पीडितलाई चाँडो न्याय दिउँ : कानूनमन्त्री शर्मा
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले द्वन्द्वको पीडालाई नलम्ब्याइ पीडितलाई समयमा न्याय दिनुपर्ने बताउनुभएको छ । जनकपुरधाममा बुधबार आयोजित ‘संक्रमणकालीन न्याय सम्बन्धी कानून तथा संरचनागत सुधार सम्बन्धी परामर्श’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । द्वन्द्वका पीडितले समयमा न्याय नपाउँदा पीडितलाई झन् पीडा भइरहेको उहाँको भनाई छ ।
कृषकलाई सहुलियत दरमा उन्नत जातको धानको बिउँ वितरण
धनुषाको मिथिला नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई सहुलियत दरमा उन्नत जातको धानको बिउँ वितरण शुरु गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउँ वितरण शुरु गरेको हो ।
सरकारी अस्पतालमा अनुगमन
रौतहटको चन्द्रपुर नगरपालिका–५ मा रहेको सरकारी अस्पतालमा छजना स्वास्थ्यकर्मी बिना सूचना अनुपस्थित रहेको पाइएको छ ।
विद्यालय समयमा पनि कवाडी सामान टिप्दै बालबालिका
जीबछ यादव लहान, जेठ १७ गते । लहानको मुख्य चोकमा विद्यालय समयमा मुसहर समुदायका बालबालिका होटल नजिकमा यत्रतत्र फालेका कवाडीका सामानहरु टिपिरहेका हुन्छन् । पानीको खुला बोटल, रेडबुलको खाली डिबा, फलामका टुक्राहरु बोरामा सङ्कलन गरेर नजिकै रहेको विभिन्न कवाडी केन्द्रहरुमा बेच्न पुग्छन् । दिनको तीन सय रुपियाँसम्म कमाउन सकिने कुरा लहान–१ का जयकुमार सदाय, चन्चा सदाय र लिरवा सदायले बताएका छन् । विद्यालयमा एक महिनामा दुई चार दिन मात्र विद्यालय जाने र अरु दिन काम गर्ने गरिएको उनीहरुले बताएका छन् । करिब १२ वर्षका मुसहर समुदायको बालबालिकाहरु विद्यालय छाडेर कवाडी संकलन गरिरहँदा पनि बालश्रम रोक्न र बालअधिकार सुरक्षित गर्न कसैको नजर नपर्नु विडम्बनापूर्ण रहेको महिला अधिकारकर्मी रेणु कर्णले प्रतिक्रिया दिनुभयो । मुसहर समुदायको बालबालिकाहरुलाई खाना पोशाकसहितको व्यवस्थापन गरेर पढाईप्रति आकर्षण जगाउनुपर्ने धारणा लहान–२ का सुकदेव सदायको रहेको छ । विद्यालयमा नियमित आउन घरघरमा गएर अभिभावकलाई पटक पटक अभिमुखीकरण गरे पनि विद्यालयमा आउन बेवास्ता गरिएको लहान–१ स्थित श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीनारायण चौधरीले बताउनुभयो । मुसहर समुदायको बालबालिकाले गरिरहेका बालश्रममुक्त गराउन शिक्षा चेतनाको कार्यक्रम गर्न स्थानीय निकायको ध्यान आकर्षण गराउने लहान–२१ का वडाध्यक्ष राज कुमार यादवले बताउनुभयो ।
अव्यवस्थित पार्किङले सास्ती
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा व्यवस्थित पार्किङ छैन । व्यवस्थित पार्किङ नहुँदा आधा सडक ढाक्ने गरी मूल सडकमै जथाभावी सवारी साधन पार्किङ हुँदा सर्वसाधारणलाई समस्या पर्ने गरेको छ । यस विषयमा सरोकारवाला निकाय मौन छन् । सर्वसाधारणको बढी आवागमन हुने र जलेश्वरको मुख्य बजार क्षेत्रमै सडक नै ढाक्ने गरी वर्षौंदेखि पार्किङ हुँदै आए पनि सरोकारवाला निकायले समस्या समाधानको अग्रसरता नदेखाएको स्थानीयको गुनासो छ ।
नगरवासीलाई तीस युनिट विद्युत् छुट
प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा नवनिर्वाचित राजेशमान सिंहले ३० युनिटसम्म विद्युत् छुट दिने निर्णय गर्नुभएको छ । प्रमुख सिंहले वीरगञ्जको घण्टाघर क्षेत्रको जीर्ण सडक मर्मत कार्यलाई पहिलो प्राथमिकतामा राख्नेसमेत बताउनुभएको छ ।
सर्लाहीको बलरामा थप चारमा मलेरिया पुष्टि
सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ ।
विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु, लोटा गाउँ शोकमग्न
विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । सो घटनाले धनुषाको लोटागाउँ शोकमग्न बनेको छ । आइतबार जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको थियो ।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने अभियान
स्थानीय चुनावको कारण पछिपरेको विद्यालय भर्ना अभियानलाई सामुदायिक विद्यालयहरुले प्राथकितामा राखेर ‘सबै बालबालिकालाई विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरौं’ मूल नाराकासाथ विधार्थीलाई भर्ना गराउने अभियानलाई तीब्रता दिएका छन् ।