल्याउन निकै प्रयास गरे तर अन्ततः राजा भगीरथलाई सफलता प्राप्त भयो ।

जन्हुको झोक

भगीरथको अथक् साधनाको प्रतिफलस्वरूप गङ्गा पृथ्वीमा उत्रिएकीले ‘भागीरथी गङ्गा’ नाम रह्यो । गङ्गाको एक नाम ‘त्रिपथगा’ पनि हो । पुराण अनुसार स्वर्ग, पृथ्वी र पातालमा बग्ने नदी भएकीले ‘त्रिपथगा’ भनिएको हो । यस आधारमा स्वर्गकी गङ्गालाई मन्दाकिनी, पृथ्वीकी गङ्गालाई भागीरथी र पातालकी गङ्गालाई भोगवती भनिएको छ । गङ्गाको अर्को नाम ‘जान्ह्वी’ हो । यसका पछाडि पनि एक प्रसङ्ग रहेको छ । अघिअघि रथमा भगीरथ र पछिपछि गङ्गाको प्रवाह चल्दा जन्हु ऋषिको यज्ञस्थल डुब्न पुग्यो । रिसाएका ऋषिले गङ्गालाई स्वात्तै पिइदिए । राजा भगीरथको बिन्तीभाउपछि उनले गङ्गालाई निकास दिएका हुन् । यस अर्थमा गङ्गा जन्हुकी पुत्री हुन पुगिन् र नाम जुर्न पुग्यो– जान्ह्वी ।

गङ्गा अवतरण गराउन राजा भगीरथले सर्वप्रथम ब्रह्मालाई प्रसन्न तुल्याएका थिए । गङ्गाको स्वीकृति पनि थियो तर पृथ्वीले भार वहन गर्न नसक्ने भएकाले भगवान् शङ्करको आराधना गर्नुपर्ने भयो । यसबीच गङ्गालाई पनि अभिमान चढेछ, आफ्नो भार थाम्न नसकी शङ्कर पनि पृथ्वीसँगै धसिन पुग्ने हँस्सीमा उनी थिइन् । भगवान् शङ्करले उनको अभिमान भङ्ग गर्न उम्कनै नसक्ने गरी आफ्नो जटामा बेरिदिए । भगीरथबाट प्रसन्न भएपछि गङ्गाको एउटा सानो धार मात्र प्रवाहित गरियो ।

शङ्कर र शान्तनु

भगवान् विष्णुका पाउबाट ब्रह्माको कमण्डलुमा पुगी प्रकट भएकी तेजस्वी गङ्गाको महादेवका जटामा पुगेसम्मका रोचक कथा पुराणादिमा रहेका छन् । विष्णुको पाउबाट निस्किएकीले गङ्गालाई ‘विष्णुपदी’ पनि भनिएको छ । भगवान् शङ्करकी पत्नी अर्थमा पनि गङ्गालाई लिइएको छ । एक पौराणिक आख्यान अनुसार भगवान् शङ्कर र पार्वतीको गर्भ उनले धारण गरेकी हुन्, जसबाट कात्तिकेयको जन्म भएको थियो ।

महाभारत अनुसार हिमालयकी जेठी छोरी गङ्गाका पति हस्तिनापुरका चन्द्रवंशी राजा शान्तनु र छोरा देवव्रत हुन् । यसपूर्व शान्तनुबाट गङ्गाका सात पुत्र जन्मिएका थिए तर सबैलाई एक, एक गर्दै उनले बगाइदिएकी थिइन् । प्रणयसूत्रमा बाँधिनुअघि वाचाबन्धनमा परेका कारण सोध्ने आँट राजा शान्तनुमा थिएन । जे जसो गरे पनि प्रश्न गर्न नपाइने वाचामा फसेका शान्तनुको जसै धैर्य टुट्यो, गङ्गासितको सम्बन्धमा पनि विराम लाग्न पुग्यो । धन्न देवव्रत नहुर्कियुञ्जेल उनले आफूसितै राखिन् । यिनै देवव्रत आफ्नो भीष्म प्रतिज्ञाका कारण ‘भीष्म पितामह’ कहलाएका हुन् ।


गङ्गे च यमुने चैव...

गङ्गा उत्रिएको ठाउँ भएकाले ‘गङ्गोत्री’ नाम पर्न गयो । हिमनदबाट निःसृत गङ्गाको उद्गम स्थल ‘गोमुख’ त्यहाँबाट नौ किलोमिटर पर छ । गाईको मुख जस्तो मुहान भएकाले ‘गोमुख’ वा ‘गौमुख’ भनिएको हो । यस स्थानको महìव परापूर्वकालदेखि रहँदै आएको छ । स्वर्गको बाटोमा लाग्दा पञ्चपाण्डवले यहाँ शिवको आराधना गरेको भनाइसमेत छ ।

गङ्गाजललाई अत्यन्त पावन मानिन्छ । वैज्ञानिक परीक्षणबाट पनि यसको जल सुस्वास्थ्यकर प्रमाणित भएको छ । पृथ्वीका उल्लेख्य सात पवित्र नदीमध्ये सर्वप्रथम उच्चारण गरिने नाम पनि गङ्गा हो । स्नान गर्दा धेरैले ‘गङ्गे च यमुने चैव गोदावरि सरस्वति । नर्मदे सिन्धु कावेरि जलेऽस्मिन् सन्निधिं कुरु ।।’ स्मरण गर्ने चलन छँदैछ । थोरै गङ्गाजल मिसाएर सारा पुण्य कार्य सम्पन्न गर्ने परम्परा नौलो कुरो होइन ।

स्तुत्य योगदान

हामी नेपालीका लागि गङ्गोत्रीको थप गौरवशाली पक्ष पनि छ । हाल उत्तरकाशी जिल्लामा रहेको गङ्गोत्रीको प्राचीन मन्दिर नेपालीद्वारा निर्मित हुनु हामी सबैका लागि अत्यन्त सुखद पक्ष हो । बडाकाजी अमरसिंह थापाले सन् १८०५ मा त्यहाँ गङ्गोत्री मन्दिर निर्माण गराएका हुन् । त्यहाँ ‘गोरखा कमान्डर अमरसिंह थापाद्वारा मन्दिर निर्माण गराइएको’ ऐतिहासिक उल्लेख गरिएको छ ।

मन्दिर निर्माणको साल भने कसैले सन् १८०५ भनेका छन् त कसैले सन् १८०७ लेखेका छन् । उनले बनाएको मन्दिरको जीर्णाेद्धारको काम चाहिँ जयपुरका राजा माधो सिंहबाट भएको हो । जीर्णोद्धारको सालमा पनि एकरूपता छैन । कतै सन् १९२१ भनिएको छ त कतै सन् १९३५ । जेहोस् गङ्गोत्रीमा सर्वप्रथम मन्दिर बनाउने श्रेय गोरखा कमान्डर अमरसिंह थापालाई प्राप्त छ ।

अमरसिंह थापा नाम अनुरूप आफ्नो कीर्तिमा अमर बनेका छन् । वीर, पराक्रमी, निर्भीक योद्धा अमरसिंह थापा हाम्रा राष्ट्रिय विभूति हुन् । नेपाल तथा अङ्गे्रजबीच युद्ध हुँदा उनी नेपालको पश्चिम किल्लाका सर्वोच्च कमान्डर थिए । नेपाल एकीकरणका क्रममा उनले पु¥याएको योगदान अविस्मरणीय मात्र होइन, स्तुत्य पनि छ ।

बाघको बच्चा

“म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर होइन” भन्दै शत्रुलाई हुँकार्ने ‘बडाकाजी’ अमर सिंह थापा यसै ‘जिउँदो बाघ’ कहलाएका होइनन् । उनको वीरताको कदर स्वयं अङ्ग्रेजले समेत गरेका छन् । उनकै अगुवाइमा पाल्पा, जुम्ला, डडेलधुरा, डोटी, कुमाउँ, गढवाल, देहरादुन, काँगडा आदि स्थान समेटिए । पूर्वमा टिस्टादेखि पश्चिममा सतलज पारिसम्म नेपाली सरहद हुनुमा लौहपुरुष अमरसिंहको ठूलो योगदान छ ।

विसं १८०८ साउन १२ (सन् १७५१ ताका) मा सिरानचोक, गोरखामा जन्मिएका अमरसिंह थापाको निधन चाहिँ वि.सं. १८७३ साउन ६ (सन् १८१६ ताका) मा गोसाइँकुण्डमा भएको मानिन्छ । उनको जन्मस्थल तनहुँ हुनुपर्ने फरक धारणा पनि भेटिएको छ । भीमसिंह थापा तथा उमादेवी थापाका सुपुत्र अमरसिंह थापा नेपाल एकीकरण अभियानका अथक् जुझारु हुन् । उनी नेपाल तथा अङ्ग्रेजबीच सुगौली सन्धि (सन् १८१६) हुनुपूर्वसम्म सक्रिय थिए । पछि बिरक्तिएर गोसाइँकुण्ड लागेका उनको त्यहीँ निधन हुन पुगेको इतिहास छ ।

वीर अमरसिंह थापा धर्मानुरागी थिए । यसको उदाहरण उनले ठाउँ, ठाउँमा मन्दिर स्थापना गर्नुबाट प्राप्त गर्न सकिन्छ । पाल्पामा अमरनारायण मन्दिर बनाएका उनले काँगडामा जयन्ती माताको मन्दिर निर्माण गराए । गढवाल, कुमाउँ, काँगडा आदि क्षेत्रमाथि विजय हासिल गर्न उनले डडेलधुरामा बनाएको ‘अमरगढी किल्ला’ पनि यतिखेर स्मरणीय बनेको छ ।

अनुपम उपहार

राजा भगीरथले तपस्या गरेको शिला नजिकै गङ्गाको मन्दिर स्थापना गराएर अमरसिंहले न केवल नेपालीका लागि अपितु भारतीयका लागि पनि, अझ भन्ने हो भने दुनियाभरिकै हिन्दु धर्मावलम्बीका लागि बिर्सन नसकिने उपहार दिएका छन् । उनले बनाएको मन्दिर दर्शन नगरी उत्तराखण्डका चार धामको यात्रा पूरा हुनै नसक्ने वस्तुस्थितिले त झन् उनको कार्य महान् बनेको छ ।

सैन्य कमान्डर अमरसिंह थापाले गङ्गोत्री मन्दिरको स्थापना मात्र गरेका होइनन्, मन्दिर सञ्चालन तथा व्यवस्थापनका निम्तिसमेत कार्य गरे । ‘मुखबा’ गाउँका सेमवाल ब्राह्मणलाई पण्डा नियुक्त गरी उनले चलाएको परम्परा अद्यापि कायम छ । उतिखेर परम्परागत नेपाली शैली (प्यागोडा) को मन्दिर निर्माण भएको भनाइ पनि छ । यसबारे वस्तुगत गहिराइमा पुगी प्राचीन महत्व झल्काउने उस्तै मन्दिर पुनस्र्थापन गर्नेतर्फ भारतीय पुरातत्व विभाग जाग्ने हो भने सुनमा सुगन्ध हुनेछ ।

जहाँ मिसिन्छन् नेपाली नदी

भागीरथी गङ्गा जस्तै अलकनन्दा नदी पनि अत्यन्त महत्वपूर्ण नदी हो । गङ्गा र अलकनन्दा मिसिई भागीरथी गङ्गाको मूल प्रवाह बनेको छ । सरस्वती नदी आफूमा समेटी बद्रीनाथ धाम नजिक हुँदै बग्ने अलकनन्दामा अनेक सहायक नदी समेटिएका छन् । अलकनन्दासित प्रवाह क्रममा धौली (विष्णुप्रयाग), नन्दाकिनी (नन्दप्रयाग), पिण्डर (कर्णप्रयाग), मन्दाकिनी (रुद्रप्रयाग) मिसिएका छन् । भागीरथी गङ्गा र अलकनन्दाको सङ्गम चाहिँ ‘देवप्रयाग’ मा भएको छ । यी पाँच प्रयाग अत्यन्त महत्वपूर्ण तीर्थ मानिन्छन् ।


नेपालबाट बगेका नदी पनि भागीरथी गङ्गामै समाहित हुन्छन् । महाकाली, कर्णाली, गण्डकी र कोशी नदी यही गङ्गामा मिसिई सागरको यात्रा तय गर्दछन् । हिमाली, पहाडी भेग छिचोली ऋषिकेश, हरिद्वार, कन्नौज, कानपुर, प्रयागराज, वाराणसी, हाजीपुर, भागलपुर भई कोलकातामा हुगली हुँदै गङ्गाको गन्तव्य सागरमा पुगी टुङ्गिन्छ । यही गङ्गासागरमा सगरका साठी हजार पुत्रले मोक्ष पाएको जनविश्वास छ । गङ्गाको अर्को धारा बङ्गलादेशमा ‘पद्मा’ कहलाई बङ्गालको खाडीमा एकाकार भएको छ ।

गौरवको विषय

भागीरथी गङ्गा र नेपाली गङ्गा (काली, कर्णाली, गण्डकी, कोशी आदि) का बीच जुगौँ अघिदेखि अविच्छिन्न सम्बन्ध रहेको छ । भौगोलिक तथा प्राकृतिक रूपमा गाँसिएको अकाट्य नैसर्गिक सुसम्बन्धको यात्रामा हाम्रा महान् अमरसिंह थापाले गङ्गाको उद्गम स्थलमै ‘गङ्गोत्री’ मन्दिर स्थापना गराएर साँँच्चै अपूर्व कार्य गरेका छन् । ‘सुगौली सन्धि’ ले हतियारद्वारा विजित सिमानालाई त छोट्याउन सक्यो तर वीर अमरसिंह थापाद्वारा गङ्गोत्रीमा जगाइएको अध्यात्म ज्योतिलाई रत्ति आँच पार्न सकेन, बरु यो ज्योति निरन्तर जगमगाइरहनु हामी सबैका लागि हर्ष एवं गौरवको विषय बनेको छ ।   

Author

निर्मलकुमार आचार्य