• १३ असोज २०८१, आइतबार

बाजुराको नुन कैलाली र कञ्चनपुरमा

blog

बाजुरामा अनुदानको नुन बिक्री डिपोमा नुन किन्नेको भिड । तस्बिर : रामबहादुर विक

प्रकाशविक्रम शाह/रामबहादुर विक

धनगढी, असार १२ गते । सरकारले बाजुरा जिल्लावासीका लागि अनुदानमा उपलब्ध गराउने आयोडिनयुक्त नुन कैलाली र कञ्चनपुरमा तस्करी हुने गरेको छ । बाजुरावासीका लागि छुट्याइएको कोटाको १० प्रतिशत नुन तस्करी हुने गरेको बताइन्छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराका प्रमुख टेकबहादुर बोहराले नुन तस्करी हुने कुरा घुमाउरो तरिकाले स्वीकार गर्नुभयो । “विगतमा तराईका जिल्लामा बाजुराको नुन जाने गरेको साँचो हो तर अहिले जिल्लाबाहिर नदिनका लागि अनुगमन गर्ने गरेका छौँ,” उहाँले भन्नुभयो । 

साल्ट ट्रेडिङको बिक्री केन्द्रबाट घरका लागि भनेर लाने, त्यसपछि तराईका जिल्लामा पठाउने गरेको थाहा पाएपछि अहिले कडाइ गरेको जानकारी पनि उहाँले दिनुभयो । साल्ट ट्रेडिङका प्रदेश कार्यालय, धनगढीका सहायक प्रबन्धक तेजबहादुर कुँवरले भने नुन तस्करीको कुरा आफूले नसुनेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाजुराबाट धनगढी फर्किंदा कुनै सर्वसाधारण वा कर्मचारीले त्यसरी नुन ल्याएको हुन सक्छ तर तस्करी नै हुन्छ भन्ने कुरा होइन । नेपाल–भारत सरकारको सहयोगमा साल्ट ट्रेडिङमार्फत ढुवानी अनुदानमा बाजुरामा आयोडिनयुक्त भानु नुन प्रतिकिलो नौ रुपियाँमा बिक्री हुने गरेको छ ।

कैलाली र कञ्चनपुरमा सोही गुणस्तरको आयो नुन २० रुपियाँ पर्ने भएकाले भानु नुन तराईका जिल्लामा ल्याउने गरेको बताइन्छ । दोहोरो बसाइ भएकाले बाजुराबाट तराईका कैलाली, कञ्चनपुर जिल्लामा भानु नुन लैजाने गरिएको जिल्लावासी बताउँछन् । 

बाजुरामा अहिले आयोडिनयुक्त भानु नुनको चरम अभाव देखिन थालेको छ । डिपोबाट नुन किनेर पसलबाट बिक्री वितरण गर्ने गरेको पाइएको छ । नुनको अभाव भएपछि अहिले साताको एक पटक मात्रै नुन बिक्री वितरण गर्ने गरिएको छ । एक जनालाई पाँच केजीका दरले साताको एक पटक बिक्री गर्ने गरेको हुँदा नुन किन्नेको भिड लाग्ने गरेको नुन डिपो कार्यालयले जनाएको छ । प्रहरीको सुरक्षासहित नुन बिक्री वितरण गर्ने गरेको साल्ट ट्रेडिङका जिल्ला प्रमुख बोहराले बताउनुभयो । 

उहाँका अनुसार चार वटा नुनको डिपो र चार वटा बिक्री केन्द्र छन् । अहिले चार वटै केन्द्रमा थोरै मात्रामा नुन छ । मौज्दात रहेको नुनलाई बिक्री वितरण गर्न समस्या परेको उहाँले बताउनुभयो । “मार्तडी, कोल्टी, मौरे र कवाडी डिपोमा आवश्यकताभन्दा कम नुन रहेको प्रमुख बोहराले बताउनुभयो । मार्तडी डिपो कार्यालयमा २०८ क्विन्टल नुन मौज्दात रहेकाले सोही नुन बिक्री वितरण गर्दै आएका छौँ,” उहाँले भन्नुभयो । 

आयोडिनयुक्त नुन पशु चौपायालाई समेत खुवाउने गरेकाले पनि नुनको अभाव हुने गरेको हो । “पशु चौपायालाई ढिके नुन खुवाउनुपर्ने हो त्यो भानु नुनभन्दा सस्तो पनि पर्छ,” प्रदेश कार्यालयका सहायक प्रबन्धक कुँवरले बताउनुभयो । 

यस्तै डिपोबाट मात्र बिक्री हुनुपर्ने भानु नुन बाजुरा बजारमा भने खुला बिक्री हुने गरेको छ । भानु नुन व्यापारी वा कोही कसैले पनि बिक्री गर्न नमिल्ने भए पनि यसरी खुला रूपमा बिक्री हुँदा नुनमा कालोबजारी भएको आरोप लाग्दै आएको हो ।  नुनमा कालोबजारी गर्नेलाई कालोबजारी ऐन अनुसार पाँच वर्ष कैद र नगद जरिबाना हुने व्यवस्था रहेको छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले प्रमाणको अभावमा व्यापारीलाई मुद्दा चलाउन समस्या भएको बताउनुभयो । 

पसल पसलमा भानु नुन बिक्री हुने गरेको विषय बजार अनुगमन टोलीले सप्रमाण फेला पारे पनि कानुनी कारबाही गर्न भने जिम्मेवार निकाय मौन देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा बाजुरामा १६ हजार ८५२ क्विन्टल नुनको कोटा रहेको छ । 

यो कोटा बाजुराका लागि पर्याप्त होइन । बाजुरामा नुन अभाव भएकाले थप कोटा मागका लागि आपूर्ति मन्त्रालयमा निर्णय गरेर पठाएको कार्यालय प्रमुख बोहराले बताउनुभयो । उहाँले बर्सातको समयमा सडक अवरुद्ध हुने भएकाले नुन ढुवानी गर्न कठिनाइ हुने भएकाले तत्कालै नुनको थप कोटा पठाउन माग गरिएको स्पष्ट पार्नुभयो । नुनको अभाव आपूर्ति गर्न थप कोटाका लागि केन्द्रमा समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । स्थानीय डिपोमा प्रतिकिलो नौ रुपियाँमा पाइने नुन बजारमा प्रतिकेजी २५ देखि ५० रुपियाँसम्म बिक्री हुने गरेको स्थानीयले बताएका छन् । नुनमा कालोबजारी भएसँगै डिपोमा नुनको अभाव देखिएको छ भने पसल पसलमा चर्को मूल्यमा नुन बिक्री वितरण भइरहेको छ ।