• १२ पुस २०८१, शुक्रबार

म भोको छु (कथा)

blog

मेरो दिमागमा एउटा योजना जन्मियो । यो उपयोगी योजना थियो । यो योजनालाई हुर्काउन मसँग पर्याप्त समय थियो । हतारिनु थिएन । पुनर्विचार गर्न सकिन्थ्यो । यो उमेरमा पनि मनमा सकारात्मक सोचको ठाउँ पाएकोमा म दङ्ग परेँ । दसैँ वर सरिरहेको थियो । म बरण्डामा बसेर घाम तापिरहेको थिएँ । श्रीमती भान्सामा थिइन् । उनी बाहिर आइन् ।

“ख्वैै घाम ?” तिनी भन्छिन् ।

“अघि थियो अहिले गयो । कौसीमा जाने ?” म भन्छु ।

“ख्वै हिजो म गएकी थिएँ । आधा घण्टाभन्दा बढी बस्नै सकिनँ ।” तिनले भनिन् ।

“यो त गजबको समय हो । न जाडो न गर्मी । केही बेर घाममा बस्यो । पोल्छ । फर्कियो ।”

“बिचको उमेर जस्तो ।”

“यस्तो समय धेरै रहँदैन ।”

“उमेर त्यो पनि युवा उमेर पनि त्यस्तै हो नि ।”

हामीहरू कौसीमा छौँ । छिमेकका कौसीहरू देखिन्छन् । कोही पनि घाम तापिरहेका थिएनन् । घाम पोल्ने थियो । जाडोको समयमा यही कौसीको घाममा घण्टौँ बिताउने गरेका छौँ । सुन्तला र बदाम खाँदै समय बिताउँछौँ । 

“यो वर्ष दाजुको हातको टीका लगाउने विचार आयो ।” मेरो दिमागमा जन्मेको विचार तिनको सामुन्नेमा राखेँ । 

“मैले त कहिल्यै पनि तपाईंको दाजुको हातको टीका थाप्न गएको थाहा पाएकी छैन ।” तिनीले भनिन् । 

“यो विचार मेरो दिमागमा आजै आयो ।” मैले भनेँ ।

“विचार भनेको पनि गजबको छ । कुनबेला कस्तो विचार दिमागमा आउँछ भन्नै सकिँदैन ।”

“कहिलेकाहीँ अकल्पनीय विचार आइदिन्छ । त्यो विचार तत्कालीन अवस्थामा ठिक देखिन्छ । दिमागले निकाल्न सकेको हुँदैन । त्यो विचारलाई कार्यान्वयन गर्दा खाल्डोमा खसिन्छ । उत्रनै धौ धौ । उफ् ! त्यो कुरा सम्झँदा पनि मेरो टाउको दुख्छ ।”

“यो विचार भनेँ तपाईको खराब होइन पछुताउनै पर्ने खालको छैन । स्मरण छ ।”

“तिमीलाई मेरो विचार मन परेको छ । खुसी लाग्यो ।”

“राम्रो कुराको जहिल्यै पनि प्रशंसा गर्नु पर्छ । कन्जुस्याइँ गर्नु हुन्न । अनम्म लाग्यो । तपाईंको दिमागमा अहिलेसम्म पनि यो विचार जन्मिएन ?”

“रहस्यको जन्म त्यसै भएको होइन ।”

“हो । ठिक भन्यौ ।”

“बाबुआमा जीवित हुँदा गाउँमा गइन्थ्यो । तिनीहरूको हातको टीका लगाइन्थ्यो । केही दिन बसिन्थ्यो । त्यसपछि दाजु आफ्नो गन्तव्यतिर लाग्थे । म पनि बाटो तताउँथेँ । तिनीहरू बितेपछि त्यो पुख्र्यौली थलोमा जान आउन नै बन्द भयो । परिवारको मिलनविन्दु त्यही घर थियो । त्यो विन्दु नै चुँढिएपछि जाने व्रmम पनि रोकियो । तार चुढिएर बत्ती नबले जस्तो ।”

“पुल नभएको सडक जस्तो ।”

घामले पौल्यो । हामी बरन्डामा आयौँ । तिनी भने भान्सामा गइन् । खाजा बनाउन लागिन् । ठिक दुई बजे हामीले खाजा खाने गरेका छौँ । तिनी घडी हेरेर काम गर्छिन् । समय सँगै चलिरहेकी छन् । न अघि, न पछि । 

“के त तिमीले मलाई साथ दिने हो ?”

“वृद्ध आमाबुबाले मलाई पर्खेर बस्छन् । तिनीहरूले दिने न्यानो वात्सल्यको जड म जोगाइराख्न चाहान्छु ।”

“मैले त तिम्रो मन राख्न भनेको । तिम्रो चित्त दुखाउने मेरो इच्छा छैन ।”

“तपाईंको भावना म बुझ्छु । जान त मलाई एक्लै मन छ ! मेरो मन राख्न जरुरी छैन ।”

“तिम्रो विशेषता नै यही हो ।”

“कहिले जाने ?”

“तिमी नै भन । कहिले जाँदा ठिक हुन्छ ।” मैले सल्लाह मागेँ ।

“हामीलाई टीका लगाइदिनुस् । तपाईं आरामसँग जानुस् । तपाईं घरमा नै कोचिएको धेरै भयो– कतै घुमघाम गर्ने मन छ भने आराम सँग घुमे हुन्छ । तपाईंलाई कुनै तनाव नै हुँदैन । पुर्सद नै फुर्सद हुन्छ । खोज खबरका लागि मबाइल छँदै छ ।” तिनको सुझाव जहिल्यै पनि मनपर्ने खालको हुन्छ भन्ने छैन । हामी बिचमा भनाभन हुने गर्छ । यो सुझाव भने खराब थिएन ।

झोलामा आवश्यक सामान राखेर निस्केको छु । मूल उद्देश्य त दाजुको आशीर्वाद लिने नै हो । यात्राले दिने ताजापनले मेरो मनमा उत्साह थपेको थियो । दाजुको मात्र कुरा थिएन, उनको परिवारसँग पनि आत्मीयता बढाउने मौका थियो । तिनीहरू कोही पनि हाम्रो घरमा एक पल्ट पनि आएका थिएनन् । तिनीहरू सबैलाई निम्तो गर्ने सोच बनाएको थिएँ । श्रीमती पनि यो मामिलामा सकारात्मक नै थिइन् आफन्तको छोरा जति फराकिलो हुन्छ, त्यति नै रमाइलो हुन्छ । यो बारेमा हामी दुवैको एउटै मत थियो । बसमा यात्रुहरू भरिभराउ थिए । हामी सरह यिनीहरू म जस्तै आशीर्वाद लिन निस्केका छन् । हुन सक्छ, तिनीहरू आशीर्वाद लिएर पर्किएका छन् । यो सडकबाट धेरै पटक यात्रा गरेको छ । पछाडिको त्यो पहरा अनि त्यो बनेको टहरा यथावत् नै देख्छु । भूकम्पको धक्काले पनि त्यो पहरालाई फुटाउन सकेको रहेनछ । पचास वर्षअघि भारी बोकेर पहाडको तल माथि गर्नेहरू थिए । गाई चराउने गोठालाहरू देखिन्थे ।  यथावत् नै छ त !

चिया खाने ठाउँ आइसकेछ । हामीहरू सामुन्नेको होटलमा जान्छौ । म पुरी तरकारी र चिया खान्छु । डाइबरले हर्न बजाइसकेपछि हामी बसमा चढ्छौँ । सबैलाई थाहा थियो, यो बस अब खाना खाने ठाउँमा राकिन्छ । छोटो समयको विश्राम पनि उपयोगी थियो ।

हामीले सोचेको मिलेन । हामी हिँडेको दुई घण्टामा नै बस रोकियो । अगाडि रातो झन्डा लिएर एउटा मान्छे उभिएको थियो । माथिबाट सुक्खा पहिरो खसिरहेको थियो । यो पहिरोले सडकमा अवरोध पु¥याएको थियो । अगाडि बढ्ने सम्भावना थिएन । फेरि भुइँचालो ? यात्रुहरू त्रसित थिए ।

“होइन, होइन । यो भुइँचालोपछिको प्रभाव ।” एउटा यात्रुले आफ्नो ज्ञान देखायो । 

“होइन, होइन । यो सुक्खा पहिरो सधैँको रोग हो ।” अर्को पनि कम थिएन । 

“होइन, होइन । यो गलत चिकित्सकले बिरामीको अनावश्यक चिरफार गरेको ।” अर्को यात्रुको ज्ञान पनि रोचक थियो । कसैको ज्ञान कसैसँग मिलेको थिएन ।

“उपचार छैन ?” प्रश्न छरिएको थियो ।

“छ नि ! उपचार नहुने के छ र ?” अर्कोले भन्यो ।

“अहिले सास्ती चाहिँ हामीले भोग्नुपर्ने ?” यो यात्रु भने आव्रmोशित थियो ।

“भोग्न मन छैन भने सडकबाट यात्रा नगर्ने ।” अर्को यात्रुले समाधान निकाल्यो ।

“यात्रा नै गर्न नमिल्ने भए सडक किन बनाएको ?” प्रश्न त ठिक ठाक नै थियो ।

“प्रदर्शनीका लागि बनाएको ।” यो भने रमाइलो जवाफ थियो ।

“प्रदर्शनीका लागि बनाएको सडकमा यातायातको साधन किन चलाएको त ?” यो प्रश्नलाई इन्कार गर्ने ठाउँ थिएन ।

“यो त हामीलाई थाहा हुने कुरो भएन । इजाजत दिनेलाई नै थाहा हुन्छ ।”

यो बढो नरम उत्तर थियो । वास्तवमा प्रश्नहरू काल्पनिक थिएनन्, जवाफ पनि काल्पनिक थिएनन् । इजाजत दिने को हो, त्योबारेमा छलफल गर्न आवश्यक थिएन ।

केही यात्रुहरू अघि बढे । म पनि तिनीहरूको पछि लागेँ । नदीको सामुन्नेमा केही मान्छे बसिरहेका थिए । तिनीहरू नदीमा हेरिरहेका थिए ।

“के हेर्नुभएको ?” मैले सोधेँ । 

“उहाँको बाबालाई हेरेको ।” एउटाले भन्यो ।

“बाबा कहाँ हुनुहुन्छ त ?” मेरो प्रश्न सकिएको थिएन ।

“त्यही खसेको बसमा हुनुहुन्थ्यो ।” त्यसले जवाफ दियो ।

“दुर्घटना पर्नेहरूलाई अस्पताल पु¥याइएको छ, तपाईंका बाबा त्यहीँ हुनुहोला नि ।” मैले भने ।

“सबै अस्पताल चाहा¥यौँ । भेट्नुभएन ।” उनको अनुहार मलिनु थियो ।

“अनि यहाँ लास पनि झिकिसकिएको छ ?”

“लास त आफन्तले बुझेर लगिसकेका छन् ।”

“गोताखोरहरू फर्केका छैनन् ?”

“तिनीहहरू खोजिरहेका होलान् । यो नदीसँग अरू सहायक नदीहरू मिसिन्छन् । नदी फैलिँदै गएको छ । नदी गहिरिँदै गएको छ । गोताखोरहरूलाई पनि गाह्रो छ ।”

“विदेशी गोताखोरहरू हुन् ?” मेरो प्रश्न थियो ।

“होइन । होइन । यिनीहरू स्थानीय गोताखोरहरू हुन् ।”

“हुन त हो । हरेक दिन दुर्घटना हुन्छ । विदेशी गोताखोरहरू बोलाएर साध्य नै छैन ।”

“विदेशी बोलाउँदा डलरमा भुक्तान गर्न पर्ने हुन्छ । त्यति सजिलो छैन ।”

“त्यो खसेको बस पनि मतिकै रहेछ ।”

“विधिविधानपछि मात्र झिक्ने हो ।”

“मान्छेको मासिक गरे जस्तै हो यो ।”

“कहिलेकाहीँ त अचम्म नै हुन्छ । ढुङ्गाको अक्करमा जिउँदै मान्छे भेटिन्छन् । जिउँदै उद्धार गरेका प्रमाणहरू छन् । त्यो पन पाँचौँ दिनपछि । आशा मारेर छोराछोरी किरिया बसेको ठाउँमा बाबु नै पुगेका छन् । आफ्नो किरिया आफैँले देखेका छन् ।”

“उहाँको पिताजी पनि यस्तै अक्करमा भेटिनुभयो भने कति मजा हुन्थ्यो ।”

“यस्तै होस् । हाम्रो कामना छ ।”

“यो नदीले पनि खुब भोग माग्छ, के हो के ।”

“नदी भोको छ ।”

“नदीको कुरा सडकले बुझेको छ । मागेजति दिन्छ ।”

“यो नदी कुनै बेला निलो बग्थ्यो । अहिले रक्ताम्मे छ ।”

यात्रुहरू दसैँ मान्न घर जाँदै थिए होलान् । यात्रुहरू दसैँ मानेर काममा फर्केका थिए होलान् । युवाहरू यात्राका लागि निस्केका थिए होलान् । तिनीहरूको मनमा सुन्दर भविष्यले नृत्य गरिरहेको थियो होला । सबैको भविष्य यही खोलामा सीमित छ ।

हामीहरू एउटा छाप्रोमा पसेका छौँ । चिया खान्छौँ ।

“हजुरहरू खाना खाने भए हामी बनाउँछौँ । ताजा, सफा, मिठो खाना ।” छाप्रोको मालिक भन्छ ।

“खाना तयार छैन ?” यात्रुको प्रश्न छ ।

“अडर दिएपछि मात्र हामी बनाउँछौँ ।” उनी भन्छन् ।

“यो त राम्रो चलन हो । कहाँबाट सिक्नुभयो ?” म भन्छु ।

“बासी खुवाएर नरक जानु छैन ।” उनी भन्छन् ।

“खान त हुन्थ्यो । हामीलाई कुनै आपत्ति छैन । ड्राइभरले बोलायो भने तत्काल जानु पर्ने हुन्छ ।” म भन्छु ।

“ड्राइभरलाई सूचना दिएर आउनुहोस् ।”

“त्यो त ठिक हो । तपाईं त यहीँ बस्ने मान्छे । तपाईंलाई थाहा होला, पहिरो कुन बेला रोकिएला ?”

“यो त कसैले पनि भन्न सक्तैन । अहिले तत्काल रोकिन्छ । कहिले लगातार आइरहन्छ ।” उनी जानकारी दिन्छन् ।

बसबाट ओर्लिंदा ड्राइभरले भनेको थियो, पहिरो रोकिँनासाथ तत्काल हिँड्ने । घरि घरि यही कुरा ड्राइभरलाई सोध्न आवश्यक छैन भन्ने कुरामा हामी निश्चित थियौँ । आवश्यक पनि थिएन । हामी कसैले पनि खाना खाने विचार गरेनौँ । उनले तयार गरेका परिकारमा नै रमायौँ ।

पहिरो रोकियो । बसको केटाले ग्राहकलाई बोलाइरहेको थियो । यो मौकाको उपयोग गर्न ड्राइभर पोख्त थियो । हामी बसमा चढ्यौँ । तीन घण्टा यतिकै बितेछ । यहाँबाट मुक्ति मिलेकोमा यात्रु खुसी थिए । यो खुसीले चिन्ता पनि तानेर ल्यायो । समयमा गन्तव्य पुग्न नसकिने निश्चित थियो । हाम्रो चिन्ता प्रमाणित भयो । गन्तव्यभन्दा निकै वर ड्राइभरले घोषणा ग¥यो, त्यहीँ नै बस रोक्ने उसले निर्णय गरिसकेको थियो ।

“ड्राइभर साहेब । अबेर नै भए पनि पु¥याइदिनोस् । मैले त आइपुग्छु भनेर वाचा गरेको छु ।” एउटा यात्रुले अनुनय ग¥यो ।

“सम्भव भए त तपाईंहरूले भन्नै पर्दैन । गन्तव्यमा पु¥याउनु मेरो कर्तव्य हो । बाटो बहुत खराब छ । अँध्यारो छ । सडकमा बत्ती छैन । केही भयो भने हामी त्यो अघिकै खोलामा खसेको बसको अवस्थामा पुग्छौँ । खतरा किन लिने ? ढुक्कसँग जाने ।” ड्राइभरले भन्यो ।

ड्राइभरलाई जोड गर्न उचित थिएन । सबैलाई आफ्नो जीवन प्यारो थियो ।

“यो ठाउँ बस्नका लागि उपयुक्त छ । सुविधाजनक होटेल छन् । छानी छानी बस्न पाइन्छ । बिचमा अन्त रोकिनुप¥यो भने विजोक हुन्छ । न सुत्न पाउनु न खान पाउनु । बसको बास । त्यस्तो कष्ट जानी जानी किन भोग्ने ?” ड्राइभर भनिरहेको थियो ।

“कुन होटलमा बस्ता राम्रो हुन्छ ड्राइभर साहेब ?” एउटा यात्रु सुझाव मागिरहेको थियो ।

“तपाइँ आफै छान्नोस । मैले सिफारिस गर्न आवश्यक छैन ।” ड्राइभर यात्रुको हितैषी बनेको थियो ।

रातको दस बजिसकेको थियो । सामुन्नेको होटेलमा जान्छु । मलाई टाढा जान मन लागेन । हतार हतार खाना खाएँ । कोठामा आएँ । कपडा खोलेँ र ओच्छ्यानमा पल्टेँ । ढोका ढक ढक गरेको आवाजले उठेँ ।

“के हो ?” ढोका खोलेँ ।”

एउटा केटा ढोकाको सामुन्नेमा उभिएको थियो ।

“चाहिन्छ सर ?” केटाको प्रश्न थियो । मैले बुझिनँ ।

“भर्खरकी । स्कुल पढ्ने ।” केटाले भन्यो ।

“यो होटेलमा त्यसको पनि व्यवस्था छ ?” मैले प्रश्न गरेँ ।

“छ सर ।” केटाले भन्यो ।

“यहाँ त राम्रै व्यवस्था रहेछ । कहिलेदेखि यो सहुलियत दिन थालेको ?”

“सर ! चाहिन्छ कि चाहिँदैन ?” केटाले मेरो प्रश्नको उत्तर दिन चाहेन । आफ्नो पुरानै रटान थियो ।

“माल तयार छ । तल छ । पर्खेको ।” केटा भन्छ ।

“के छ दर भाउ ?” मैले सोधेँ ।

“अरू सहरको भन्दा यहाँ महँगो छ । यहाँ ताजा माल हुन्छ ।” केटा भन्छ ।

“सबलाई यही कुरा भनेर मूर्ख बनाउने गरिएको छ कि क्या हो ?” मैले सोधेँ ।

“यहाँ सब ढाँट्छन् । साँचो कुरा कोही बोल्दैनन् । यहाँ त सब आफ्नो नाम, काम, ठाम सब ढाट्छन् ।” केटो भन्छ ।

“सबका सब ढँटुवा हुन् भन्ने कसरी थाहा पायौ ?” मेरो प्रश्न छ ।

“आज आफूलाई जग्गा दलाल भनेर मोजमस्ती गरेर जाने मान्छे भोली टेलिभिजनमा नेता बनेर झुल्किन्छ र सदाचारको उपदेश दिन्छ ।” केटा भन्छ ।

“तिमी त धेरै ज्ञानी भइसकेका रहेछौ । आज मलाई थकाइ लागेको छ । यो ठाउँमा यही कामका लागि अर्को पटक आउँला र मोज गरौला । तिमीलाई दलाली भाग छुट्टै दिउँला । तिमीले अहिले भाउ भन्यौ भने त्यही किसिमले बन्दोबस्त गरेर आउन सकिन्छ ।” मैले भनेँ ।

“नचाहिने मान्छेलाई भाउ भन्नुको अर्थ नै छैन । आजको भाउ भोलि नहुन सक्छ । आजको यो होटल भोलि नरहन सक्छ । आजको यो सहर भोलि ध्वस्त हुन सक्छ । उजाड उजाड हुन सक्छ ।” केटा भन्छ ।

“यो व्यवसायमा लागेर तिमी त धेरै ठुला ठुला कुरा गर्ने भएछौ । कति पढेका छौ ।” मैले सोधेँ ।

“स्नातक गरेको छु ।” केटा भन्छ ।

म दाजुको घरमा छु । बैठक कोठामा छु । मेरो सामुन्नेमा भाउजू बसेकी छिन् । मलाई उनले चिया ल्याइदिएकी छिन् ।

“यो वर्ष मलाई तपाईंहरूको आशीर्वाद लिन मन लाग्यो ।” मैले भनेँ ।

“राम्रो गर्नुभयो । म माइत गइनँ । बाबुलाई भेट्न जु¥यो ।” भाउजू भन्छिन् ।

“बाबुआमाको आशीर्वाद लिन हामी दाजुभाइ नै गाउँमा पुग्थ्यौ । उहाँहरू बितेपछि त्यो बाटो नै बन्द भयो ।”

“तपाईंहरू दुवैले त्यो पितृथलोलाई नमस्कार गर्नुभयो ?”

“हाम्रा अरू आफन्तले देशलाई नै नमस्कार गरिसकेका छन् ।”

“ती भाग्यमानीसँग हामी दाँजिने कुरै भएन ।”

“अहिलेसम्म हातमुख जोर्न जेनतेन सकिएको छ । अनि सत्तामा बस्नेलाई पनि रैती त चाहियो नि ।”

“उहाँहरूलाई रैतीको आवश्यकता छैन । बरु बाकसबाट आउन्, यहाँ नबसुन् भन्ने छ । रैती त आयात गर्न सकिन्छ के ठुलो कुरा भयो र ?”

“तपाईंहरू पनि म कहाँ आउनुहोस् न । कहिल्यै आउनुभएको छैन ।” मैले प्रसङ्ग बदलेँ ।

“अब आउनु पर्ला । बाटो बल्ल त खुल्यो ।”

“त्यति सारो नभन्नुहोस् न । बाटो कहिले बन्द थियो र ?”

“केही नभए पनि छेकबार त थियो नि बाबु ।”

“त्यो नै छेकबार हो भनेँ अहिले मैले भत्काएँ होइन ?”

“हो, हो । बाबुले भत्काउनुभयो ।”

भान्साबाट स्वादिलो बास्ना आइरहेको थियो । भान्साबाट रेडियो बजेको आवाज आइरहेको थियो । भाउजूलाई हर चिजको सौख रहेछ ।

“मिठो मिठो खानेकुरा पकाउनु भयो कि क्या हो ?” म भन्छु ।

“दसैँ हो । विशेष परिकार त बनाउनै प¥यो ।” भाउजू भन्छिन् ।

“रिन गरेर किनेको चाहिँ नभन्नोस् । स्वाद नै जान्छ ।”

“बल्ल बल्ल बाबु आउनुभएको छ । जीवन भनेको सयपत्री फूल हो । म त्यो फूलको पत्र खोल्न चाहान्नँ ।” भाउजू भन्छिन् ।

“आमाले यसै गरी परिकारहरू बनाउनु हुन्थ्यो । त्यसको बास्ना यसै गरी नै हरर आउँथ्यो ।”

“बिहान बेलुका नै ? के के हो त्यस्तो खानेकुरा ?” भाउजू भन्छिन् ।

“बिहान मासुभात खाइन्थ्यो । दिउँसो दहीचिउरा अनि पाकेको काँव्रmाको अचार ।”

“यी परिकार पछि खान पाउनुभएको छैन र ?”

“छ । ती परिकारमा भने आमाको माया मिसिएको थियो नि भाउजू ।”

“आज अब मैले बनाएको परिकारको अनुभव गर्नुहुन्छ । पक्कु पनि छ । दही चिउरा र काँव्रmोको अचार चाहिँ दिउँसो खानुहोला ।” भाउजू भन्छिन् ।

“भाउजूका यी कुराले मेरो मुख नै रसायो । मलाई त हतार भयो । दाजुको हातको टीका लगाएर मात्र खाने होइन त भाउजू ?” म भन्छु 

“हो नि बाबु । यही टीकाका लागि त्यति टाढादेखि सारा काम छोडेर आउनुभएको छ ।”

“ख्वै त दाजु ?”

“माथि कोठामा ।”

“कोठामा एक्लै बस्न सक्नुहुँदोरहेछ । कि टेलिभिजनको लत लाग्यो ।”

“अर्कै लत हो बाबु प्राचीन लत । त्यसको सामुन्नेमा टेलिभिजनको लत केही पनि हैन । त्यो लतले तपाईंको दाजुलाई कहाँ पु¥याउने हो थाहा छैन ।”

“बोलाउन पठाउने हो कि ?” म भन्छु ।

“तपाईं नै जानोस् न । माथि कोठामा जाने त्यही भ¥याङ हो ।”

“सङ्कोच लाग्छ ।”

“त्यति बढी औपचारिक हुनुपर्दैन । जानोस् ।” भाउजूको आग्रह छ । आफू नगए । भाउजू मलाई घँचेटिरहेकी छन् । भाउजूको आदेश पालना गरेँ । माथि कोठामा छ जना थिए । घेरा लाएर बसेका । तिनीहरू तास खेल्न व्यस्त थिए । 

म त त्यहाँ तास खेल्न आएको थिइनँ । भाउजूले मलाई पनि दाजु जस्तै ठान्छिन् कि के हो ?” दाजुबाहेक म अरू कसैलाई पनि चिन्दैनथेँ ।

दाजु । म दाजुलाई बोलाउँछु । दाजुको नजिक जान्छु । दाजुको सामुन्नेमा शिर झुकाउँछु । दाजुले मेरो टाउकोमा हात राख्न भ्याए ।

“दाजु ! मलाई टीका लगाइदिनोस् ।” उनी मेरो अनुहार हैन, तासको अनुहार हेरिरहेका छन् । उनी मसँग होइन ताससँग संवाद गरिरहेका छन् ।”

“भाउजूसँग लगा न ।” दाजु भन्छन् । मलाई भाउन्न भएन । म लाउँदिनँ । म सवाल जवाफमा अल्झिन । म फरक्क  फर्कें । तल ओर्लें । 

तल बैठक कोठामा केही थिएन । मेरो झोला मात्र थियो । म झोला बोक्छु । बाहिर निस्कन्छु । बस बिसौनी पुग्छु । बस लागिरहेको थियो । 

टिकट काट्छु । सिटमा बस्छु । म त भोको छु । बिहानदेखि केही खाएको छैन त । चियाबाहेक । यो साधारण भोक थिएन । 

नयाँ बानेश्वर, काठमाडौँ