• १५ असार २०८१, शनिबार

नेपाल र चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न

blog

बैठकमा सहभागी नेपाल र चीनका प्रतिनिधिहरु ।

काठमाडौँ, असार ११ गते । नेपाल र चीनका परराष्ट्र मन्त्रालयबिचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौँमा सम्पन्न भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गर्नुभएको थियो ।

बैठकमा नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति तथा विगतमा भएका निर्णयहरुको मूल्याङ्कन गरिएको थियो । उहाँहरुले आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसर सिर्जना गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका मन्त्रालयले जनाएको छ ।

दुवै तर्फबाट नेतृत्व गर्नुभएका प्रमुखले शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त, पञ्चशील, आपसी विश्वास, सद्भाव र समझदारी नेपाल–चीन द्विपक्षीय सम्बन्धका प्रमुख विशेषता रहेको बताउनुभएको थियो । 

परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपाल कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि धन्यवाद दिनुभएको थियो । उपविदेशमन्त्री वेइतोङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गर्नुभएको थियो । 

दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई कायम राख्ने विषयमा समेत छलफल गर्नुभएको थियो । सन् २०२५ लाई नेपाल र चीन भ्रमण वर्ष मनाउने सन्दर्भमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन, व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवलाई विशेष कार्यक्रम र गतिविधिका साथ मनाउने निर्णय गरेका छन् । यस्तै, बैठकले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ ।

उपविदेशमन्त्री वेइतोङले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नुभएको थियोे । उहाँले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । उपविदेशमन्त्री वेइतोङ र उहाँको प्रतिनिधिमण्डल सोमबार काठमाडौँ आइपुगेको छ । उहाँहरु बुधबार बेइजिङ प्रस्थान गर्नुहुने बताइएको छ । रासस