ठगी आरोपमा वडा अध्यक्ष पक्राउ
कैलाली प्रहरीले ठगीको आरोपमा दार्चुलाको नौगाड गाउँपालिका –४ का वडा अध्यक्ष कृष्णसिंह धामीलाई पक्राउ गरेको छ । कैलालीका टेक कुँवरको उजुरीको आधारमा प्रहरीले गोदावरी नगरपालिकाको अत्तरियाबाट धामीलाई पक्राउ गरेको हो ।
वडास्तर योजना छनोट प्रक्रिया ‘कर्मकाण्डी’
नयाँ आर्थिक वर्षका लागि वडा तथा बस्ती स्तरबाट योजना छनोट प्रक्रियालाई स्थानीयवासीले कर्मकाण्डी मात्र भएको आरोप लगाएका छन्। स्थानीय तहले नयाँ आर्थिक वर्षका लागि बस्ती, वडा हुँदै नगर स्तरबाट सुझाव सङ्कलन गरेको थियो। तर कतिपय पालिकाले बस्ती स्तरबाट आएका योजनाभन्दा जनप्रतिनिधि र राजनीतिक दलको पहुँचका आधारमा योजना हाल्ने गरेको स्थानीयको आरोप छ। गौरीगङ्गा नगरपालिका–९ का हरिप्रसाद तिवारीले जनताले योजना छनोटमा चासो दिन छाडेको बताउनुभयो। जनप्रतिनिधिले योजना छनोटको प्रक्रियालाई कर्मकाण्डी बनाएपछि यस्तो समस्या देखिएको भनाइ उहाँको छ।
बजेटको तयारीमा प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा जुटेको छ। असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेको हो। सङ्घबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, प्रदेशमा उठ्ने राजस्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार तय गर्ने छ। आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले दिने अनुदान कटौती गरेको र राजस्वका कारण बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा घट्ने देखिएको छ।
गर्मीले दैनिक जनजीवन कष्टकर
कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।
औषधि पसल सञ्चालन गर्ने नौ भारतीय पक्राउ
कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।
बन्द प्रसूति सेवा खुलाउन पहल
स्वास्थ्य चौकीलाई पानी नदिँदा बन्द प्रसूति सेवा सुचारु गर्न पञ्चेश्वर गाउँपालिकाले पानीका ट्याङ्कर बोलाएको छ । पञ्चेश्वर गाउँपालिका–१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीको प्राङ्गण भएर सल्ला बस्ती र धामकुडी मन्दिरमा जाने पाइपबाट स्वास्थ्य चौकीलाई धारा दिन सम्भाव्यता अध्ययनसमेत हुने भएको छ ।
चट्याङ लागेर एकको ज्यान गयो
गएराति बाजुरामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मङ्गलबार साँझ परेको अविरल वर्षासँगै चट्याङ पर्दा जगन्नाथ गाउँपालिका –१ डाँडाबाडाका ३१ वर्षीया युवक यमराज विष्टको ज्यान गएको हो ।
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी
जिल्लाको पूर्वी क्षेत्रमा रहेको एक वडा कार्यालयमा गएराति आगजनी भएको छ । हिमाली गाउँपालिकाको वडा –५ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेका हुन् ।
तटबन्ध निर्माणले बाँझो जमिन हराभरा
पुनर्वास नगरपालिका –९ सीताबस्ती आसपास दोदा नदीमा पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि यहाँका बाँझो देखिने जमिन हराभरा देखिन थालेका छन् ।